प्रधानमन्त्री र गृहमन्त्रीले चाहे १ घण्टाभित्र खोला अतिक्रमणको समस्या समाधान हुन्छ : बालेन शाह

प्रधानमन्त्री र गृहमन्त्रीले चाहे १ घण्टाभित्र खोला अतिक्रमणको समस्या समाधान हुन्छ : बालेन शाह

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले खोला अतिक्रमण हटाउन संघीय सरकारसँग सहयोग मागेका छन्।

ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको कार्यक्रममा बोल्दै प्रमुख शाहले खोला अतिक्रमण हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सहयोगका लागि आग्रह गरेका हुन्।

प्रमुख शाहले प्रधानमन्त्री र गृहमन्त्रीले चाहेलमा १ घण्टाभित्र खोला अतिक्रमणको समस्या समाधान हुने दाबी गरे।

‘कुनै–कुनै अतिक्रमण स्थानीत तह आफैँले रोक्न सक्छौँ तर खोला अतिक्रमण चाहिँ सम्माननीयज्यू(प्रधानमन्त्री)ले चाहनुभयो भने अहिले यहाँदेखि अर्को कार्यक्रममा जान लाग्ने समयमा समाधान हुने विषय हो,’ उनले भने, ‘प्रधानमन्त्री र गृह मन्त्रीले चाहेको खण्डमा खोला अतिक्रमणको समस्या ५ मिनेटदेखि १ घण्टाभित्र समाधान हुन्छ।’

प्रमुख शाहले सम्पूर्ण उपत्यकाको विकास एकैपटक हुनुपर्नेमा जोड दिँदै त्यसको लागि संघ सरकार र स्थानीय सरकारबीच बाझिका कानुन सल्ट्याउनुपर्ने बताए। फोहोर व्यवस्थापन स्थानीय सरकार आफैँले गर्नका लागि कानुनी बाधा अड्चन भएकाले फुकाइदिन समेत उनले प्रधानमन्त्रीलाई आग्रह गरे।

प्रमुख शाहले एक दिन काठमाडौंबाट खोल अतिक्रमण र ललितपुरबाट फुटपाथ अतिक्रमण दुवै हट्ने विश्वाससमेत व्यक्त गरे।

उनले थपे, ‘केही विषयमा काठमाडौं र ललितपुर फरक देखिन्छन्, काठमाडौंमा खोला अतिक्रमण छ, ललितपुरमा छैन। काठमाडौंमा फुटपाथ अतिक्रमण छैन, ललितपुरमा फुटपाथ अतिक्रमण छ। एक दिन चाहिँ दुईटै अतिक्रमण हट्छ भन्ने आशा गर्छौँ।’

साथै उनले प्रदेश सरकारले स्थानीय सरकारले गरिरहेको काममा मुद्दा हालेको भन्दै त्यसो नगर्नसमेत आग्रह गरे। संघ र प्रदेश सरकारले गर्ने काम स्थानीय सरकारले गर्दा संघ र प्रदेश सरकार खुसी हुनुपर्ने उनले बताए।

‘उपत्यका यातायात प्राधिकरणमा उपत्यकाका सम्पूर्ण मेयरहरु त्यसमा सदस्य छौँ, त्यसले आगामी दिनहरुमा हाम्रो ट्रान्सपोर्टेसन सिस्टमलाई वैज्ञानिक बनाउन सकिन्छ, त्यसको लागि केही बाधाअड्चन छन्,’ उनले थपे, ‘प्रदेश सरकारबाट हामीलाई मुद्दा लागिराछ, प्रदेशको माननीयज्यूहरु यहाँ हुनुहुन्छ, स्थानीय सरकारले गरिरहेको काममा प्रदेशले त्यसरी मुद्दा हालिदिन भएन।’

२ पुस, २०८०, १३:३८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।