सेटिङको खुलासापछि स्वास्थ्य सेवा विभागले १६ करोडमा किन्न लागेको मेमोग्राफीको टेन्डर रद्द

सेटिङको खुलासापछि स्वास्थ्य सेवा विभागले १६ करोडमा किन्न लागेको मेमोग्राफीको टेन्डर रद्द

काठमाडौँ : स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले २०८० कात्तिक दुई गते (१९ अक्टोबर, २०२३) मा आठ वटा मेमोग्राफी मेसिन १६ करोडमा किन्न निकालेको टेन्डर रद्द भएको छ।

विभागको महाशाखाले शुक्रवार (१५ डिसेम्बर, २०२३) मा मेमोग्राफी मेसिन किन्न गरेको टेन्डर रद्द गरेको हो। रद्द गरेको सूचनामा विभागको २८ गते बिहीबार (१४ डिसेम्बर) को निर्णय अनुसार मेमोग्राफीको टेन्डर रद्द गरिएको उल्लेख छ।

१६ करोडमा मेमोग्राफी मेसिन किन्न टेन्डर आव्हान भए पनि कुन स्तरको मेसिन किन्ने हो तय भएको थिएन। मिलेमतोमा निश्चित कम्पनीलाई टेन्डर दिनैपर्ने प्रेसरमा टेन्डर निकालेकोबारे उकेराले समाचार प्रकाशित गरेको थियो।

महाशाखाले मेमोग्राफी मेसिनको टेण्डर रद्ध भएकोबारे निकालेको सूचनामा ‘रिफेरिङ टु दी रिक्वेष्ट फर इलेक्ट्रोनिक बिड गुण्डस् पब्लिष्ट अन गोरखापत्र डेली डेटेड १९ अक्टोबर २०२३ फर दी प्रोक्रुमेन्ट अफ मेमोग्राफी मेसिन (आरएफबी रिफ्रेन्स नं. डिओएचएस-जीएनसीबी–१८-आइडिए-२०८०–८१), दी प्रक्रुमेन्ट प्रोसेसेस् ह्याजबिन क्यान्सिल्ड एज पर दी डिसिजन अफ डिओएचएस डेटेड १४ डिसेम्बर २०२३’ लेखिएको छ।

मेमोग्राफी मेसिन किन्नका लागि कात्तिक २२ गतेलाई प्रिबिड बैठक तोकिएको थियो। त्यसैगरी मंसिर सात गतेसम्ममा मेसिन खरिदका लागि टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको थियो भने टेन्डर खुल्ने समय समेत सोही दिनलाई तोकिएको थियो।

प्रिबिड बैठकमा प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर एउटा निश्चित कम्पनीलाई मात्रै टेन्डर पारिदिने रणनीति भएको भन्दै केही सप्लायर्सहरूले स्पेशिफिकेशन संशोधनको माग गरेका थिए। स्पेशिफिकेशन संशोधन गरेर मंसिर ६ गते संशोधित टेन्डर कागजात सार्वजनिक समेत भयो।

विभागको महाशाखाले टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति कात्तिक ६ गते (२३ अक्टोबर)बाट बढाएर मंसिर १७ गते (३ डिसेम्बर) लाई तोकेको थियो। सोही दिनलाई टेन्डर खुल्ने मिति तोक्यो। उसले मेसिन खरिदका लागि बनेको प्राविधिक स्पेशिफिकेशनमा लक्ड गरिएको मुख्य बुँदा संशोधन गरेको थिएन।

त्यसपछि फेरि महाशाखाले मेमोग्राफी मेसिनको स्पेशिफिकेशन दोस्रो पटक संशोधन गर्दै मंसिर १५ गते संशोधित बोलपत्रको कागजात प्रकाशित गरेको थियो।

संशोधित बोलपत्र कागजातमा बोलपत्र प्रस्ताव गर्ने अन्तिम मिति मंसिर १७ गते (३ डिसेम्बर)बाट लम्ब्याएर पुस दुई गते (१८ डिसेम्बर २०२३) सम्ममा मेमोग्राफी खरिदका लागि बोलपत्र पेस गर्न पाइने मिति तोकियो।

मिलेमतो सार्वजनिक भएपछि बोलपत्र प्रस्ताव गर्ने अन्तिम मिति भन्दा अगाडी नै महाशाखाले मेमोग्राफीको टेन्डर रद्द गरेको हो।

खरिदका लागि टेन्डर गर्ने मिति लम्ब्याउनुको कारण भने निकै अनौठो थियो। कारण थियो, टेन्डर आह्वान भइसकेपछि समेत कस्तो किसिमको मेमोग्राफी मेसिन खरिद गर्ने भन्ने विषयको विवाद।

टेन्डर प्रस्ताव गर्ने मिति संशोधन गरेर सारिए पनि मेसिन खरिदका लागि बुँदाहरू संशोधन भएकै थिएनन्। खरिद प्रक्रिया अगाडि बढिसकेको अवस्थामा समेत कस्तो किसिमको मेमोग्राफी मेसिन किन्ने भन्ने प्राविधिक लगायतको विषयमा प्रस्ट नहुँदा खरिद प्रक्रिया नै रोकिएको विभाग स्रोतले उकेरासँग पुष्टि गरेको थियो।

टु डी टेक्नोलोजीको मेमोग्राफी किन्ने कि थ्री डी किन्ने भन्नेमा कुरा अड्किएको थियो। टु डी क्यान्सिल गरेर थ्री डिमा जान सक्ने सम्भावना बलियो थियो।

यो मेमोग्राफी मेसिन खरिदमा यज्ञ भण्डारी सक्रिय थिए। उनले सुन्दर भुसालको कम्पनीलाई टेन्डर पार्न सहजीकरण गरिरहेका थिए। यो मेसिन विश्व बैँकको आर्थिक ऋण सहयोगमा किन्न लागिएको थियो।

मेसिन खरिदका लागि टेन्डर भएर खरिद प्रक्रियामा गइसकेपछि समेत कस्तो मेसिन खरिद गर्ने भन्ने विषय एकिन नहुनुले नै मेसिन, औजार तथा उपकरण र स्वास्थ्य सामग्री लगायतको खरिदमा कमिसनको जालो कसरी जेलिएको छ भन्ने प्रस्ट हुन्छ।

यसबाट नै सके निश्चित कम्पनीको मेसिन, औजार तथा उपकरण लगायत स्वास्थ्य सामग्रीसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएर चाहेकै कम्पनीलाई मात्रै टेन्डर पर्ने गरी टेन्डर आह्वान गर्ने देखिएको छ। तर, चाहेकै कम्पनीको उत्पादनसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर टेन्डर आह्वान गरेको अवस्थामा समेत कमिसन लगायतका विषयमा कुरा नमिलेपछि टेन्डर रद्द गरेको देखिन्छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले २०८० साउन यता करिब दुई अर्ब ५० करोड  ६६ लाखको  मेसिन, उपकरण तथा औजार र स्वास्थ्य सामग्री लगायतको खरिदका लागि टेन्डर आव्हान गरिसकेको छ।

नयाँ आर्थिक वर्ष २०८०-०८१ सुरु भएपछि २०८० साउन एक गते (जुलाई १७, २०२३) बाट स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाले गरेको अधिकांश ठुला टेन्डर शङ्कास्पद देखिएका छन्।

मोहनबहादुर बस्नेत गत वैशाख २० गते स्वास्थ्य मन्त्रीमा नियुक्त भएपछि दुई महिना ११ दिनलाई छोडेर हेर्ने हो भने साउन एक गतेबाट मन्त्रालय अन्तर्गतको निकायले निकालेको टेन्डरबारे उकेराले अध्ययन गर्दा अधिकांश ठुला टेन्डर शंकास्पद देखिएका थिए।

आर्थिक वर्ष २०८०-०८१ सुरु भएदेखि साउनयताको चार महिनामा करिब दुई अर्ब ५० करोड ६६ लाख रकम बराबरको मेसिन, उपकरण, औजार तथा स्वास्थ्य सामग्री लगायत खरिदका लागि टेन्डर भइसकेका छन्।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको खरिद प्रक्रियामा स्वास्थ्यमन्त्री बस्नेतदेखि, स्वास्थ्य सचिव डा. रोशन पोख्रेल, विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्रा, व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्मा प्रमुख निर्णायक हुन्।

अहिले मन्त्रालयको ठुला खरिदमा यज्ञ भण्डारी, अक्कलबहादुर भण्डारी र आरएस भण्डारी हाबी देखिएका छन्। उनीहरू मन्त्री बस्नेतकै जिल्ला सिन्धुपाल्चोकका हुन्। यी सबैको सम्बन्ध बागमती प्रदेशकी बनमन्त्री मसिना खड्कासँग समेत जोडिन्छ।

विभिन्न स्वास्थ्य उपकरणका नेपाली एजेन्ट विशाल पण्डित, पोस्टराज ज्ञवाली, सुन्दर भुसाल, मुकुन्द गौतम, विमल उप्रेती लगायतका आपूर्तिकर्ताहरू मिलेमतोमा हुने खरिदमा प्रभावशाली देखिन्छन्। 

२९ मंसिर, २०८०, १९:५६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।