विवाहपञ्चमी सुरू भएसँगै जानकी मन्दिर झकिझकाउ

विवाहपञ्चमी सुरू भएसँगै जानकी मन्दिर झकिझकाउ

काठमाडौं : जनकपुरधाममा मंगलबारबाट विवाहपञ्चमी महोत्सव सुरू भएको छ।

त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाइन्छ। विवाहपञ्चमी भव्य बनाउन जानकी मन्दिर झकिझकाउ बनाइँदैछ भने रंगभूमी मैदान वरिपरि सरसफाइ गरिँदैछ।

गिनिज बुकमा रेकर्ड दर्ज गराउन रंगभूमी मैदानमा ११ हजार फिटको अन्नबाट रामसीताको मूर्ति निर्माण गरिँदैछ।

महोत्सवको आज पहिलो दिन नगर दर्शन कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए। उनका अनुसार आज अपरान्ह ४ बजे जानकी मन्दिर प्रांगणमा एकजना बालकलाई राम र बालिकालाई सीताको स्वरूप बनाइ नगरदर्शन गराइनेछ।

दोस्रो दिन, बुधबार फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाहोत्सव कार्यक्रम हुनेछ।

महोत्सवको अन्तिम दिन पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तलाई बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ।

विवाहपञ्चमी महोत्सवको अवसरमा जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाममा मंसिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म ‘मदिरा बिक्री वितरण तथा पशुपंक्षी काट्न, माछा, मासु बिक्री वितरण गर्न निषेध गरिएको छ।

२६ मंसिर, २०८०, १४:१२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।