वीर अस्पतालमा हप्तामा दुई पटक ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सुरु, जनशक्तिको अभावले भएको सेवा भने घट्दै

वीर अस्पतालमा हप्तामा दुई पटक ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सुरु, जनशक्तिको अभावले भएको सेवा भने घट्दै

काठमाडौँ : वीर अस्पतालको न्युरो सर्जरी विभाग अन्तर्गत स्थापना भएको ‘राष्ट्रिय ब्रेन ट्युमर केन्द्र’मा ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सुरु भएको छ।  तर, वीर अस्पताल नेतृत्वको प्रशासनको व्यवस्थापकीय कमजोरीका कारण जनशक्ति लगायतको अभाव भएकाले भएको सेवा भने कटौती भएको छ।

सो विशेषज्ञ क्लिनिकमा हप्ताको दुई दिन आइतबार र बुधबार बिहान दश बजेदेखि दिउँसो एक बजेसम्म न्युरो सर्जरी बहिरङ्ग विभागको काठा नं. ‘४३१’ मा सञ्चालन हुने वीर अस्पतालले जनाएको छ।

त्यसैगरी अस्पतालमा रहेको ‘राष्ट्रिय न्युरो स्पाइन केन्द्र’बाट दिइने विशेष न्युरो स्पाइन (मेरुदण्ड) क्लिनिक सेवा पनि हप्ताको दुई दिन आइतबार र बुधवार बिहान सोही समयमा कोठा नं. ‘२४८’ मा सञ्चालन हुने अस्पतालले जनाएको छ।

यी दुई केन्द्रमार्फत दिइने विशेष सेवाले टाउकोको ट्युमर र मेरुदण्डको दुखाई लगायतका रोगबाट पीडित बिरामलाई राहत मिल्ने अपेक्षा रहेको अस्पतालका निर्देशक डा. श्रवण कुमार थापाले जनाएका छन्।

यो क्लिनिकले अस्पतालले दिने सेवाको अतिरिक्त बिरामीलाई लाभ मिल्ने न्युरो सर्जरी विभागले जानकारी दिएको छ।

डा. उपेन्द्र देवकोटाले सुरु गरेको अस्पतालको न्युरो सर्जरी विभागमा हाल पाँच जना विशेषज्ञ न्युरो सर्जन चिकित्सक सहितको टिमले दैनिक दुई देखि पाँच वटा न्युरो सम्बन्धी शल्यक्रिया गरिरहेको विभागले जनाएको छ।

अस्पतालमा यो विभागको आफ्नै ६ बेड न्युरो आइसियु  छन्। त्यसैगरी नयाँ सर्जिकल भवनमा थप  २० बेड  सहित जम्मा ८० बेडको न्युरो वार्ड सञ्चालनमा थियो।

तर, केही महिना यता जनशक्तिलगायतको समस्याका कारण ८० मध्ये करिब ६० बेड वार्ड मात्रै सञ्चालनमा रहेको अस्पताल स्रोतले जनाएको छ।  त्यसैगरी दश बेड न्युरो आइसियु रहेकोमा हाल घटेर ६ बेड मात्रै सञ्चालनमा रहेको अस्पतालले स्रोतले जनाएको छ।

न्युरो सर्जरीका दुई वटा शल्यक्रिया कक्षमध्ये जनशक्तिको अभावको कारण एउटा शल्यक्रिया कक्ष नियमित सञ्चालन हुन समेत नसकेको अस्पताल प्रशासनले जनाएको छ।

२४ मंसिर, २०८०, १९:४२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।