उद्यमी शोभाको प्रसव पीडा र खुसी: नर्सले साढे तीन किलोको बच्चा छातीमा राखिदिएपछि म त दङ्ग परेँ
लगभग दुई दशकतिर नेपाली कार्पेटले युरोपको बजारमा एकक्षत्र राज गरिरहेको थियो। त्यत्तिकैमा कारखामा हुने गरेको बालश्रम शोषणको कुरा बाहिरियो। युरोपका मुलुकहरुले कार्पेटमा नै प्रतिबन्ध लगाए। त्यसपछि नेपाल र युरोपका सरकारहरुले सहमति गरेर बालश्रम नगराउने 'लेबल' नै लगाए। अनि मात्र बल्ल यो विषय साम्य हुँदै गयो।
त्यसबेला उद्योगी शोभा गुरुङ औद्योगिक क्षेत्रमा भर्खर उदाउँदै थिइन्। आफ्नो पारिवारिक कार्पेट उद्योगमा अब 'आफ्नै' केही गर्ने भनेर उनले कलिलै उमेरमा उद्योग स्थापना गरिसकेकी थिइन्। बालश्रमको कुरा आएपछिको घाटा उनले नमज्जासँग ब्यहोरिन् । तर, यसबाट टाढा भने गइनन्। बिस्तारै फेरि नेपाली कार्पेटले बजार लिन थालेपछि उनले पछाडि फर्केर हेर्न परेन।
करिब दुई सय जना कामदारहरू रहेको उनको फ्याक्ट्रीले अहिले ९० प्रतिशत भन्दा बढी नेपाली कार्पेट अन्तराष्ट्रिय बजारमा पठाउने गर्छ।
शोभा नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय उपाध्यक्ष समेत हुन्। सरकारी र निजीस्तरको उद्योग सम्बन्धी कार्यक्रम र सेमिनारमा पनि उनी निकै सक्रिय हुन्छिन्। उनै शोभा एक सन्तानकी आमा समेत हुन्। उनले सानै उमेरमा आमा बन्दाको अनुभव उकेराको नियमित स्तम्भ 'प्रसव पीडा र खुसी' मा यसरी साटिन् ।
०००
मेरो जन्म तनहुँ जिल्लामा भए पनि बाबा प्रहरी संगठनमा हुनु भएकाले मेरो बाल्यकाल विभिन्न ठाउँमा बित्यो। एसलएसली दिने बेलामा म काठमाडौँमा थिएँ। यतैबाट एसएलसीको परीक्षा दिएँ। मलाई अझै पढ्न मन थियो । तर, एसएलसीपछि बिहेको कुरा आयो। आइकम पढ्दै गर्दा त मेरो बिहे नै गरिदिनुभयो, पढाउने शर्तमा। पहिला विवाह गर्न मन लागेको थिएन। तर पछि मैले पनि मानेँ।
त्यो बेलामा जम्मा १७ वर्षकी थिएँ। गलैँचाको काम चैं एसएलसीपछि नै सुरु गरिसकेकी थिएँ। तर, बिहेपछि बच्चा पनि भइहाल्यो। बच्चा भएपछि पढ्ने वातावरण भएन। मैले पनि अब बच्चा हुर्केपछि नै पढ्छु भन्ने सोचेँ। अनि बच्चा चार वर्षको भएपछि स्नातक तहमा पढ्न थालेँ।
बिहे लगत्तै बच्चा हुन लागेको सोच्दा त धेरै नै छिटो भयो भन्ने पनि नलागेको होइन। अलि ढिला पाउन पाए हुन्थ्यो जस्तो लगिरह्यो। अहिले पनि बेला-बेला त्यो सोच आइ नै रहन्छ। तर, अब बच्चा पेटभित्र छ भनेपछि अर्कै अनुभूति हुन थाल्यो। गर्भवतीको समयमा त म एकदम अल्छी पो भएँ। सुरुवातको करिब दुई हप्ता त म बिरामी भएर अस्पताल भर्ना नै हुनुपर्यो। धेरै सानो उमेर भएकाले त्यस्तो कमजोरी भएको हो कि जस्तो लाग्छ!
पछि त दुई/तीन महिनासम्म पनि केही खान रुचेन। न केही खान्थेँ, न केही काम गर्थेँ। बेस्कन रिस पो उठ्थ्यो, इरिटेड महसुस गर्थेँ। केही फुर्ती नै हुँदैनथ्यो। त्यही पनि जसोतसो घरायसी काम चैं गरेँ। पछि एकदम मिठाइ खान मन लाग्यो। खूब खाएँ पनि। अनि बच्चा जन्माउने महिना पुगेपछि हल्का पेट दुखेको जस्तो भयो। पानी पनि फुट्यो। त्यसपछि अस्पताल गएँ।
मलाई हेरिरहनु भएको डाक्टर अन्तै विरामी हेर्न जानु भएको रहेछ, यता बच्चा जन्माउन नसकेर मलाई धेरै गाह्रो भइरहेको थियो। पछि त्यही डाक्टरलाई बोलाइयो। २४ घण्टा त मलाई सहि नसक्नु व्यथा लाग्यो नि!
त्यो बेला कोही साथमा होस् भन्ने लागिरह्यो। त्यहाँको कर्मचारीहरूको व्यवहारले मलाई झन् नरमाइलो महसुस गरायो। धेरै समय हुँदा पनि बच्चा नभएपछि अप्रेशन गर्ने भनेर तयारी गरेका थिए। तर, पुरानै डाक्टर आएर केही बेर पर्खिँदा नर्मल रुपमै छोरा पाएँ।
अगाडि नै नर्सहरूबाट राम्रो स्याहार पाएको भए त्यति ढिला हुँदैनथ्यो कि भन्ने लाग्छ। बच्चा जन्माएपछि त एकदम हल्का महसुस गरेँ। नर्सले साढे तीन किलोको बच्चा छातीमा राखिदिनु भयो। म त दङ्ग परेँ। अर्कै अनुभूति महसुस गरेँ।
त्यो बेलामा कार्पेटको माग निकै भइरहेको थियो। म सुत्केरी भएपछि श्रीमानले सबै हेर्नुपर्यो। त्यसबेला मैले त श्रीमानलाई पनि खूब मिस गरेँ। घरमा जेठाजुको एकजना मात्र छोरा थ्यो। अनि मेरो पनि छोरा भयो। सबैले एकदम राम्रो ख्याल गर्नु भएको थियो। अस्पतालबाट घर फर्किने बित्तिकै बाबुलाई जन्डिस देखियो। पछि अर्को हस्पिटलमा दौडादौड गर्नुपर्यो।
स्तनपान गराउन हस्पिटलमै सिकाउने रहेछ। घरमा पनि आमा र सासुले सिकाउनु भएकै हो। तर, एकदम गाह्रो भयो। त्यसबेला अर्कै खालको दुखाइ अनुभव गरेँ। तीन/चार महिना त मज्जाले उसलाई आफ्नै दूध खुवाएँ। त्यसपछि चैं कामले गर्दा बिहान र बेलुका मात्र खुवाउन पाउँथे। सधैं मेरो लागि काम पहिलो स्थानमा रहिरह्यो। त्यही भएर बीचमा पढाइमा ब्रेक लागे पनि काम चैं चलि नै रह्यो।
सुत्केरी स्याहार एकदम राम्रो भयो। घिउ-भात, कुखुराको मासु, झोल मज्जाले खान पाएँ। बिहे हुँदा ४८ किलोको मान्छे म त ७२ केजी पो भएकी थिएँ। बच्चालाई दूध पुग्दैन भनेर खाको-खाकै गरेको, त्यति धेरै खान पर्ने होइन रहेछ।
म नभएको बेला घरमा सासु र नन्दले पनि बाबुलाई स्याहार्नुहुन्थ्यो। तर, त्यसबेला आफू भएको जस्तो नहुने हो कि भन्ने मनमा लाग्यो। आमा भएपछि आफ्नो सन्तानप्रति एक हिसाबको रक्षात्मक पनि भएछु भन्ने लाग्छ।
बाबु चार वर्ष भएपछि त आमा छोरा सँगै बसेर पनि पढ्थ्यौँ। उसलाई राम्रो समय दिन पनि सकिँन। म कलेज जाँदा उ सुतिरहेको हुन्थ्यो, कामपछि बेलुका घर पुग्दा त फेरि उ सुतिसकेको हुन्थ्यो।
त्यस्तो बेला त बच्चाले मलाई नचिन्ला भन्नेसम्म लाग्थ्यो। आफ्नो सन्तानप्रतिको अलग्गै पीर पनि महसुस गरेँ। उसको धेरै स्वभावहरुको प्रत्यक्षदर्शीको हुन पाएँ। पहिला धेरै ज्ञानी थियो। पछि चकचके हुन थाल्यो। अहिले फेरि शान्त स्वभावको छ, ऊ। पढाइ, काम, घर गरेर होला अर्को सन्तानको बारेमा सोच्न पनि भ्याइँन। आफैले सोच्न नचाहेको पनि हो।
त्यो २४ घण्टाको व्यथा सम्झ्यो भने अहिले त कस्तो सिरिङ्ग हुन्छु। अब फेरि अर्को त्यसरी नै जन्माएर, त्यति नै समय दिन काँ सक्नु! घरमा पनि फेरि हाम्रो भाउजूहरू सबैको एउटा मात्र छोरा। उहाँहरूको पनि त्यत्तिकै गाह्रो अनुभव। अनि अर्को कसरी सोच्न सक्थे र! बरु अहिले होइन, दुइटा सन्तान त चाहिने रहेछ जस्तो लाग्छ। अर्को एउटा छोरी भएको भए त गज्जबै हुन्थ्यो नि! तर त्यो बेला डर लागिहाल्यो।
बाबु पनि हुर्किँदै गयो। काम पनि झन् फराकिलो हुँदै गयो। झन् बढी व्यस्त। अहिले त छोरासँगै बिजनेसले पनि राम्रो रुप लिइसक्यो। श्रीमान सँगै छोराले पनि मलाई यसमा सहयोग गर्छ। म बाहिर हुँदा सबै काम सम्हाल्न सक्ने भइसक्यो। पढाइ सकेपछि विदेश जाला कि भन्ने डर थियो। तर, उसले इच्छा देखाएन। हामी त झन् खुसी भयौँ।
म वास्तवमा घरमै बसेको भए पनि हुन्थ्यो। तर, उद्यमशीलताको क्षेत्रमा केही न केही गर्नु पर्छ भन्ने लाग्यो। अहिले धेरै खुसी छु। तर, पनि छिटो बिहे नभएको भए चैं हुन्थ्यो भन्ने लाग्छ। त्यो बेला कलेज गएर हाँस्ने, रमाइलो गर्ने, घुम्ने भन्ने नै अनुभव गर्न पाइँन के! समय भन्दा अगाडि नै परिपक्व हुनुपर्यो। अहिले अब घुम्न पाए पनि खेल्न त सक्दिनँ नि! त्यो चैं सधैं मनमा रहिरहने रहेछ।
त्यै भएर अब आमा बन्न लाग्नु भएकाहरूलाई पहिला आफ्नो बाल्यकाल मज्जाले रमाएपछि मात्र आमा बन्ने बारेमा सोच्नु भन्न चाहन्छु। पढाई पनि बिहे अगाडि नै गर्नु उत्तम रहेछ। छोरी भएर जसरी पढ्न पाइन्छ, बुहारीमा त्यो गाह्रो नै हुने रहेछ।
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
मंसिर २४, २०८० आइतबार १८:४५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।