कर्णालीका कुलो द्वन्द्व : पानी अभावले कुलोमै काटिए देवबहादुर, परिवारसहित परदेशिए पुरन

कर्णालीका कुलो द्वन्द्व : पानी अभावले कुलोमै काटिए देवबहादुर, परिवारसहित परदेशिए पुरन
श्रीमतीसँग पुरन उखेडा र तेजबहादुर दर्लामी।

सुर्खेत : २०६२ कात्तिक १८ गते राति नौ बजे खाना खाइवरी परिवारलाई सुताएर बारी चहार्न (कुलोको पानी लगाउन) निस्किए, २० वर्षीय देवबहादुर र उनका दाइ तेजबहादुर दर्लामी।

कुलाको पानी राति १० बजे उनीहरूको संयुक्त खेतमा लगाउने पालो थियो। सबै स्थानीय आ-आफ्नो बारीमा त्यसरी नै पालोअनुसार पानी लगाइरहेका थिए।

देवबहादुर र उनका दाइले आफ्नो पालोको कुर्दै केहीबेर कुलो सफाइ गरे। रातको १० बजेपछि देवबहादुरलाई बारीमा पानी सोझ्याउन लगाएर दाइ तेजबहादुर, कान्छा काका जसबहादुर र जेठाबुवाका छोरा दानबहादुर बारीको छेउमा आगो बालेर बसे।

बारी छेउबाट बेस्सरी चिच्याएको आवाज आयो। तेजबहादुर, उनका काका र जेठाबुवाका छोरा दौडिएर त्यहाँ पुगे। देवबहादुर कुलोमा रगताम्मे भएर ढलेका थिए। उनको श्वास चल्न छाडिसकेको थियो। छिमेकी डबल बडुवाल हातमा चक्कु लिएर पानी लगाइरहेका थिए।

‘भाइलाई बारीमा पानी लगा भनेर कान्छा बा, म र भाइ तेजबहादुर बारीमा आगो बालेर हात सेकाउँदै थियौँ, एक्कासी ऐया भनेको ठूलो आवाज आएपछि हामी त्यहाँ गयौं,’ १८ वर्षअघिको घटना सम्झँदै दानबहादुरले भने, ‘हामी त्यहाँ छिमेकी डबल बडुवालले भाइको छातीमा चक्कु हानेर मारिसकेछ। किन यस्तो गरिस् भन्दा त उल्टै चक्कु देखाएर कान्छा बा र म माथि आइलाग्यो।’

देवबहादुरका दाई तेजबहादुर र उनको परिवार।

आक्रमणबाट जसबहादुरको टाउकोमा सात टाका लाग्यो भने दानबहादुरको आँखाको अश्रुनली नै काटियो। तेजबहादुर भने भागेर चोटपटक लागेन। छातीमा चक्कु प्रहार गरेर घटनास्थलमै ज्यान गुमाइसकेका देवबहादुरलाई घर ल्याइयो। घरमा उनकी दुई वर्षीय छोरी ओमकुमारी र २० वर्षीया श्रीमती मन्धरी मस्त निद्रामा थिए। खबर सुन्नेबित्तिकै मन्धरी बेहोस भइन्।

पानीकै कारण २० वर्षका लक्का जवान दर्लामीको जीवनलिला समाप्त भयो। दुई वर्षीया छोरी ओमकुमारी टुहुरी बनिन् भने श्रीमती मन्धरी विधवा।

अश्रुनली काटिएका दानबहादुरले नेपालगञ्ज र कैलाली गएर उपचार गराए पनि अझै राम्रोसँग आँखा देख्न सक्दैनन्। अहिले पनि आँखाबाछ आँसु आइरहन्छ। उनका कान्छाबाको पनि टाउको सात टाँका लाग्यो।

त्यही सालबाट पानीको झमेलाका कारण तेजबहादुरले खेती लगाउनै छाडे। बर्खाको आकाशे पानीले मकै लगाउँछन् नभए बाँझै छाडिदिन्छन्।

त्यतिबेला मुलुक माओवादी र सरकारबीचको द्वन्द्वको चपेटामा थियो। त्यस्तो अवस्थामा माओवादीले दोषीलाई केही महिना कारबाही पनि गर्यो। दर्लामीको परिवारलाई ८० हजार रुपैयाँ नगद दिएर घटना मिलाइयो।

०००

पञ्चपुरी नगरपालिका-६ का ६५ वर्षीय सेते सार्की २०३३ सालबाट कुलोको चौकीदारी गर्छन्। कच्ची कुलोदेखि चौकीदारी थालेका उनले अहिले पनि गरिरहेका छन्।

त्यसबापत खेतीको सिजनअनुसार चार मानालदेखि सिजनमा एक पाथीसम्म उनले ज्याला पाउँछन्। पाँच छोरा र तीन छोरी चौकीदारी गरेरै हुर्काएका उनले छोराछोरीलाई नौ कक्षासम्म पढाए।

कुलोको मुहानदेखि पुच्छार तथा वडा नम्बर ५ र ६ का सबै टोल-टोलका कुलोको समेत हेरविचार गर्छन् उनले। पानीको चौकीदारी गर्दाका तीता अनुभव छन् उनीसँग।

‘पानी पालोका लागि ठूला-ठूला मान्छेहरूले पनि झगडा गर्छन्। घरमा धेरै मान्छे हुनेहरू त लड्नै आउँछन्। कतिपयले त मलाई गालीगलौज गरेर कोदालो ठ्ड्याउँछन्,’ सेतेले भने, ‘पालो विपरीत पानी फर्काउने मान्छे धेरै हुन्छन्। लामो कुलो छ। मलाई तलमाथि गर्न नै दिन बित्छ। पालो मिचिए सबैले गाली गर्छन्।’

सेतेका लागि गाली र धम्की सामान्य गइसकेछ। पहिले सिजनमा ज्यालाबापत ९० मुरीसम्म धान उठाउने सेते अहिले मुस्किलले २० मुरी उठाउँछन्।

४७ वर्षदेखि कुलाको चौकीदारी गर्दै आएका सेते सार्की र कुलो।

‘पहिला-पहिला १२ जनाको परिवारलाई वर्षभरी खुवाएर पनि घरखर्च चलाउन बेच्थेँ,’ उनले भने, ‘अहिले मुस्किलले २०-२२ मुरी धान र ८-१० मुरी गहुँ उठ्छ। पानी पनि घटेको छ। पहिला त यसको तेब्बर पानी हुन्थ्यो नि!’

कसैले धान उत्पादन नभएको, कसैले पानी नै लगाएनौं त कसैले हामी दिन्नौं भनेर विगत आठ वर्षदेखि पाथीमा ठग्ने गरेको उनको गुनासो छ। विभिन्न समयमा सेतेजस्तै टोल-टोलमा पानीका चौकीदार थिए। तर, उनीजस्तै कोही टिक्न सकेनन्।

‘जेठो छोरा बाहेक चार छोराबुहारी र नाति नतिना समेत एकै ठाउँमा बस्छौँ। एक प्याक(२५ किलोको बोरा) चामल चार छाक मात्रै हुन्छ,’ उनले भने, ‘अब कसरी परिवार पाल्ने?’

०००

नौ वर्ष अघिसम्म पञ्चपुरी नगरपालिका-६ का ३७ वर्षीय पुरन उखेडा (विक) आफ्नो पाँच रोपनी जग्गामा बर्खामा धान र हिउँदमा गहुँ लगाउँथे। वर्षेनी १० मुरी धान र ६ मुरी गहुँ फलाउँथे। त्यसले उनको परिवारलाई खान पुग्थ्यो। नुनतेल, मरमसला र अन्य खर्चका लागि घर बनाउने काम गर्थे।

तर, जब प्रत्येक हिउँद र बर्खामा पानीको कुलोकै कारण गाउँमा रडाको हुन थाल्यो, २०७२ सालमा उनी भारतको हैदरावाद हानिए। घरमा रहेकी श्रीमतीले अर्मपर्म गरेर बर्खामा मकै छर्थिन्। हिउँदमा पानी पाए गहुँ र नपाए बाँझै राख्ने गथिन्।

परिवारको संख्या बढेसँगै खाने मुख र भरिने पेट पनि बढ्यो। चार छोरी र दुई छोरा अनि बुढाबुढीसहित आठ जनाको परिवार भयो। भारतको कमाइले मात्रै नधान्ने भयो अब। सोचेजस्तो कमाइ हुने काम पनि पाएनन्।

आठ हजार भारु तलब र अन्य काम गरेर महिनाको १३ हजार रुपैयाँसम्म कमाउँथे उनले। तर, घरमा सात जनाको परिवारको मासिक खाद्यान्न खर्च नै पाँच देखि छ हजार रुपैयाँ हुन्थ्यो।

जेनतेन जीविका चलाएकै थिए तर श्रीमती टाउकाको बिरामीले थलिएपछि उनको दिन बिग्रन थाल्यो। छारफुकमा मात्र १ लाख भन्दा बढी खर्च गरे तर श्रीमती ठिक भएनन्। पुरन भारत छोडेर नेपाल आए। श्रीमतीको उपचारका लागि साहुसँग ऋण लिए, त्यो पनि तीन रुपैयाँ ब्याजमा।

भारतमा रहेको पुरन उखेडा (विक)को दम्पत्ति र गाउँमा रहेको उनको जीर्ण घर।

सदरकुमार वीरेन्द्रनगरमा उपचार नहुने भएपछि काठमाडौं लैजान भनियो, फेरि ऋण काढ्न खोजे तर पत्याउने कोही भएन। केही सीप नलागेपछि काकालाई जग्गा बेचे अनि श्रीमतीको उपचार गर्न काठमाडौं गए।

उपचारमा दुई लाख खर्च भयो। पुरन घरमै बस्न थाले। सात-आठ महिनासम्म खाद्यान्न पसलमा चामल, दाल, नुन, तेल ल्याएको ७० हजार पुगिसकेको थियो अनि स्कुले छोराछोरीलाई कापी कलम र ड्रेस ल्याएको १०-१२ हजार।

सबैतिरबाट साहुले अत्याउन थालेपछि भएको साढे तीन रोपनीमध्ये तीन रोपनी जग्गा तीन लाखमा बेचेर ऋण तिरे। बचेको दुई लाखले आधा रोपनी जग्गामा काठको घर बनाए।

ऋणमुक्त भए उनी तर सम्पत्ति रहेन। अनि खर्च र छाक छार्नै मुस्किल हुन थाल्यो। त्यसपछि एक, तीन, चार र पाँचमा पढ्दै गरेका उनका छोरीहरूको पढाइ छुटाएर उनको परिवार नै भारत पस्यो।

अहिले हैदरावादको होटलमा काम गर्छन् उनी। श्रीमतीले घरमा सरसफाइको काम गर्छिन्। एक वर्ष पहिले १५ वर्षको उमेरमा उनकी जेठी छोरीको विवाह भयो। तीन छोरी र दुई छोरा पुरनसँगै छन्। गाउँमा घर जीर्ण अवस्थामा छ।

पानीको झन्झटका कारण विदेशिन बाध्य भएको उनले सुनाए।

‘गाउँमा पानीकै लफडाका कारण खेती गर्न छोडेर भारत पसेको म अहिले सुकम्बासी भएँ। खेती गरौँ, पानी छैन। अरु केही गरौं भाग्यले साथ दिएन,’ भारतमा रहेका पुरनले म्यासेन्जर कलमा उकेरासँग भने।

०००

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ५ र ६ मा पानीको कुलोकै कारण झैझगडा हुने गरेको छन्। सिंचाइका पर्याप्त पानी नभएपछि सामाजिक सद्भाव पनि बिथोलिएको छ। झैझगडाको क्रम वर्षेनी बढिरहेको छ।

२०७७ देखि २०८० भदौसम्म कुलोको पानी विवादका १९ वटा उजुरीहरू प्रहरीमा आएको इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक विनोद सुवेदीले बताए।

उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ३ उजुरी, २०७८/०७९ मा ५ उजुरी, २०७९/०८० मा ७ र २०८०/०८१ को भदौसम्म ४ वटा कुलो पानी विवाद सम्बन्धी उजुरी प्रहरी कार्यालयमा आएका छन्।

पञ्चपुरी नगरपालिकाको केन्द्रका रूपमा रहेको बाबियाचौरको वडा नम्बर ५ मा २०७८ को जनगणना अनुसार ८७५ घरधुरी छन्। त्यस्तै वडा नम्बर ६ मा ८३९ घरधुरी छन्।

वडा नम्बर ५ को ९० प्रतिशत भू-भाग र वडा नम्बर ६ को पूरै भू-भागको सिंचाइका लागि एकमात्र स्रोत गाउँको सिरानमा मुहान रहेको भ्यागुत्ते खमारीखोला कुलो हो। सिरानदेखि पुच्छारसम्म करिब पाँच किलोमिटर लामो यो कुलोको वरिपरी घुम्छ यहाँको खेतीकिसानी।

दुई दशकमा बाबियाचौरको घरधुरी संख्या तेब्बरले वृद्धि भयो। तर, पानीको स्रोत भने सुकेर अपुग भएको छ। स्याटेलाइट तस्वीर स्रोतः गुगल अर्थ प्रो (नोभेम्बर २०२२)

२०२५ सालतिर काँटफाँट गरी बसोबास गरिएको यो क्षेत्रमा पहिला पानीको अभाव नभएको स्थानीय बताउँछन्।

‘पहिला हाम्रा बुवाहरू काँटफाँड गर्न आउँदा पाखो धान घैया रोप्थ्यौं। पछि कच्ची कुलो हुँदै नहर भएपछि पानीको फालाफाल भयो,’ वडा नम्बर ६ का ६८ वर्षीय छन्चरे कामी भन्छन्, ‘पानीको बढी समस्या हुन थालेको १६-१७ वर्ष भयो।’

गाउँमा सबैतिर डोजर लगाएर सडक खनेपछि मुहानमा पानी घटेको र बचेको केही मुहान खानेपानीका लागि प्रयोग गर्दा पानी घटेको उनी बताउँछन्।

जर्मन सरकारको सहयोगमा २०४५ सालमा कुलाको स्तरोन्नति गरियो र नाम राखियो ‘विकासी कुलो’। त्यसयता सुर्खेत सिंचाइ आयोजना, प्रदेश सरकार र स्थानीय सरकारले बेलाबखत काम गरिरहेका छन्।

पञ्चपुरी नगरपालिकाका प्राविधिक सहायक मानबहादुर बुढाका अनुसार वर्षामा कुलोमा ३० सेन्टिमिटर र हिउँदमा १० सेन्टिमिटर गहिराइमा मात्रै पानी बग्ने गरेको छ। यो पानी पहिलाको भन्दा निक्कै कम हो।

‘पहिला खमारी खोलाबाट पानी आउँथ्यो। पहिरोले त्यो पनि बन्द भयो। केही मुहान खानेपानीका लागि प्रयोग गरेपछि सिंचाइ अभाव हुन्छ,’ वडा नम्बर ६ का स्थानीय समेत रहेका बुढाले भने, ‘दुई वटा वडाको सिंचाइका लागि ४० सेन्टिमिटर गहिराइको पानी आवश्यक पर्छ।’

घट्दै खाद्य उत्पादन 
सिंचाइको अभावका कारण यी दुई वडाको खाद्य उत्पादनमा समेत कमी आएको छ। पालिकाको कृषि शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार पञ्चपुरी-५ मा हरेक वर्ष धान उत्पादन घट्दै गएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा ४५० हेक्टर जमिनमा १४४० मेट्रिक टन धान उत्पादन हुँदा २०७८/०७९ मा ४३० हेक्टरमा जमिनमा १२४७ मेट्रिक टन र २०७९/८० मा ४०९ हेक्टरमा ११८६ मेट्रिक टन धान उत्पादन भएको छ।

त्यस्तै २०७७/०७८ मा सोही वडाको ७० हेक्टरमा लगाएको मकै १९६ मेट्रिक टन, २०७८/०७९ मा ९० हेक्टरमा लगाएको मकै २५२ मेट्रक टन र २०७९/८० मा १२० हेक्टर जमिनमा लगाएको मकै ३१२ मेट्रिक टन उत्पादन भएको छ।

धान उत्पादनका लागि अधिक पानीको आवश्यकता हुने भएकाले स्थानीयले पछिल्ला वर्षहरूमा धान लगाउने स्थानमा मकै लगाउन थालेका छन्।

यस्तै वडा नम्बर ५ मै आर्थिक वर्ष २०७७/०७८ मा ३५० हेक्टरमा ८४० मेट्रिक टन गहुँ उत्पादन हुँदा २०७८/०७९ मा ३४० हेक्टरमा ८१६ मेट्रिक टन र २०७९/८० मा ३०० हेक्टरमा ७१६ मेट्रिक टन गहुँ उत्पादन भएको छ।

त्यसैगरी पञ्चपुरी-६ मा आर्थिक वर्ष २०७७/०७८ मा ३७० हेक्टर जमिनमा १०७३ मेट्रिक टन धान उत्पादन भएको थियो। २०७८/०७९ मा ३५५ हेक्टरमा १०२६ र २०७९/८० मा ३२९ हेक्टर जमिनमा ९५४ मेट्रिक टन उत्पादन भएको कृषि शाखाको तथ्याङ्कले देखाउँछ।

पछिल्ला वर्षहरूमा धेरै जग्गामा मकै लगाएपछि यसको उत्पादन भने बढेको देखिन्छ। २०७७/०७८ मा ५० हेक्टरमा १३५ मेट्रिक टन, २०७८/०७९ मा ७० हेक्टरमा १७५ मेट्रिक टन र २०७९/८० मा ८५ हेक्टरमा २३० मेट्रिक टन मकै उत्पादन भएको छ।

आर्थिक वर्ष २०७७/०७८ वडा नम्बर छ मा ३२० हेक्टरमा ७७६ मेट्रिक टन गहुँ उत्पादन हुँदा २०७८/०७९ मा ३१० हेक्टरमा ७६० मेट्रिक टन फलेको थियो। यस्तै २०७९/८० मा ३०० हेक्टरमा ७८० मेट्रिक टन गहुँ उत्पादन भएको पालिकाको कृषि शाखाका कृषि नायव प्राविधिक सहायक दिपेन्द्र न्यौपानेले जानकारी दिए।

‘विगत तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा यी वडामा धान, मकै र गहुँको उत्पादन घटेको पाइन्छ। वार्षिक रूपमा धान र मकै बाली पनि परिवर्तन भएको पाइन्छ,’ न्यौपानेले भने, ‘यसको मुख्य समस्या भनेको पानी नै हो। पानी अभावले उत्पादनमा ह्रास, बाली परिवर्तन जस्ता समस्या आइरहेका छन्।’

मंसिर २२, २०८० शुक्रबार १०:५४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।