‘एनिमल’ हेर्न हल छिरेका दर्शकलाई विकास बोर्डको टोलीले टिकट फिर्ता गर्न लगायो

‘एनिमल’ हेर्न हल छिरेका दर्शकलाई विकास बोर्डको टोलीले टिकट फिर्ता गर्न लगायो

काठमाडौं : चलचित्र विकास बोर्डको टोलीले बलिउड चलचित्र ‘एनिमल’ हेर्न हल छिरेका दर्शकलाई टिकट फिर्ता गर्न लगाएको छ।

सोमबार साँझ नयाँ बानेश्वरस्थित आइप्लेक्स भवनको वान सिनेमाजमा पुगेका दर्शकलाई विकास बोर्डको टोलीले टिकट फिर्ता गर्न लगाएको हो।

तर, बोर्डको टोलीले सबै दर्शकलाई नभएर १६ वर्षमुनिका दर्शकलाई मात्र टिकट फिर्ता गर्न भनेको हो।

टिकट फिर्ता गरेपछि फिल्म हेर्न गएका दर्शकहरू अक्क न बक्क परेका थिए।

साँझ साढे ६ बजे वान सिनेमाजमा प्रदर्शन भएको हिन्दी सिनेमा ‘एनिमल’को शो अनुगमन गर्न पुगेको टोलीले बालबालिकालाई टिकट बिक्री गरेको फेला पारेको हो।

बलिउड फिल्म ‘एनिमल’ले चलचित्र विकास बोर्डको चलचित्र जाँच समिति (सेन्सर)बाट एडल्ट चलचित्रको प्रमाणपत्र पाएको थियो।

नियम अनुसार एडल्ट चलचित्र १६ वर्ष मुनिका बालबालिकाहरूले हेर्न पाइँदैन र बालबालिकाहरूकाे लागि टिकटसमेत बिक्री गर्न पाइँदैन।

विकास बोर्डले कानुन विपरीत बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री गर्ने हल सञ्चालकलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

साथै बोर्डले बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री नगर्न सम्पूर्ण हल सञ्चालकहरूलाई समेत सचेत आग्रह गरेको छ।

१९ मंसिर, २०८०, ०८:१७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।