डा. थापा वीरको निमित्त निर्देशक, आर्थिक अधिकार पाएनन्

डा. थापा वीरको निमित्त निर्देशक, आर्थिक अधिकार पाएनन्

काठमाडौँ : वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवणकुमार थापा नियुक्त भएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति (डा. भूपेन्द्र बस्नेत) स्तरीय निर्णयबाट उनलाई आइतबार निमित्त निर्देशकमा नियुक्ति गरिएको हो।

आर्थिक अधिकार नभई नियमित प्रशासनिक कामकाज गर्नेगरी आफूले निमित्त निर्देशकको जिम्मेवारी पाएको डा. थापाले जानकारी दिए। ‘प्रशासनिक मात्रै छ आर्थिक अधिकार छैन,’डा. थापाले भने।

उनी अस्पतालको उप निर्देशकको जिम्मेवारीमा कार्यरत थिए। एमालेको सदस्य भएको देखिएपछि वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै निर्देशकबाट हटाएर मन्त्रालयमा तानेका थिए।

उता अर्को निर्णय नभएसम्म वीर अस्पतालको निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी शुक्रवारदेखि मन्त्रालयमा हाजिर हुन उनलाई भनिएको थियो। मन्त्रालयमा उनलाई कुनै जिम्मेवारी दिइएको छैन।

डा. पौडेललाई निर्देशकबाट हटाएपछि डा. थापालाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो। उपकुलपति बस्नेत दसौँ तहका चिकित्सक हुन् भने निमित्त निर्देशक भएका डा. थापा ११औँ तहका चिकित्सक हुन्। निर्देशकबाट हटाइएका डा. पौडेल पनि दसौँ तहका चिकित्सक नै हुन्।

१७ मंसिर, २०८०, १६:२९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।