मार्केटिङ कन्सल्टेन्ट आश्राको प्रसव पीडा र खुसी : म त्यो नौ महिना फेरी सहन सक्दिन, त्यसैले एकै सन्तानमा खुसी छु

मार्केटिङ कन्सल्टेन्ट आश्राको प्रसव पीडा र खुसी : म त्यो नौ महिना फेरी सहन सक्दिन, त्यसैले एकै सन्तानमा खुसी छु

आश्रा भट्टराईले धेरै ब्रान्डहरूसँग काम गरिसकेकी छिन्। एसियन पेन्ट्स, साम्संग, भायनेट र ई सेवामा काम गरिसकेकी उनी अहिले कोकाकोलाको नेपाल र भुटानको लागि 'मार्केटिङ कन्सल्टेन्ट' को जिम्मेवारीमा छिन्। केही समय बैंकर समेत भइन् उनी।

काठमाडौँको मानभवनमा हुर्किएकी उनले बिहे पनि यहिकै ठेट नेवार परिवारमा हुर्किएकोसँग भयो। उमेर पुगेपछि दुवैले अन्तर्जातीय विवाह गरे। दुवै खुसी थिए तर परिवार भने त्यति खुसी भएन। विवाहपछि निकै सङ्घर्ष गर्नुपर्यो उनले। केही हदसम्म अझै सङ्घर्षमै देखिइन् उनी।

जे भए पनि उनले आफ्नो व्यावसायिक यात्रा रोकिनन् उनले। एक पछि अर्को ठुलो ब्रान्डसँग काम गर्ने मौका पाइरहिन्। आश्रा एक सन्तानकी आमा हुन्। उनले उकेराको नियमित स्तम्भ ‘प्रसव पीडा र खुसी’ मा आफ्नो मातृत्वको सुख दुख यसरी साटिन् :

०००

मेरो २७ वर्षको उमेरमा अन्तर्जातीय विवाह भयो। अन्तर्जातीय विवाहका कारण चुनौती रही नै रह्यो। त्यो अहिले पनि छ। यस्तो सधैं हुने रहेछ। विवाहकै लागि परिवारलाई मनाउन पनि तीन वर्ष लागेको थियो। अन्तिममा उहाँहरूको सहमति रह्यो तर खुसी हुन सक्नु भएन।

२७ वर्षको उमेरमा बिहे भए पनि हामीले बच्चा पाइहालेनौ। समय दियौँ एक अर्कालाई। पाँच वर्षसम्म सन्तान नजन्माउने हाम्रो योजना नै थियो। एक अन्तर्जातीय विवाहका कारण आइपरेको पारिवारिक चुनौती। अनि अर्को मेरो करिअरप्रतिको क्रेज। यसैले योजना बनाएर मानसिक रूपमा तयार भएपछि मात्रै सन्तान जन्माउने योजना बनाएका थियौँ।

पाँच वर्षपछि चैं दुवै जनाले डाक्टरसँग परामर्श गर्यौँ। स्वास्थ्य जाँच गर्यौ। सबै ठिक देखिएपछि सन्तानका लागि तयार भयौँ। सबै ठिक थियो तर, गर्भ बसिरहेको थिएन।

त्यसबेला म ३२ वर्षकी भइसकेकी थिएँ। केही समस्या भयो कि भन्ने पनि लाग्यो। अब चैं हुन्छ होला भन्दा हरेक महिना महिनावारी भइनै रह्यो। प्रयास गरेको आठौँ महिनामा गर्भ बसेछ।

त्यसबेला फेरी हजुरबुबा बित्नु भएको थियो। म उहाँको किरियामा व्यस्त थिएँ। त्यो बेला चैं होला जस्तो लागेको थिएन। त्यहीबेला दुई हप्तादेखि ज्वरो आइरहेको थियो। बिरामी भएको भएर होला, धेरै उत्सुकता नै भएन।

म माइतीमा थिएँ। गर्भ बसेको खुलेपछि फोटो खिचेर बहिनी र श्रीमानलाई पठाइहाले। अरूलाई त धेरै महिनासम्म थाहा पनि दिइन। यति धेरै कोसिस गर्दा पनि भइरहेको थिएन, बल्ल भएछ भनेर श्रीमान् धेरै खुसी हुनुभयो।

बाहिरबाट हेर्दा सामान्य नै देखियो। तर पहिलो तीन/चार महिना त एकदम धेरै जटिल भयो। 'प्लेसेन्टा' पनि तल भएछ। डाक्टरले भ्याङ्ग नचढ भन्नुभएको थियो। अब काममा जान परिहाल्यो। घरमा सबै जना दुखमा हुर्किनु भएको। मेरो सासुले १९ वर्षमा बच्चा पाउनु भयो। मैले ३२ वर्षमा पाइरहेको थिएँ। त्यही भएर उहाँहरूलाई बुझाउनै गाह्रो भयो।

मलाई के भइरहेको छ अनि बच्चालाई कति खतरा छ भन्ने बुझाउनै सकिन। त्यसले गर्दा एक किसिमको दबाब भइरह्यो। सुरुको महिनाहरूमा बिहान एकदम गाह्रो हुन्थ्यो। डाक्टरले दिएको क्याल्सीयम, आइरन समेत खान सक्दिन थिएँ। खायो कि बान्ता भइहाल्थ्यो। खानेकुराको गन्ध नै मन परेन। 

अफिसमा पनि खानाको गन्धहरू आएर म बाहिरै निस्किन्थेँ। त्यसबेला डीप फ्राई आलु, आइसक्रिम, भुजा,चिउरा जस्तो धेरै स्वाद र गन्ध नभएको खानेकुराहरू खाएँ। त्यसले अलिअलि तौल पनि घटेको थियो। तर, त्यो घटेको तौल खान थालेपछि बढ्दै गयो। पछि त्यो 'प्लेसेन्टा' फेरी माथि सर्दै गएछ।

त्यसबेला मेरो त पानी पनि कम भएछ। तीन दिन हस्पिटलमा बस्नुपर्यो। त्यहिबेला पत्थरी पनि भएछ। त्यसले एकदम दुखायो। पानी पनि कम हुनु, अनि पत्थरी पनि देखिएपछि अप्रेशन गर्ने भन्ने कुरा आयो। त्यसको भोलिपल्ट त अप्रेशन पनि भयो। त्यै भएर आठ महिनामै मैले छोरीलाई जन्म दिएँ।

मलाई त धेरै नै गाह्रो भयो। आफ्नो करिअर छ, स्वास्थ्यको पनि कुरा पनि आउँछ। बच्चा पाउनु राम्रो अनुभव भए पनि त्यो नौ महिना एकदमै जटिल हुने रहेछ। काममा पनि प्रेसर, स्वास्थ्यले पनि साथ नदिएको बेला बच्चाको चिन्ता, आफ्नै चिन्ता भइराख्ने रहेछ। अब अर्को बच्चा पाउन मन पनि छैन। म फेरी त्यो नौ महिना सहन सक्दिन।

गर्भवती समय र नानी जन्मिसकेपछि पनि मलाई मानसिक रूपमा धेरै जटिलता आयो। घरमा बुझाउन नसक्ने,  त्यसमाथि काममा पनि अर्कै खालको प्रेसर! सात/आठ महिनाको गर्भवती हुँदा मैले मध्यरातसम्म एक्लै अफिसमा बसेर पनि काम गरेको छु। गार्ड दाइ आएर तपाई जाने बेला भएन ? भन्दा म बेस्सरी रोएकी छु। त्यो बेला मनोबल गिरेको महसुस गरिरहे।

गर्भवतीको नौ महिना र नानीले दूध नछोडेसम्म त म आफ्नो प्राथमिकतामै परिन। सबै जनाले यसलाई कस्तो सामान्य लिइरहेका रहेछौँ। नयाँ जीवन आउँछ, त्यो ठिक छ तर, त्यो नयाँ जीवन नभएको भए त शरीरमा एउटा ट्युमर नै हो नि। हरेक महिलाले भोगेको देखेर यसलाई अति सामान्यीकरण गरेको जस्तो लाग्छ। अरूले भनेको जस्तो सामान्य पक्कै हैन।

पहिला बरु अप्रेसनलाई ठुलो मानिन्थ्यो। अब त अप्रेसनलाई पनि सामान्य मान्न थालियो। अगाडी देखिनै जटिलताहरू आएको कारण अप्रेसनको लागि म मानसिक रूपमा तयार भइसकेको रहेछु। त्यै भएर अप्रेसन गर्ने भनेपछि डर लागेन। आजजसो अप्रेसन गर्नुपर्छ भनेर थाहा भयो, भोलिपल्ट बिहान ७ बजे त बच्चा जन्मिसकेको थियो।

कम्मरमा एनेस्थेसिया दिएपछि पेट काटियो। त्यसपछि मलाई खोकी लाग्यो। घाटीमा खसखस भइरहेको थियो। तर, पेट काटेको भएर खोक्नै सकिन। त्यो मलाई अहिले पनि याद आइरहन्छ।

पछि त बच्चा निकालेर 'तपाईँले राम्री छोरी पाउनु भएको छ' भने। मैले हेर्न नि सकिन। मान्छेहरूले भनेको जस्तै बच्चा पाउने बित्तिकै मेरो बच्चा, माया, ममता भन्ने भएन। मलाई त्यो महसुस हुन अलि समय नै लाग्यो।

आठ महिनामै ननिलाई निकालिएको भएर एक दिन आइसियुमा राख्नुपर्यो। त्यसपछि दिइहाले। आफूले समात्न पाएपछि चैँ एकदम खुसी लाग्यो। अर्कै खालको अनुभूति भयो। मलाई त उ आफू जस्तै लाग्यो। दङ्गै परेँ।

अप्रेसन गरेको भएर होला एक महिना जति धेरै नै गाह्रो भयो। बाथरुम जान पनि गाह्रो हुन्थ्यो। श्रीमानको हात समातेर बाथरुम जान्थेँ।

फेरी रगत बगेको बग्नै छ। सानो सानो कुरामा पनि एकदम रिस उठ्ने भयो। मान्छेहरू घरमा आउँदा पनि कस्तो झोक चल्थ्यो! छोरीलाई स्तनपान साढे दुई वर्षसम्म गराएँ। नौ महिनासम्म त अफिस गए पनि पम्प गरेर राखिदिन्थेँ।

उसलाई सकेसम्म समय दिने कोसिस गर्छु। त्यै भएर पनि अर्को बच्चा नजन्माउने भनेको। दुवै बच्चालाई फेरी त्यही अनुसारको समय दिन सक्दिन कि भन्ने लाग्छ।

सुत्केरी स्याहार राम्रै भयो। आफूले एक तरिकाले सोचेको हुन्छ, यसरी हुर्काउँछु भन्ने लागिरहेको हुन्छ। परिवारले अर्कै सोचिरहनुभएको हुने रहेछ। त्यस्तो बेला चैँ मेरो बच्चा मैले हुर्काउन नपाउनु भन्ने जस्तो झोँक चल्ने रहेछ! बच्चाकै विषयलाई लिएर त अहिलेसम्म पनि सानो-तिनो मनमुटाब भइनै रहन्छ। बिचार नै मिल्दैन के।

गर्न त घरमा राम्रो स्याहार भएको थियो। यस्तो गर्न मन लागेको छ भनेर भन्न गाह्रो भयो। माइत गएपछि भने मनको कुरा भन्न सकेँ। यसो गर्न मन लागेको छैन, यस्तो गर्छु भन्न सहज भयो। जब घरमा मनमा लागेको भन्न सकिन अनि 'बुहारी' को दायरा त्यहीबेला थाहा पाएँ। आफ्नै मनमा धेरै द्वन्द्व भइनै रह्यो।

छोरी पहिलो पटक बोल्दा, हिँड्दा म उ सँगै हुन पाएँ। पहिलो पटक स्कुल चैँ पुर्याउन पाइन। तर, श्रीमानले फोटो पठाउनु भएको थियो। यस्ता साना-साना क्षणले आमा हुनुको भरमार खुसी दिने रहेछ।

उ तीन महिनाको भएपछि नै मैले काम सुरु गरिहालेँ। पछि पत्थरीको अप्रेसन पनि भयो। त्यसबेला पनि एकदम गाह्रो भएको थियो। जन्डिस पनि भएछ। बिरामी भएर चार दिन त हस्पिटल नै बस्नुपर्यो।

त्यो बेला छोरीले मेरो कमी महसुस गरिछिन्। हस्पिटलबाट फर्किँदा छोरी सुतिसकेकी थिइन्। मेरो आवाज सुने पछि उठी। उ त एकदम सर्प्राइज जस्तो भइन्। केही नभनी आएर मलाई दश मिनेटसम्म अँगालो हालेर बसी। त्यो बेला नै हो मैले उसलाई पर्याप्त समय दिन सकिरहेको छैन रहेछ भनेर थाहा पाएको।

अहिले उ छ वर्षकी भई सकिन्। एक कक्षामा पढ्दै छिन्। एकदम हठी स्वभाव कि छे। त्यै भएर अहिले पनि उ मलाई म जस्तै लाग्छ। एकदम राम्रो चित्र कोर्छे। डान्समा पनि चाख देखाइरहेकी छे।

अर्को सन्तान जन्माउने इच्छा परिवार र श्रीमानले पनि राखेका छन्। केहीले छोरा पाओस् भन्ने पनि इच्छा राखेको पनि रहेछन्। म छोरी भएको घरमा हुर्किएकी हुँ। माइतमा म र मेरो बहिनी मात्र हो। हामी दुवै जना आ-आफ्नो क्षेत्रमा राम्रो गरिरहेका छौँ।

तै पनि छोरा हुनु नै पूर्ण हुनु हो भन्ने सोच अझैँ हराएको रहेनछ। तर एक सन्तानमै म खुसी छु। अर्को सन्तान जन्माउन मन छैन। अब छोरीले जे गरोस्, मन लगाएर गरोस्, बुझ्ने होस्, कसैलाई पनि भेदभाव नगरोस्। 

प्रसव पीडाका यसअघिका सामग्री

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

मंसिर १७, २०८० आइतबार १६:१६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।