सन्दीप नेतृत्वको बागमतीलाई पराजित गर्दै त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा
काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
पहिलो सेमिफाइनलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको बागमती प्रदेशलाई ४ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।
बागमतीले दिएको १ सय २८ रनको लक्ष्य आर्मीले १५औँ ओभरमा भेट्टायो।
आर्मीका लागि भीम सार्की ३९, कप्तान विनोद भण्डारी २५, कुशल मल्ल २७ रन बनाएर आउट हुँदा सोमपाल कामी १५ रनमा नटआउट रहे।
बागमतीका कप्तान सन्दीपले २ विकेट लिए भने सुवास खत्री, रित गौतम, सोनु देवकोटा र इशान पाण्डेले एक-एक विकेट हात पारे।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय २७ रन बनायो।
बागमतीका लागि प्रतीक श्रेष्ठले सर्वाधिक ५० रन बनाउँदा सन्दीप लामिछाने १९, रित गौतम १४, इशान पाण्डे १२ रन बनाएर आउट भए।
आर्मीका साहब आलमले चार, सोमपाल कामीले दुई तथा विवेक यादवले एक विकेट लिए।
प्रतियोगिता अन्तर्गत विभागीय टोली एपीएफ र मधेश प्रदेशबीच भिड्ने छन्। यी दुईको विजेताले उपाधिका लागि भोलि आर्मीसँग खेल्नेछ।
मंसिर १४, २०८० बिहीबार १२:४६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।