डा केसीलाई साथ दिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

डा केसीलाई साथ दिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

काठमाडौँ : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्र सुधारको अभियानका सक्रिय डा गोविन्द केसीले आन्दोलन घोषणा गरे त्यसमा सहभागी हुने चिकित्सकहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

उनले डा केसीको आन्दोलन देशको अहितमा रहेको भन्दै केसीको पक्षमा लागे कारबाही गर्ने चेतावनी दिएका हुन्। ट्रमा सेन्टरको कार्यक्रममा शनिवार बोल्दै उनले भने 'बुद्धिमा खिया लागेर हो वा कसैको दलाली गर्न लागेर हो वा कसैको बहकावमा लागेर हो, हामी हिँडिराखेका छौँ। म यो पनि भन्छु,म अनसन बसिदिन्छु भन्नुहुन्छ एक जनाले। उहाँ बस्नु भएपछि तपाई फेरि सेतो कोट लगाएर उहाँको बचाउमा हिँडिहाल्नु हुन्छ।’ 

सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केही दिन अगाडि डा केसीले अनसन बस्ने चेतावनी दिएका थिए। डा केसीको निरन्तर आन्दोलनका कारण सरकारले मेडिकल कलेजलाई मनलाग्दी दिने सम्बन्ध रोकिएको छ।

उनले नेपाललाई मेडिकल शिक्षाको हब बनाएर राख्न सक्ने हैसियत, तागत र वातावरण रहेको भन्दै उनले भने' अब हामीले यो काम गर्नुहुँदैन। तपाई आफू ठीक मान्छे हो। तर तपाईँलाई सञ्चालन गर्ने गिरोहहरू गलत छ भनेर भन्न किन नसक्ने? अब भन्नुपर्छ तपाईँहरूले। होइन यो अभियान अगाडि बढ्दा तपाईँहरू ओल्टेकोल्टे हुन थाल्यो भने तपाईँहरूलाई पनि कारबाही हुन्छ।’ 

९ मंसिर, २०८०, १६:३१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।