लेखक बिनाको प्रसव पीडा र खुसी : कस्तो अपराधी, एनेस्थेसिया नै नदिई टाँका लगाइदिए, यति धेरै दुख्यो की..!
लेखक बिना थिङ पछिल्लो समय नयाँ उपन्यासको तयारीमा छिन्। छोटो कथा र कविताबाट परिचित उनी पेसाले शिक्षक हुन्। काठमाडौँ बुढानीलकण्ठको जय भद्रकाली आधारभूत विद्यालयकी उनी सह-प्रधानाध्यापक हुन्। हेटौडामा जन्मिएकी उनको कलिलै उमेरमा विवाह भयो।
एसएलसीको रिजल्ट पनि नपर्खी भएको मागी विवाहलाई उनले नकार्न सकिनन्। सानै उमेरमा भएको विवाह पश्चात् सानै उमेरमा आमा पनि बनिन्। काठमाडौँ भए पनि उनको घर त्यो बेलामा दुर्गम थियो। नजिकै अस्पतालको पहुँच थिएन। गर्भावस्थामा उनले जटिल स्वास्थ्य समस्या समेत भोगिन्।
'बिहे पछि छोरी मान्छेको जिन्दगी सकिन्छ' भनेर उनले पनि मान्न थालिसकेको थिइन्। अनि पढाई, घरको काम, बाहिरको कामसँगै बच्चाको स्याहारमा व्यस्त भइन्। चार सन्तान जन्माएकी उनको साथमा तीनजना मात्र छन्। उनै बिनाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा बाल्यकालमै आमा बनेदेखि चारजना सन्तान जन्माउँदाको अनुभव यसरी साटिन् :
000
पन्ध्र वर्ष पुगेर सोह्र लाग्दा नै परिवारले मेरो बिहे गर्दिहाले। बाआमाले भनेको केटासँग बिहे गर्यो भने पछि दुख पाए पनि फर्केर आउने ठाउँ हुन्छ भन्ने चलन अहिले त छ। त्यसबेला यस्तो सोच नहुने कुरै भएन। त्यही भएर परिवारले विवाह गर्न खोज्दा मैले नाइँ भनिन। २०५२ सालमा म काठमाडौँ आएको। अर्को वर्ष त मैले छोरा जन्माइसकेको थिएँ।
आफैँ पनि सानो भएर होला, पहिलो पटक गर्भवतीहुँदा त्यति गहन अनुभव भएन। श्रीमान्, सासुससुरा चिनेँ त्यति हो। गर्भवतीहुँदा गर्मी महिना थियो। कोक धेरै खाएको चैँ याद छ। म घरको एउटै मात्र बुहारी। घरको वंश धान्ने व्यक्तिनै भएँ नि ! त्यै भएर आमा स्वस्थ भयो भने बच्चा पनि स्वस्थ हुन्छ भन्ने भयो।
बिहे भएको पनि धेरै समय भएको थिएन। मेरो लागि त सबै नयाँ अनुभव भयो। अहिले सोच्दा त भाँडाकुटी खेल्दा पुतलीको बिहे भएको जस्तो लाग्छ। घरमा माछामासु त कहिले नटुट्ने। गाईबस्तु पालेको भएर दही दूधको पनि कमी भएन। धान पनि आफ्नै खेतको हुन्थ्यो। फलफूल खानलाई चैँ चाडबाडै आउनुपर्थ्यो।
सासूले फलफूलको पनि कुनै कमी हुन दिनुभएन। फलफूल टन्न खाएँ। त्यसबेला अनार महँगो हुने हुँदा मलाई एकदम विशेष लाग्थ्यो। पछि बच्चा पनि स्वस्थ जन्माएँ।
गर्भवती भएको छ/सात महिनासम्म म जंगलमा गएर दाउरा, पत्कर लिएर आउँथे। त्यसबेला मलाई मेरो साथीहरू सबै पढिरहेको छन्, म त गर्भवती भएँ। म हारे, म पछाडि पर्ने भए भन्ने लाग्थ्यो।
पछि पनि पढ्न मिल्छ भन्ने थाहा थिएन। खासमा पहिलो बच्चा यति चाँडै इच्छा राखेको पनि थिइन। बूढाबूढीले सल्लाह गरेर चाँडै बच्चा नजन्माउने भनेका पनि हौँ। गर्भ बसिहाल्यो। अब कता गएर गर्भपतन गराउने भन्ने नै थाहा भएन। तीन/चार महिना पछि त पेट बाहिरबाटै देखिन थालिहाल्यो।
त्यही नचाहेको भएर होला, पहिलो बच्चा तीन महिना पछि बाँचेन। छोरा जन्मिएको थियो। चार किलोको, एकदम स्वस्थ। उसलाई सकेसम्म घरमै पाउने प्रयास गरेको हो। अहिले पो हामी आफ्नै कोठामा पनि सुत्केरी हुन पाइरहेका छौँ। त्यस बेला त कुल देउता, केके हुन्छ भनेर गोठमा लगे। पत्करहरू भण्डार गरेको ठाउँमा सुकुल ओछ्याएर मलाई राखे। दुई- तीन घण्टा त उनीहरूले कोसिस पनि गरे।
कसैले तेल लगाएर तालुमा ठोक्छन्, कोहीले घुँडा टेकेर बस भन्छन्। त्यसबेला यति धेरै दुख्यो कि मैले अब जिन्दगीमा अर्को बच्चा जन्माउँदिन भनेर अठोट गरेँ। बच्चा ठुलो भएर पनि होला घरमा जन्मिनै सकेन। अनि हतार हतार टिचिङ हस्पिटल गयौँ।
सुरुमा त त्यहाँ जँचाएकै छैन भनेर लिन पनि मानेनन्। मलाई एकदम गाह्रो भैसकेको थियो। हस्पिटल गएको आधा घण्टा पनि नभई छोरा जन्माएँ। १६ वर्षको मान्छेले चार किलोको बच्चा पायो भनेर डाक्टर र नर्सहरूले कुरा गर्थे।
बच्चा जन्माएपछि त पेट पनि स्याप्प भयो। मलाई त देउरालीको चौतारामा भारी बिसाएर थकाइ मारेको जस्तो अनुभव पो भयो। त्यसपछि 'एनेस्थेसिया' नै नदिई उनीहरूले टाँका लगाइदिए। बच्चा जन्माउनु भन्दा बढी त त्यो दुखाइले पो पीडा दियो।
कस्तो अपराधीहरू रहेछ ! त्यसले यताबाट उता फर्कन पनि मलाई निकै सकस भयो। बच्चालाई दूध खुवाउन पनि उठ्न सकिन।
कसैले आएर चुसाइदिएको छ भने चुस्यो, नत्र म आफैले खुवाउनै सकिन। त्यसपछि त दूध गानिन थाल्यो। धेरै गानिएपछि दूध पाक्दो रहेछ। घरमा कसैले पनि हस्पिटल जानुपर्छ भनेनन्। बरु धामीलाई देखाएर पाकेको घाउँमा दुम्सीको काँडाले प्वाल पार्दै निचोरे। डाक्टरले त एनेस्थेसिया नलागिदिएको बेला धामीले का'बाट एनेस्थेसिया गरिदिनु। उसले नै उपचार गर्ने, प्वाल पार्ने, निचोर्ने, सुत्ला कोच्ने गर्यो। त्यस पछि त मैले झन् स्तनपान गराउनै पाइन।
त्यही भएर बच्चा कमजोर भयो। अपरिपक्व उमेरमा बच्चा जन्मायो भने त्यस्तो गाह्रो हुने रहेछ भन्ने लाग्छ। पाउन सक्षम भए पनि बच्चाको हेरचाहमा झन् बढी संवेदनशील हुन पर्ने रहेछ।
बच्चालाई इन्फेक्सन भएर पछि पखाला पनि भयो। त्यसबेला पनि काँ लाने, के गर्ने भन्ने थाहा थिएन। नजिकैको मेडिकलले मलाई झोल औषधी दियो। उसको पखाला र वान्ता पनि रोकियो। तर, पेट त साह्रो हुँदै आयो। बच्चा सुक्दै गयो।
त्यसपछि नर्सिङ होम खोज्न थालेँ। बालाजुको नर्सिङ होममा राख्यौँ। १५ दिन राखे पनि केही सुधार आएन। पैसा पनि धेरै खर्च भयो। बच्चा रुन पनि सकिरहेको थिएन। अनि घर लाने कुरा भयो। घर लाने दिन बच्चा म सँग सुतिरहेको थियो। म बिउँझिँदा त उ बितिसकेको थियो।
उसलाई अन्तिम संस्कार गर्न लैजान लागेका थिए। मैले यसो समाते, चलाए चिसोढुंगा जस्तो भएको थियो। मलाई त रुन पनि आएन। त्यस्तो बेला पनि मातृत्व, वात्सल्य भन्ने नै अनुभव गरिन। आफै सानो भएर पनि हो कि! स्तनपान नगराएर पो हो कि! आफै शारीरिक रूपमा पनि धेरै कमजोर थिएँ त्यसबेला। म रोइन, हेरिरहे। त्यसपछि उनीहरूले लगे। कता लगे मलाई थाहा नै भएन।
बच्चालाई जन्म दिएदेखि बिरामी भइरहेको, तीन महिनामै बितेपछि सुत्केरी स्याहार भन्ने नै भएन। ज्वरो आइरहेको भएर तेल लगाउन हुन्न भन्ने भयो। खेतीपाती भएको घर भएर पनि होला। 'हामीले पनि बच्चा पायौँ अब त्यसै हुर्किन्छ' भन्ने भयो। खान त दिनकै मासुभात खाएँ। तर, सबै जना काममा जान्थे। घरमा म एक्लै धुमधुम्ती बस्थेँ।
त्यसो भएपछि माया,स्नेह भन्ने नै नहुने रहेछ। कोही कुरा गर्ने मान्छे नै भएन। भन्न त लोग्ने थिएन त! पनि भन्छन्। उ त झन् स्कुल पढिरहेको थियो।
दोस्रो सन्तानको पनि योजना नै गर्न परेन। गर्भ बसिसकेको रहेछ। पहिलो सन्तान जेठमा बित्यो। फागुनमा त मैले अर्को सन्तान जन्माइसकेको थिएँ। पहिलोमा टाँका लगाएको बिर्सेको थिइन। हस्पिटलप्रति एक किसिमको घृणा पनि भयो। प्रसूति गृहमा नर्सहरूको शब्द सम्झ्यो भने कसलाई चैँ हस्पिटल जान मन लाग्छ होला र!
व्यथाको अन्तिम चरणमा घरमै थियौँ। तर, जन्मिन गाह्रो भएपछि हस्पिटल नै जाने भन्ने भयो। व्यथा लाग्दा एकछिन निमोठिएको जस्तो हुने, अनि छोड्ने गर्थ्यो। गाउँदेखि चोकसम्म त्यस्तो अवस्थामा हिँडेरै आयौँ। बुढानीलकण्ठ मन्दिरदेखि गाडीमा चढेर चपली गाउँ नपुग्दै गाडीमै छोरीलाई जन्म दिएँ।
अलि पर्खेको भए घरमै जन्मिने रहेछ। त्यसपछि हस्पिटल गएनौ, घर नै फर्कियौँ। कच्ची सडक त थियो, माथिसम्म जाऊँ भनेको गाडी चलाउनेले मान्दै मानेन। मन्दिरबाट लगभग दुई किलोमिटर हिँड्नुपर्थ्यो। बच्चालाई फरियामा पोको पारेर हिँडेरै घर गयौँ।
मेरो त साल पनि खसेको थिएन। अलि पर गए पछि खोल्सा आयो। त्यहाँ एउटा क्षेत्रीको घर छ। उनले 'सुत्केरी भएर ल्याएको हो ?'भने। हाम्रोले 'हो' भन्यौ। उता बाट 'साल झर्यो ?' भनेर सोधे। 'झरेको छैन' भन्यौँ।
त्यसपछि त उनले बेस्सरी गालो गरे। त्यतै पीढीमा राखे। कपालले जिब्रोमा छोए पछि खोकी लाग्ने रहेछ। अनि खोकीको बलले साल झर्यो। त्यो पनि त्यही क्षेत्री बज्यैले सिकाएको। अनि मलाई डोकोमा बस्ने ठाउँ बनाएर फुपू सासूले बोकेर माथि लग्नुभयो।
त्यसपछि पनि फेरी दूध गानेर पाक्यो। त्यसबेला चैँ मैले कसैलाई छुन दिन्न भनेर हस्पिटल गएँ। त्यसबेला चिरेर सफा गरे। छिट्टै निको भयो। बच्चालाई पनि छिट्टै दूध खुवाउन पाएँ। नानीको बेलामा सुत्केरी स्याहार राम्रो भयो। तर त्यसबेला पनि म एक्लो महसुस गर्थेँ। घरको कोही पनि आफ्नो लाग्दैनथ्यो। त्यै भएर न्वारन गर्ने बित्तिकै माइती गएँ।
त्यसबेला आमासँग बस्न पाउँदा त एकदम भव्य जिन्दगीको महसुस गरेँ नि। मलाई केही गर्न आवश्यकै थिएन। केही तनावै छैन। म त आरामले सुतिरहने, टिभी हेर्ने। बच्चालाई हेर्ने, सफा गरिदिने, मलाई हेरिदिने सबै आमाले गर्नुहुन्थ्यो। आमाले गर्दा त नराम्रो पनि नलाग्ने रहेछ।
घरमा त न्वारन भएपछि 'अब तिमि पकाउ, हुन्छ अब' भन्ने। घरधन्दा त गर्नैपर्यो। त्यसबेला 'म त सुत्केरी पो हुँ त। मलाई काम अह्रायो। यिनीहरूले मलाई माया नै गरेन' भन्ने लाग्थ्यो। एक हिसाबको चित्त दुखाई थ्यो। सकेसम्म माइतै बस्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।
छोरा जन्मेको रहेन। त्यसपछि छोरी जन्मिएको भने पछि एउटा छोरा त हुनुपर्छ भन्ने भयो। श्रीमान् पनि कमाउन सक्ने भइसकेका थिए। मैले पनि प्राइभेट स्कुलमा पढाउन सुरु गरिसकेको थिएँ। अनि हेल्थपोस्टमै स्वयम् सेविका पनि भैसकेको थिए। त्यसले गर्दा स्वास्थ्यको बारेमा अलि बढी सचेत भैसकेको थिएँ। हामीले तेस्रो सन्तान जन्मायौँ। छोरी भयो। छोरी जन्मिएको भएर घरमा कोही पनि खुसी थिएनन्।
त्यसबेला मैले आफू हारेको महसुस गरेँ। छोरी जन्माएँ, अब मलाइ राम्रो व्यवहार गर्दैनन्, स्याहार्दैनन् भन्ने लागिरहन्थ्यो। छोरा जन्माउँदा राम्रो गरेका थिए। पछि छोरी पाउँदा सामान्य व्यवहार गरेका थिए।
अब फेरी छोरी पाउँदा यति पनि गर्दैनन् भन्ने सोचाई आयो। छोरीको त अझ न्वारन पनि छिट्टै गर्ने रे ! किन छिटो भन्दा भान्सा छिट्टै सम्हालोस् भनेर रहेछ। दुइटा छोरी भएपछि अब नपाउने भनेर बसियो। तर, घरमा त अर्को वर्ष देखिनै छोरा चाहिन्छ भनेर भन्न थालिहाले।
चार वर्षसम्म पनि हामीले वास्ता गरेनौँ। त्यसपछि त 'छोरा नदिने भए मेरो छोराको अर्को बिहे गरिदिन्छु' सम्म भने। एक मनले त गरोस् भन्ने पनि लाग्यो। फेरी यत्रो वर्ष यही घरमा बितिसक्यो, घरमा मेरो पनि धेरै श्रम, मिहेनत भइसक्यो। कसरी बाँडेर बस्नु भन्ने भयो।
श्रीमान् र मैले पनि कमाउन सक्ने भइसकेका थियौँ। हामीले पढाइ पनि पुरा गरिसकेका थियौँ। तर, सामाजिक, सांस्कृतिक परिवेशसँग जुध्न सकेनौँ। पहिलो छोरा रहेन, अब अर्को पनि नपाउने? भनेर कर गर्न थाले।
केही सीप नलागेपछि हामीले फेरी अर्को सन्तान पाउने निर्णय गर्नैपर्यो। तर छोरा नै हुन्छ भन्ने भएन क्यार। गर्भ बसेपछि त हामीले लिङ्ग परीक्षण गर्यौँ। छोरा छ भन्यो। तर, नजन्मिएसम्म ढुक्क हुनै सकेनौ।
उसलाई जन्माउने बेलासम्म सुत्केरी गराउन गोठ लैजाने चलन हटिसकेको थियो। गोठ नै थिएन। मैले आफ्नै कोठामा पाउँछु भनेँ। पुसको १४ गते राति व्यथा लाग्यो। बच्चा जन्मियो। जन्मिए पछि के जन्मियो भनेर पनि मैले सोध्न सकिन। एक क्षण त ठुलो युद्धको फैसला हुँदैछ भन्ने लाग्यो। अनि छोरा भयो भनेपछि त संसार जित्यो भन्या जस्तो भयो।
छोरा र छोरीमा विभेद गर्न हुन्न भन्ने नै हो। तर, परिवारसँग विद्रोह गर्न नसकिने रहेछ। परिवेशसँग जुध्न चानचुने सामर्थ्यले नपुग्ने रहेछ।
त्यसपछि आठ माना त घिउ मात्र खुवाएँ। पहिला पनि खाना, लगाउन केही भेदभाव गरेको होइन। तर, पनि छोरा चैँ हुनुपर्छ भन्ने मान्यता हाम्रोमा पनि रहेछ। छोरा पाउने बेला मैले सरकारी स्कुलमा पढाउन थालिसकेको थिएँ। एक महिना भन्दा बढी छुट्टी पनि पाइन।
त्यै भएर उसलाई खान्कीमा ध्यान दिन पाइन कि भन्ने लाग्छ अहिले पनि। अहिले ठुली नर्सिङ सक्काएर अस्ट्रेलियामा छ। अर्को छोरी मेडिकल पढिरहेको छ। कान्छो त एघारमा पढिरहेको छ ।
अब त दिदीहरुले नै भाइलाई आर्थिक रूपमा सहयोग पनि गरिरहेका छन्। म नहुँदा पनि दिदीले भाइलाई हेर्ने भयो। त्यसले गर्दा उनीहरूको सम्बन्ध पनि झन् बलियो भएछ।
उनीहरूलाई नै पनि एउटा भाइ भइदियोस् भन्ने लागेको रहेछ। छोरा मात्र हुने ठाउँमा पनि दिदी बहिनीको आश राखेको मैले देखेको छु। त्यही भएर अहिले मलाई तीन/चार वटा बच्चा जन्माएर केही गल्ती गरेको जस्तो लाग्दैन।
यदि आफूसँग क्षमता छ, हुर्काउन सकिन्छ, पढाउन सकिन्छ, आर्थिक रूपमा सहयोग गर्न सकिन्छ भने बच्चा त जतिसक्दो जन्माउनु पर्ने रहेछ । किनभने आमा-बा नभए पनि उनीहरूको लागि उनीहरू नै हुने रहेछन्। उनीहरूले नै पनि एक आपसमा पारिवारिक संगठनको आवश्यकता खोज्ने रहेछन्। अहिले एकल सन्तान केन्द्रित भएको देखेको छु। त्यस्तो भयो भने बच्चाहरूअन्यायमा पर्ने रहेछन्।
जसले जे भने पनि आफ्नोमा अलग्गै आफ्नोपन हुने रहेछ। अहिले त मेरो पनि सानो समूह भएको छ। थाहा छैन भोलि के हुन्छ। तर, आजसम्म उनीहरू देख्दा मलाई आनन्द लाग्छ।
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
मंसिर ३, २०८० आइतबार १९:५९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।