क्यालिफोर्नियामा चीन र अमेरिकाका राष्ट्रपतिबीच भेटवार्ता, बाइडेनले सी जिनपिङलाई फेरि भने तानाशाह

क्यालिफोर्नियामा चीन र अमेरिकाका राष्ट्रपतिबीच भेटवार्ता, बाइडेनले सी जिनपिङलाई फेरि भने तानाशाह

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित ऐतिहासिक फिलोली इस्टेटमा महत्वपूर्ण भेटवार्ता भएको छ।

एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनका अवसरमा दुई देशका राष्ट्रप्रमुखबीच भएको यो वार्तालापबाट विगत केही महिनादेखि चलिरहेको तनाव कम हुने भएकाले महत्वपूर्ण मानिएको छ।

यस शिखर सम्मेलनपछि अमेरिकी राष्ट्रपति बाइडेनले करिब २० मिनेटसम्म चलेको पत्रकार सम्मेलनमा धेरै कुरा भनेका थिए। उनले अमेरिका र चीनबीचको सैन्य सञ्चार पुनः सुचारु हुने विश्वास व्यक्त गर्दै आफू र सी जिनपिङले थप प्रत्यक्ष सञ्चारलाई कायम राख्ने बताए।

अमेरिकामा फेन्टानिल उत्पादनको प्रवाहलाई समाधान गर्न दुवै देशले पहल शुरू गरिसकेको बाइडेनले स्पष्ट पारे।

भेटमा युक्रेन र पश्चिम एसियामा जारी युद्धका बारेमा पनि छलफल भएको थियो। बाइडेनले यी मुद्दाहरूमा उठेका प्रश्नहरूको जवाफ दिएका छन्।

जो बाइडेनले दुई देशबीचको ‘प्रतिस्पर्धा’ ‘द्वन्द्वमा परिणत हुन नदिन’का लागि आफूले यो सम्मेलन शुरू गरेको बताए।

उनले भने, ‘म यो वार्तालापको कदर गर्छु किनभने मलाई लाग्छ कि तपाईं र मैले एकअर्कालाई राम्रोसँग बुझ्नु सबैभन्दा महत्त्वपूर्ण छ।’

सी जिनपिङले एकअर्कासँग टाढिनु दुवै देशको सफलता र विश्व जगतको लागि नै असफलता हुने बताए।

उनले थपे, ‘दुवै देशको सफलताका लागि विश्व नै ठूलो छ र एउटा देशको सफलता अर्कोको लागि अवसर हो। द्वन्द्वले दुवै देशका लागि धेरै असहनीय परिणामहरू निम्त्याउँछ।’

पत्रकार सम्मेलनमै एक प्रश्नको जवाफ दिने क्रममा बाइडेनले सी जिनपिङलाई तानाशाह भएको दोहोर्याएका छन् ।

बाइडेनले पत्रकारको प्रश्नको जवाफमा भने, ‘उनी यस अर्थमा तानाशाह हुन् कि उनले कम्युनिष्ट देशको सत्ता सम्हालिरहेका छन्। जुन हाम्रो भन्दा पूर्णतया फरक सरकारको स्वरूपमा आधारित छ।’

यसअघि जुन २०२३ मा बाइडेनले सी जिनपिङलाई तानाशाह भन्दा हङ्गामा मच्चिएको थियो। उनको भनाइपछि चीनले उक्त टिप्पणीलाई ‘धेरै बेतुका र गैरजिम्मेवारपूर्ण’ भनेको थियो।

यसरी बिग्रियो दुई देशको सम्बन्ध
फेब्रुअरीमा चीनले अमेरिकामा एउटा शंकास्पद बेलुन खसालेपछि यी दुई देशबीचको सम्बन्ध थप बिग्रिएको थियो। अमेरिकाले यो जासुसी बेलुन भएको दाबी गरेको छ।

यसबाहेक सन् २०२२ को अगस्टमा अमेरिकी प्रतिनिधि सभाकी तत्कालीन सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले पनि दुई देशबीचको सम्बन्धमा नकारात्मक प्रभाव पारेको थियो।

उक्त भ्रमणबाट आक्रोशित चीनले अमेरिकासँगको सैन्य सम्पर्क बन्द गरेको थियो।

दक्षिण चीन सागरमा सैन्य गतिविधि, इजरायल-हमास युद्ध, ताइवान, युक्रेन युद्ध र अमेरिकी चुनावमा चीनको कथित हस्तक्षेप जस्ता धेरै विषयमा दुई देशबीच गहिरो मतभेद छ।

कात्तिक ३०, २०८० बिहीबार ०९:११:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।