हल सञ्चालकले शो घटाएको भन्दै'दिमाग खराब' टिमले फिल्म हलबाट उतार्ने चेतावनी दियो, शो र शेयर बढाउनुपर्ने दुई सर्त

हल सञ्चालकले शो घटाएको भन्दै'दिमाग खराब' टिमले फिल्म हलबाट उतार्ने चेतावनी दियो, शो र शेयर बढाउनुपर्ने दुई सर्त

काठमाडौँ : हल सञ्चालकहरूले टाइगर थ्रीलाई उच्च शो दिएपछि रिसाउँदै फिल्म‘दिमाग खराब’ को टिमले दुई सर्त राख्दै पुरा नभए शुक्रवारबाट नेपालको हलबाट फिल्म उतार्ने घोषणा चेतावनी दिएका छन्।

उनीहरूले हल सञ्चालकहरूसँग शो बढाउने र फिल्मको व्यापारमा लागु हुँदै आएको शेयर बाँडफाँडको नीति बदल्ने सर्त अगाडि सारेका छन्।

टाइगर थ्रीले भारतमै समेत राम्रो प्रतिक्रिया नपाए पनि सलमान खानको स्टारडमका कारण नेपालका दर्शकमाझ समेत फिल्मको उच्च माग छ। माग बढेका कारण हलहरूले शो पनि बढाएका छन्। यसले दिमाग खराबको शो काटिएको छ। सोमबारै दिमाग खराबले जम्मा डेढ सय शोज् पाउँदा टाइगर थ्रीले साढे तीन सय बढी शोज्हरु पाएको थियो।

दिमाग खराब शुक्रवार रिलिज भएको थियो। टाइगर थ्री भने आइतबार रिलिज भएको थियो।

दिमाग खराबको भन्दा टाइगर थ्रीको माग बढी भए पनि हल सञ्चालकहरूले दिमाग खराबको शो कटाउँदै टाइगर थ्रीको शो बढाएका थिए। 

बिहीबारको हलको सेड्युल अनुसार दिमाग खराबले एक सय ४८ वटा शोज्हरु पाएको छ। फिल्म रिलिज भएको सातौँ दिन जुन संख्यामा शोहरु पाएको छ त्यो राम्रो हो। उता टाइगर थ्रीले २ सय १६ शोज् पाएको छ।

त्यसबाट रिसाएको निर्माण टिमले प्रेम विज्ञप्ति नै निकालेर आफ्ना दुई सर्त पुरा नगरे नेपालको हलबाट फिल्म उतार्ने निर्णय सार्वजनिक गरेका छन्।

निर्माता रौनक विक्रम कँडेल र निर्देशन निश्चल बस्नेतले जारी गरेको विज्ञप्तिमा विदेशी फिल्म बराबरै हलमा शोहरु पाउनुपर्ने र तेस्रो साताबाट निर्माताले जम्मा ३५ प्रतिशत मात्र शेयर पाउने नीति बदलेर ५०-५० प्रतिशत गर्नुपर्ने सर्त अगाडि सारेका छन्।

शुक्रवारबाट फिल्म हलबाट उतार्ने निर्णय सार्वजनिक गर्न निश्चल फेसबुक लाइभमा आएका थिए। निश्चलका अनुसार शुक्रवार र शनिवार दिमाग खराबको अकुपेन्सी राम्रो भएन। आइतबार टाइगर थ्री रिलिज भयो। उनका अनुसार दिमाग खराबको दर्शक पनि आइतबारबाटै बढेका थिए। तर हल सञ्चालकहरूले त्यही दिनदेखि शो घटाए।

फिल्मको लगानी ४ करोड रहेको निश्चलले दाबी गरेका छन्। चार करोड लगानी उठ्न १० करोड हाराहारी ग्रस कलेक्सन गर्नुपर्छ। तर अहिले अधिकांश हलहरूमा टाइगर थ्रीले एकछत्र शोहरु पाएका छन्।

दिमाग खराब टिमले यदि हल सञ्चालकहरूले आफ्नो माग पुरा नगरे फिल्म प्रदर्शन गर्न वैकल्पिक माध्यममा जाने चेतावनी समेत दिएका छन्।

निश्नलले भने 'यो कहाँसम्मको न्याय हो?'

फेसबुक लाइभमा आएका निर्देशक निश्चल बस्नेतले दिमाग खराबको चार करोड बढी लगानी भएको र अझैँ हिसाब आउनेक्रममा रहेको भन्दै प्रदर्शकहरुले भने दर्शकको चाप अनुसार शोज्हरु नदिएको दाबी गरेका थिए। उनले आउँदो शुक्रबारबाट विदेशी फिल्म र नेपाली फिल्मले बराबरी शो पाएन र फिल्म चलेसम्म ५०%-५०% प्रतिशत शेयर पाएन भने नेपाली हलमा फिल्म नचलाउने निर्णय गरेको उनले बताए। 

उनले फेसबुक लाइभमा नेपाली फिल्मको ब्यापारको अंश कसरी बाडिन्छ भनेर समेत खुलाएका थिए। उनले पहिलो र दोस्रो हप्ता ५०%-५०% बाँडफाँड हुने गरेको र पहिलो हप्ता सक्किन लाग्दा पनि राम्रो शोज्हरु नदिएको बताए। दर्शकहरु बढ्दोक्रममा रहेको र यो हिसाबमा हेर्न जाने हो भने तेस्रो हप्ताबाट फिल्मले पिकअप लिने तर तेस्रो हप्तामा पिकअप लियो भने पनि निर्माताहरु ३५% मात्र शेयर पाउने उनले बताए।

उनले सबै सोचविचार गरेरै निर्णय लिएको भन्दै अन्यको हकमा जे भए पनि दिमाग खराबको हकमा विदेशी फिल्मले पाएको शो बराबरै पाउनुपर्ने र हलमा फिल्म लागेसम्म ५०%-५०% प्रतिशत भयो भने मात्र हलमा फिल्म लगाउने नत्र बैकल्पिक माध्यममा गएर प्रदर्शन गर्ने उनले बताए।

हलमा फिल्म हेर्न दर्शकहरु आइरहँदा पनि शोहरु नपाउनु कहाँसम्मको न्याय हो भन्दै प्रश्न समेत गरेका छन्। उनले कसैसँग निहुँ खोज्न यस्तो निर्णय नगरिएको उनले बताए। 

२९ कात्तिक, २०८०, २३:३७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।