अचाक्ली महंगी बढेपछि ‘सय रूपैयाँको नियम’ले रोकेन नेपालीलाई, सुनौली बजार र भैरहवा भन्सारमा थामिनसक्नु भीड

अचाक्ली महंगी बढेपछि ‘सय रूपैयाँको नियम’ले रोकेन नेपालीलाई, सुनौली बजार र भैरहवा भन्सारमा थामिनसक्नु भीड

बुटवल : देशकै दोस्रो ठूलो भारतीय सीमा नाका बेलहियाबाट एक सयभन्दा बढी रूपैयाँको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम बनाएपछि सुनसान जस्तै बनेको सुनौली तिहारमा भने चम्केको छ।

भारतीय बजार सुनौलीमा किनमेल गर्न जाने नेपालीको संख्या ९० प्रतिशतसम्म घटेकोमा तिहारका लागि भने भन्सार तिरेरै भए पनि सामान ल्याउन नेपालीहरू सुनौली पुगेका हुन्।

सुनौली पुगेका नेपालीहरूले तिहारमा आवश्यक पर्ने तेल, मैदा, चिनी, ओखर, काजु, किसमिस, बदाम, भाइमसला, ओखर, लत्ताकपडा किनेका छन्।

सामान खरिद गरेर नेपालतर्फ ल्याउँदा सीमा क्षेत्रमा भन्सारका कर्मचारी, सशस्त्र प्रहरी र नेपाली प्रहरीले चेकजाँचमा कडाइ गरेका छन्।

भन्सार तिरेर भए पनि सामान लैजान नेपालीहरूको भन्सारमा भीड लागेको छ। यद्यपि भन्सार तिरेर पनि सहज रूपमा सामान लैजान नपाएको उनीहरूको गुनासो छ।

‘सामानको मूल्य तिर्छु भन्दा पनि छिटो तिर्ने अवस्था छैन,’ तिलोत्तमा जानकीनगरबाट किनमेलका लागि सुनौली पुगेर फर्किएकी मनिषा भुसालले भनिन्, ‘पैसा तिर्नका लागि नै समय बिताउनुपर्ने र झन्झटिलो छ।’

उनले सामानमा नेपाल लैजाँदा नियमअनुसार तिर्नुपर्ने भन्सारलाई सहज रूपमा तिर्नुपर्ने व्यवस्था मिलाउन सरोकारवालालाई आग्रहसेमत गरिन्।

दशैंको समयमा सुनौलीमा चलहपहल नबढेको होइन तर तिहारमा त्यो चहलपहल झन् बढेको छ।

नेपालमा चिनीको मूल्य अत्याधिक हुुनुका साथै सहज रूपमा नपाएपछि सर्वसाधारण चिनीसँगै अन्य आवश्यक तिहार सामग्रीका लागि सुनौली पुगेका हुन्।

अहिले नेपाली बजारमा चिनी प्रतिकेजी १२० देखि १६० रुपैयाँसम्म छ। तर सीमाको सुनौली बजारमा किलोको ६० रुपैयाँमा पाइन्छ।

त्यसमा पनि सरफ र चियापत्ती खरिद गरेमा उपभोक्ताले सोही चिनी प्रतिकिलो ४० रूपैयाँसम्ममा पाउँछन्। भन्सार तिरेर लैजाँदा पनि उक्त चिनी ७५ रूपैयाँ मात्र पर्न जान्छ।

नेपाली व्यापारीले ग्राहक आकर्षित गर्ने सस्तो बजार सञ्चाल नगर्दा नेपालीहरू सीमावर्ती सुनौली बजार पुगेका हुन्।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले तिहारमा नेपालीहरू सुनौलीमा बजार गर्न ओहिरिएको बताए।

भैरहवा भन्सारले गत जेठ १५ गते देखि १ सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम छ।

नेपाली बजारलाई चलायमान बनाउन सीमावर्ती बजारमा भन्सार नीति कडा गर्नुपर्ने आवाज व्यवसायीक संघ संस्थाले उठाउँदै आएका पनि उनीहरुले नेपालीहरुलाई नेपाली बजारमै किनमिलेका लागि प्रोत्साहन गर्ने नीति अवलम्बन भने गरेका छैनन् ।

बेलहिया नाका हुँदै सुनौली पुग्ने ९५ प्रतिशत ग्राहक नेपाली हुन्छन्। उनीहरूलाई रोक्न सक्ने हो भने नेपाली बजार सीमावर्ती सुनौलीभन्दा बढी चलायनमा हुने निश्चित छ।

तिहारको समयमा सुनौली बजारमा भीड बढेपछि यतिबेला त्यहाँका व्यापारी खुसी छन्। भन्सारको नीति कडाइपछि निराश बनेका उनीहरूले नेपालमा नाकाबन्दी गर्नुपर्नेसम्मको आवाज उठाएका थिए।

सुनौलीका व्यापारी अहजमान सेख, भन्सार नीतिको कडाइपछि तिहारमा मात्र सुनौलीमा चहलपहल बढेको बताउँछन्।

‘पहिले व्यापार शून्य जस्तै थियो। तर नेपालमा चाडपर्व सुरू भएपछि बजार गर्न आउने संख्या बढेको छ। व्यापार पनि केही वृद्धि भएको छ’, उनी भन्छन्।

२९ कात्तिक, २०८०, ०९:३२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।