फूलमा आत्मनिर्भर बन्दै लुम्बिनी

फूलमा आत्मनिर्भर बन्दै लुम्बिनी

बुटवल : कुनै समय थियो, तिहारमा रुपन्देहीका ठूला बजारमा भारतीय फूलबाट बनेका माला अत्यधिक आयात हुन्थे। प्रतिगोटा २ सय ५० रुपैयाँदेखि ४ सय रुपैयाँसम्ममा बुटवलका शहरमा बिक्री हुने गर्थे भारतीय फुलबाट बनेका माला।

तिहारको समयमा लाग्ने हाटबजारमा नेपाली फूलबाट बनेका माला पाउनु मुस्किल जस्तै थियो। पाल्पा, स्याङजाबाट आएका फूल र माला नगन्य हुन्थे। भारतीय फूलको प्रयोग गर्नुको विकल्प थिएन।

तर अहिले परिस्थिती बदलिएको छ। रुपन्देहीमा नभएर लुम्बिनी प्रदेशमै फूल खेतीमा आकर्षण बढिरहेको छ। अहिले लुम्बिनी प्रदेश फूलमा आत्मनिर्भर बन्दै गइरहेको छ। तर फूल छिटो फुल्ने र त्यसलाई शित भण्डारमा राख्न सकिएको छैन। केही शीत भण्डारमा राखिएको भएपनि ति पर्याप्त छैनन्।

अहिले जिल्ला-जिल्लामा फूल खेती गर्न थालिएको छ। अहिले यँहाका अधिकांशले फुल खेतीलाई व्यवसायका रुपमा अंगालेका छन्। विस्तारै बजार नेपाली फूलले ठाउँ ओगट्न थालेको छ। कृर्षकहरु आत्मनिर्भर त भइरहेका छन् नै देशभित्रको पैसा बाहिरिनबाट समेत रोकिन थालेको छ। 

पुष्प व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष रमेश पाण्डेले पछिल्लो समय लुम्बिनी प्रदेशमा व्यवसायीक फूल खेतीमा आकर्षण बढेको बताए।

‘पहिले घरको आँगन डिलमा लगाउँनेले पनि अहिले केही जग्गामा फूल खेती गर्न थालेका छन्। यसले स्वदेशी फूलको खपत बढाउने र भारतबाट आउने फूललाई रोक्न सहयोग गरेको छ। तर यत्तिले मात्र पुग्दैन। सरकारले फूललाई राख्न सक्ने शीत भण्डारको निर्माणमा ध्यान दिनुपर्छ’ उनले भने।

उनले नेपालीहरूले फूल खेती गर्न थालेपछि धेरै माग धानेको बताउँदै भारतीय फूल आयातमा कमि आउन थालेको बताए। 

‘किसानहरू फूल खेतीमा आकर्षण भएपनि यसलाई दिगो बनाउन तीन तहका सरकारले ध्यान दिनुपर्छ। फूलका माला तयार हुने तर बजारमा जान नसक्ने अवस्था भएमा किसानहरू निरूत्साहित हुन्छन्। त्यसैले स्थानीय सरकारले बजारीकरणको जिम्मा लिँदै मुल्य समायाेजनमा पनि ध्यान दिनुपर्छ’ उनले भने।

फूलखेतीमा युवाहरुको बढि आर्कषण

पछिल्लो समय छिटो समयमा उत्पादन हुने फूल खेतीमा आकर्षण युवाको आकर्षण बढ्दो छ। केही फार्म बाट त केहीले एकल लगानीमै फूल खेती गर्दै आएका छन्। 

रुपन्देही जिल्लामा अहिले व्यवसायीक फूल खेती गर्नेहरूमा युवा पुस्ताको बढि देख्छिन्।  बुटवल उप–महानगरपालिका वडा नं. १५ मा रहेको फोकस मल्टी एग्रो कन्र्सन एण्ड रिचर्स सेन्टरमा सञ्चालकसहित ओजेटिको लागि आएका कृषि पढ्दै गरेका विद्यार्थीहरूले अहिले व्यवसायीक फुलखेती गरिरहेका छन्।

उज्यालो पर्वको रुपमा परिचित तिहारलाई लक्षित गर्दै माला तयारमा उनीहरू लागेका छन्।

फार्मका म्यानेजिङ डाइरेक्टर राजेश कुँवरले फार्मबाट ४ हजार माला तयार हुने उनले बताए। १५ कट्ठा क्षेत्रफलमा अहिले व्यावसायिक सयपत्री र मखमली फूल खेती भइरहेको उनले बताए। 

कृषि अध्यायन पुरा गरेका तथा पढ्दै गरेका विद्यार्थीहरूले जग्गा भाडामा लिएर गरेको फुलखेती गरिरहेको उनको भनाई छ। फार्मले तयार गरिरहेका फूलका माला स्थानीय कृषि सहकारीले निर्माण गरेको कोल्ड चेम्बरमा भण्डारण गरेर राखेको छ।

‘२ लाख लगानीबाट फूल खेती सुरु गरेका हौँ। ८० हजारको फूलको माला बिक्री भएको छ।  आम्दानी पनि राम्रो हुने अपेक्षा गरेका छौँ’ उनले भने।

त्यस्तै अर्का विद्यार्थी सुभास खनालले पनि रुपन्देहीमा व्यवसायीक सयपत्री फूलको खेती गरेका छन् ।
अर्घाखाँचीमा रहेको एग्रो फोरेष्टी पोलिटेक्नीकल ईन्ष्च्यिुट मथुरा अर्घाखाँचीमा आईएससी एजी (डिप्लोमा) तह पुरा गरेका खनालले बुटवल तामनगरमा व्यवसायी सयपत्री खेती गरेका हुन।

अध्यायनकै क्रममा रहेका खनालले आफु जस्तै पढ्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्न फूल खेती गरेको बताए। २० हजारको लगानीमा उनले अहिले फूल खेती गरेका छन्।

त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ की कोपिला काफ्लेको नेतृत्वमा गठन भएको तिलोत्तमा मोडर्न फूल उत्पादक समूहले अहिले १० कट्ठा जग्गामा सयपत्री फूल खेती गरेको छ। २५ जना रहेको उक्त समूहले गरेको यो फूल खेतीबाट ५ हजार ५ सय माला तयार हुने अध्यक्ष काफ्लेले बताइन्।

तिलोत्तमा-२ मा पनि २ विघा क्षेत्रफलमा फूल खेती गरिएको छ। ईश्वरी भण्डारीले ग्रीनजोन एग्रोफर्म मार्फत २ विद्धामा फूलखेती गरेका हुन्। गत साल १० कट्ठा जग्गामा सयपत्री उत्पादन गरेका भण्डारीले अहिले २ बिघामा खेती गरेको बताए। 

गुल्मीका युवा प्रेम नेपालीले रेसुङ्गा नगरपालिका–६ र धुर्कोट गाउँपालिकामा ४ मा गरी एक सय २० रोपनी जग्गा लिजमा लिएर फूल तथा तरकारी खेती गरेका छन्। 

आरएनपी नवोदय बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर तरकारी खेती र फूल खेती गरेका उनले तिहारलाई लक्षित गरेर साढे २ लाख बराबरको फूलको माला तयार हुन थालेको बताए।

तिहार पर्वलाई मध्यनजर गरेर दुई वर्षदेखि सामान्य रुपमा फूल खेती गरेका नेपालीले यसवर्ष चार रोपनी क्षेत्रफलमा बिस्तार गरेका हुन। तर, उत्पादित फूललाई कसरी बजारीकरण गर्ने भन्ने चिन्ता रहेको उनीहरुलाई छ। 

लुम्बिनीमा २९ हेक्टरमा फूल खेती

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा फूल खेती गर्न सकिने विज्ञहरुले बताएका छन्। सबै जिल्लाको हावापानीमा सयपत्री, मखमली जस्ता फुलहरूको खेती गर्न सकिन उनीहरूको भनाई छ।

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयकी बागवानी विकास अधिकृत सुन्ना बरालीले अहिले प्रदेशका १२ जिल्लामा २९ हजार हेक्टर क्षेत्रफलमा फूल खेती भएको बताइन्।

‘प्रदेशलाई आवश्यक पर्ने ८५ प्रतिशत फूलका माला प्रदेशभित्रै तयार हुँदैछन्। यो क्रम विस्तारै बढ्दै छ। गत वर्ष ६५ प्रतिशत मात्र थियो। फूल खेती गर्नेहरू क्रमशः बढिरहेका छन्’ उनले भनिन्।

बिरुवा रोपेको तीन महिनामै उत्पादन लिन सकिने र वर्षमा तीन पटकसम्म खेती गर्न सकिने भएकाले किसानहरू फूल खेतीमा आकर्षित भएको उनले बताईन्। यता प्रदेश सरकारले फूलखेतीमा आकर्षण बढाउने विभिन्न तालिम, उपकरण सहयोग जस्ता कार्यक्रम अघि बढाएको छ। 

पुष्प व्यवसायलाई प्रबर्द्धन गर्न १२ वटै जिल्लामा कार्यक्रम सुरु भएको प्रदेशका कृषि व्यवसाय प्रवर्द्धन महाशाखा प्रमुख वरिष्ठ कृषि बाली संरक्षण अधिकृत घनश्याम चौधरीले बताए। उनले पुष्प खेती कसरी गर्ने भन्ने बारे तालिम, त्यसको भण्डारण, बजारिकरण र आवश्यक कृषि उपकरण प्रदान गर्ने काम भएको बताए।

पुष्प व्यवसायीलाई ढाडस दिँदै स्थानीय सरकार

प्लास्टिकका मालाको प्रयोगले वातावरण प्रदूषणका साथै किसानले उत्पादन गरेका तयारी फूलमाला बिक्री नहुने भएपछि स्थानीय तहहरूले प्लास्टिकको माला प्रतिबन्ध लगाइरहेका छन्। सरकारले समेत प्लाष्टिकको माला प्रयोग नगर्न सूचना नै जारी गरेको छ।

दाङका चार स्थानीय तहले प्लास्टिक मालालाई प्रतिबन्ध लगाउँदै प्राकृतिक फूल माला प्रयोग गर्न आग्रह गरेका छन्।

स्थानीयस्तरमै फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लास्टिकजन्य सामग्रीलाई निरूत्साहित गर्न तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले प्लास्टिकका फूलमाला प्रयोग नगर्न आग्रह गरेका छन्।

बिक्री वितरण गरे १ लाखसम्म जरिवाना

वन तथा वातावरण मन्त्रालयले यसअघि नै सूचना जारी गरी प्लास्टिक जन्य फूलमाला तथा अन्य सामग्रीहरू बिक्री वितरण गरेको पाइएमा १ लाख रूपैयाँसम्म जरिवाना हुने जनाइसकेको छ।

गत साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिक जन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाउने निर्णय गरेकाले प्लास्टिक जन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरिएको वातावरण विभागले जनाएको छ।

अनुगमनका क्रममा उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइए वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार सम्म जरिवाना हुने र विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना गरिने सूचनामा उल्लेख छ।

२५ कात्तिक, २०८०, १६:०२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।