रवि लगायतका नेताप्रति एमाले नेता ढकालको टिप्पणी- ‘लाज पचाएका मान्छे पसेर राजनीति नै लज्जित पारे’

रवि लगायतका नेताप्रति एमाले नेता ढकालको टिप्पणी- ‘लाज पचाएका मान्छे पसेर राजनीति नै लज्जित पारे’

रामेछाप : एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले लाज पचाएका मान्छे पसेर राजनीति नै लज्जित पारेको टिप्पणी गरेका छन्।

बुधबार एमालेको रामेछाप जिल्ला समितिले मन्थलीमा आयोजना गरेको जनसंगठनको संयुक्त बैठकमा बोल्दै ढकालले चारवटी श्रीमती ल्याउने मान्छे, चुनाव जित्ने बित्तिकै नागरिकता मुद्दामा सांसद् पद खोसिने मान्छे, अर्काको श्रीमान्सँग ६ वर्षदेखि लभ गरेर श्रीमान् खोसेर विवाह गर्ने मान्छेहरू अहिले आफूलाई राजनीतिमा अब्बल घोषणा गर्दै हिँडेको चर्चा गरे।

त्यस्ता मानिसहरू लाजै नमानी राजनीतिमा आएको देख्दा समाज नै लजाउनु पर्ने अवस्था आएको ढकालको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीनवटा विवाह गरेका थिए भने उनैको चुनाव जित्नेबित्तिकै नागरिकता मुद्दामा सांसद् पद खोसिएको थियो।

यस्तै ढकालले आफू काम नगरी अर्काको टाउकोमा दोष थोपर्ने प्रवृत्ति बढ्दै गएको बताएका छन्। त्यस्तो प्रवृत्तिले प्रगति गर्न नसक्ने उनको टिप्पणी छ।

कतिपय नेता कार्यकर्ताहरूको अभिव्यक्तिले नागरिकलाई भ्रमित गर्ने र पार्टीको काममा ऊर्जा घटाउने काम भइरहेको चर्चा गरे।

एमाले व्यक्तिप्रधान नभई नीतिप्रधान पार्टी भएको दाबी गर्दैं उनले भने, ‘मन नपराएकाले एमाले व्यक्तिप्रधान भयो भन्ने आरोप लगाउन सक्छन्, ती आरोप मात्र हुन्, एमाले स्पष्ट नीतिमा केन्द्रित भएर चल्ने पार्टी हो।’

एमालेभित्र सिद्धान्तको कुनै समस्या नभएको दाबी गर्दै उनले त्यसको व्यावहारिक प्रयोगमा भने अहिले पनि समस्या रहेको स्वीकारे।

कात्तिक २३, २०८० बिहीबार ०७:२६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।