चिकित्सकलाई ज्यान मार्ने धम्की दिएको भन्दै संघको ध्यानाकर्षण

चिकित्सकलाई ज्यान मार्ने धम्की दिएको भन्दै संघको ध्यानाकर्षण

काठमाडौं : नेपाल चिकित्सक संघले कात्तिक १८ गते पाटन अस्पतालको जेष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट, गालीगलौज र ज्यानमार्ने धम्की दिई अमानवीय क्रियाकलाप गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त आक्रोशित भएर चिकित्सकमाथि हातपात भएको विषयलाई लिएर संघले सोमबार संघले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो।

स्वास्थ्य सेवा जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने गरेका यस्ता अस्वाभाविक र निकृष्ट गतिविधिले समग्र स्वास्थ्य सेवा प्रवाहमा नै गम्भीर असर पर्ने संघको भनाइ छ।

त्यसैले सो घटनामा संलग्न दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन) बमोजिम कानूनी कारवाही गरी शान्तिपूर्ण र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण तयार गर्न संघ माग गरेको छ।

उपचारको क्रममा कुनै आशंका उत्पन्न भए सो सम्बन्धी कानूनी माध्यमबाट सत्यतथ्य छानबिन गरी कानूनबमोजिमको दण्ड सजायको भागिदार जोसुकै हुने कानूनी प्रावधान विपरीत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कुटपिट गर्ने, ज्यानै लिने प्रकारका अपराधजन्य गतिविधिमा संलग्न हुनु न्यायोचित नभएको संघले बताएको छ।

पाटन अस्पतालले समेत जेष्ठ नागरिकहरूको के कति कारणले मृत्यु भएको हो सो सम्बन्धमा सत्यतथ्य छानबिन गरी यथार्थ सार्वजनिक गर्न समेत संघले अनुरोध गरेको छ।

२० कात्तिक, २०८०, १८:४०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।