चिकित्सक रेजिनाको प्रसव पीडा र खुसी : होस् आएपछि यसो हेरेँ, सबै आमाको काखमा बच्चा, आफ्नो काख रित्तै
अर्थोडोन्टिस्ट रेजिना प्रधान दिनभर पिपुल्स डेन्टल कलेजमा व्यस्त हुन्छिन्। यहाँको एसोसियट प्रोफेसर रहेकी उनी बाँकी समय भने क्षेत्रपाटी नि : शुल्क चिकित्सालयमा 'भिजिटिंग' गर्छिन्।
बांगोटिंगो दाँत मिलाउने अनि हुर्किदै गरेका बालबालिकाको अनुहारको ग्रोथ मोडिफिकेसनमा सक्रिय छिन् उनी। पछिल्लो समय सबै उमेर समूहकाहरु उनकोमा आउँछन्। पछिल्लो समय आफ्नो दाँत मिलाउन आउने युवाको संख्या बढेको छ। यो भनेको दाँत र मुखको स्वास्थ्यमा चेतना बढ्नु पनि हो। उनी यसलाई सकारात्मक प्रभाव मान्छिन्।
सन् १९९४ मा भारतबाट यही विषयमा स्नातक गरेसँगै नेपालमा काम गर्न थालेकी उनी काठमाडौँको रैथाने हुन्। पढाइमा अब्बल रहिन्। आमाको इच्छा अनुसार 'डाक्टर' पनि बनिन्।
नेपालमा दन्त चिकित्सा त्यति आकर्षक मानिँदैनथ्यो। तर पढाइ सकेसँगै उनले काम पाउन धेरै झण्झट गर्नु परेन। उनी एक सन्तानकी आमा पनि हुन्। सन्तानले मेडिकल क्षेत्रमै रुचि राखेकाले उनी खुसी छिन्। उनै अर्थोडोन्टिस्ट रेजिनाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो प्रसवको पीडा र खुसी यसरी साटिन् :
000
मैले भारतमा पढाई सक्काउने बित्तिकै पाटन अस्पतालमा काम पाएँ। त्यहाँ धेरै विदेशी डाक्टरहरूसँग काम गर्न पाएँ। त्यसले पढेको सीप निखार्न सहयोग भयो।
सन् १९९६ मा मेरो मागी बिहे भयो। त्यसकै अर्को वर्षको अन्तिम तिर त मैले सन्तान जन्माएँ। त्यसबेला हस्पिटलमा काम गरेको धेरै काम लाग्यो।
अर्को विभागमा काम गरेको भए पनि त्यहाँ बच्चालाई आमाको दूध नै खुवाउनु पर्छ भन्ने कार्यक्रमहरू देखिरहेको थिएँ। आमा भएपछि त्यो मलाई पनि काम लाग्यो।
फिल्महरूमा पहिलो पटक गर्भवती हुँदाको प्रतिक्रिया एकदम खुसी भएको देखेको थिएँ। तर, म गर्भवती भएको थाहा पाएपछि कसले भन्ने होला भनेर लाज पो लाग्यो। पछि त मातृत्वको मीठो अनुभव हुनथाल्यो। लाज हरायो।
पहिला म आफ्नो काम आफै गर्थेँ। आत्मनिर्भर थिएँ आफ्नो काममा। तर, गर्भवती भएपछि श्रीमानसँग अलि निर्भर भएँ। पहिला जहाँ जाँदा पनि एक्लै जान्थेँ, गर्भवती हुँदा त्यो सम्भव भएन। हेरचाह पनि पाए। गर्भवती समयमा संगै हिँड्दा साथै हिँड्ने बानी लागेछ। अहिलेसम्म पनि कतै जानुपर्यो भने भने सकेसम्म सँगै जाऊँ भन्ने लाग्छ।
गर्भवती हुनुभन्दा अगाडि म दुब्ली थिएँ। तर, गर्भवतीको अवधिमा तौल अत्यधिक बढ्यो। ५० केजीको मान्छे ८० केजीको हुनु भनेको त अस्वाभाविक भयो नि। त्यसले धेरै अप्ठ्यारो पनि भयो।
कोल्टे फेर्न धेरै गाह्रो हुन्थ्यो। एक साइड मात्र फर्केर बस्दा पाखुरा खूब दुख्थ्यो। त्यतिबेला मैले आफ्नो बारेमा भन्दा पनि बच्चाको बारेमा सोचेँ। खानामा कुनै रोकतोक गरिन। त्यसले पनि मेरो धेरै तौल बढेको हुन सक्छ। गर्भ बसेको तीन महिनासम्म वाकवाक लाग्ने, मासु खान मन नलाग्ने, अझ सर्फको गन्ध त मनै नपर्ने भयो। सर्फको गन्ध आउँछ भनेर ट्वाइलेट पनि जान मन लाग्दैनथ्यो।
गर्भवतीको समयमा डोसा असाध्यै खान मन लाग्यो। मगाएरै खाएँ। गर्भवतीको समयमा खाएको खाना कसैमा आमामा धेरै जान्छ भन्ने रहेछ, कसैको बच्चाकोमा धेरै जान्छ भन्ने भन्ने रहेछ। तर, मेरो त बच्चा,आमा दुबैमा खाना पुगेछ।
सुरुको चरणमा बच्चाको तौल पनि बढ्ने रहेछ। अन्तिम महिनामा चैं त्यत्तिकै रहने रहेछ। त्यै भएर बाबु पाउँदा चार केजीको पो थियो!
बच्चा ११ हप्ताको हुँदा मलाइ 'फाइब्रोइड डाइगोस' भयो। त्यो भनेको एउटा ट्युमर रहेछ। केटीहरूको लागि साधारणै रहेछ। तर, मलाई थाहा थिएन। एकदम डर लाग्यो। हर्मोनले गर्दा जसरी बच्चा हुर्किन्छ, त्यो पनि सँगसँगै हुर्किने रहेछ।
त्यसको चापले गर्दा मलाइ एकदम दुख्न थाल्यो। फेरी पाटन अस्पतालमा एकदम काम हुन्थ्यो। ट्युमरले गर्दा धेरै बेड रेस्टनै गर्न परेको थियो। औषधी पनि खान पर्यो। त्यसले बच्चालाई केही असर गर्ला कि भनेर डर पनि लागिरहन्थ्यो। बाबु जन्मिनु भन्दा केही अघि रगत देखियो। अनि बच्चाको पोजिसन पनि मिलेन भन्ने जस्तो कुरा आयो। तौल बढी भएकै कारणले होला नर्मल डेलिभरी हुन सकेन।
पेट दुखिरहन्थ्यो नै। बच्चा पनि असाधारण होला कि भन्ने भइरह्यो। व्यथा लाग्नु भन्दा अगाडि नै सिजर गर्नुपर्यो। रगत देखिए पनि व्यथा नलागेको भएर लेबर रुममा लगेको थियो। त्यहाँको माहौल देखेर केही हुन्छ कि भनेर पठाउनु भएको रे। त्यहाँ त बेहाल थ्यो। सबै जना कोही रोइरहेको, कोही आफ्नो जिउँ माडिरहेका थिए।
डेन्टलमा काम गरिरहेको मैले लेभरमा त्यस्तो हुन्छ भन्ने थाहा थिएन। पहिलो पटक देखेको मैले। त्यहाँ चार,पाँच घण्टा बसेँ। तर केही नभएपछि सिजरनै गर्नुपर्यो।
फेरी जीए(जेनेरल एनेस्थेसिया) गर्न परेको थियो। नत्र सामान्यतया कम्मर भन्दा तल मात्र एनेस्थेसिया गरिन्थ्यो। तर, मोटो भएकाले मलाई स्पाइनल पनि दिन मिलेन। त्यै भएर पुरा बेहोस गर्न पर्यो।
होस् आए पछि सबै आमाको काखमा बच्चा थिए। अनि उनीहरूले खाना पनि खाइरहेका थिए। जेरी खाइरहेको देखेँ मैले। मलाई बच्चा दिएको थिएन।
उनीहरूले खाएको देखेर मलाई पनि खाना खान मन लाग्यो। तर २४ घण्टासम्म खान हुँदैन भनेर दिएनन्। आफूलाई चैं कस्तो खान मन लागेको थियो।
मेरो पहिलो प्रश्न नै ‘बच्चा कस्तो छ ?’ भन्ने भयो। किन भने हाम्रोमा धेरै 'क्लेफ्ट पेसेन्ट'(ओठ फाटेका) हरू आउने गरेका थिए। मेरो बच्चा पनि त्यस्तै होला कि भनेर डर लागिराख्यो। ट्युमरको औषधि पनि खाइरहेको थिएँ। त्यसले बच्चामा असर गर्यो कि भनेर पनि डर लाग्यो।
साँझतिर बाबु हातमा दिए। खाना पनि दिए। सबै जना भेट्न आउनु भयो। पहिलो पटक बाबु समात्दा त तौल धेरै भएर होला मज्जाले समात्न पाएँ। ढक्क परेको, एकदम हँसिलो।
मलाई पहिलो पटक बाबु समात्दा केके न पाएको जस्तो भयो। मेरो तौल पनि १०/११ केजी घटिसकेको थियो। तर आफ्नै पुरानो तौलमा आइपुग्न भने दुई वर्ष लाग्यो।
डेलिभरी त सामान्य नै भयो तर स्तनपानमा समस्या भयो। मलाई बच्चालाई दूध खुवाउन मन लाग्ने। तर मेरो त दूधै नआउने। पाटन अस्पतालमा बच्चालाई बोतलबाट दुख खुवाउन दिँदैनन्। चम्चामा राखेर खुवाउनु भने। चम्चाबाट कति नै खुवाउन सकिन्छ र! त्यसमा पनि बोतलमा दूध खुवाउने बानीपर्यो भने पछि बच्चाले आमाको दुख खान मान्दैन। त्यसैले पनि बरु चम्चा नै प्रभावकारी हुन्छ यस्तोमा।
आफ्नो दूध खुवाउन नपाएपछि बाबु त सानो सानो, दुब्लाउँदै गएको जस्तो पो देखियो। दूध राम्रोसँग खान नपाएर बाबुको ओठ सुकेको थियो। सबैले बोतलको खुवाउ भनेर कराउनु पनि हुन्थ्यो। म चैं नमानेर चम्चाले नै खुवाउँथे।
चार महिनापछि त बच्चालाई लिटो खुवाउन हुन्छ। अनि मैले पनि लिटो खुवाएको थिएँ।
बिहे गरेको केही समय ग्याप गरेर बच्चा पाएको होइन। लगत्तै हो। घरमा त्यतिसारो भिज्न पाएको पनि थिइन। अनि १५ दिन पछि माइत गएँ। त्यहाँ बरु अलि सहज महसुस भयो। खानपान त्यही अनुसार भयो। अनि दूध पनि मज्जाले आउन थाल्यो।
स्तनपान गराउन काखमा राख्दा मात्र पनि बच्चा कस्तो शान्त देखिने। दुई वर्षसम्म मैले निरन्तर स्तनपान गराएँ। बाहिरको दूध नखुवाएपछि खर्च पनि धेरै भएन। बच्चा पनि स्वस्थ भयो। म आफै पनि स्वस्थ भएँ।
डेलिभरीको समयमा आर्थिक पक्ष पनि हेर्नुपर्छ। पाटन अस्पतालमा बिमा पनि गरेको कारण खर्च पनि भएन।
दूध खुवाएपछि महिलाहरू नराम्रो हुन्छ भन्ने सोच गलत हो। स्तनपानपछि मेरो तौल सन्तुलनमा आयो। बच्चालाई पनि पोषण पुग्यो। बिरामी हुँदा पनि बच्चालाई न्यानो पारेर राख्न सकियो। बच्चासँगको सम्बन्धमा बढी आत्मीय भयो।
तेल घस्न खासै मन लाग्दैनथ्यो। तर, ममीले जबर्जस्ती तेल लगाउने दिदी राखिदिनुभयो। ४५ दिन सम्म त मैले मज्जाले आराम गरेँ। अनि मात्र काममा जान थालेँ। काममा जाँदा पनि ममीले बिहानै तेल लगाएर मात्र पठाउनुहुन्थ्यो।
सुत्केरी स्याहार एकदम राम्रो भयो मेरो। सुत्केरी स्याहार भनेको महिलाहरूको लागि एकदम भव्य समय रहेछ। हरेक महिलाले यो बेला रमाउन पाउनु पर्छ।
बाबुलाई मज्जाले समय दिएर हुर्काएँ भन्ने लाग्थ्यो। उसलाई कहिले पनि गाली गरिन। साथी जस्तै भयौँ। अहिले पनि उसले हामीसँग धेरै कुरा सेयर गर्छ। हामी पनि उसलाई कुनै कुरा लुकाउँदैनौ। तर, यी सब हुँदाहुँदै पनि उसले बच्चामा मेरो कमी महसुस चैं गरिराखेको रहेछ। पुरै समय दिएँ भनेको त्यस्तो चैं होइन रहेछ।
हाम्रो ठुलो परिवारमा उ सबैसँग खेलीखेली हुर्क्यो। हुर्काउन मैले मात्र मिहिनेत गर्नु परेन। बच्चा हुर्काउन खासै गाह्रो भएन। उ पनि सानोदेखि अलि परिपक्व जस्तो लाग्ने। उसको कुनै पनि खेलौनाहरू बिग्रिएन।
आमा भनेको एकदम सुरक्षात्मक हुन्छन् भन्छन्। केही भयो भने पहिला बच्चा खोज्छन् रे। तर, भूकम्प गएको समयमा त म भन्दा उ पो बढी सुरक्षात्मक देखियो। उसले मलाई सुरक्षा दिएर बसेको थियो। त्यो त कहिले पनि बिर्सन नसक्ने क्षण!
४० वर्षको उमेरमा मैले मास्टर्स जोइन गरे। त्यसबेला मैले उसलाई अलि समय दिन नसकेकै हो। धेरै पढ्न पर्थ्यो। राति पनि पढिराखेको हुन्थेँ। सायद उसले त्यही बेलामा अलि एक्लो महसुस गरेको हुनसक्छ।
उ सधैं खेलेको देख्थेँ। अनि म चैं उ रमाइरहेको छ भनेर बसेँ। तर म घरमै भए पनि उसले मलाई खोजिरहेको हुने रहेछ। बच्चा रोयो कि भोक लागेर होला भन्नेमै हामी सीमित हुने रहेछौँ। तर नजिकै बस्ने अनि अझ बढी भावनात्मक साथ दिनु पर्ने रहेछ। त्यो पछि महसुस भयो मलाई।
अब मेरो नातिनातिना भयो भने म त्यसमा ध्यान दिन्छु।
प्रसव पीडाका यसअघिका सामग्री
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
कात्तिक १९, २०८० आइतबार १९:५९:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।