कलाकार डोमाको प्रसव पीडा र खुसी : बच्चा छिटो जन्मियोस् भनेर माथिबाट हाम फालेँ, पछि अप्रेसनै गर्नुपर्यो
स-सानो रोलमा पनि अत्यधिक रुचाइएको कलाकार हुन् डोमा ह्योल्मो। उनी गायनमा पनि चर्चित छिन्। आफ्नो मौलिक शब्दसहित शेर्पा लवजमा गाउने उनको २० वर्ष अघि रेकर्ड गरिएको 'कालो चस्मा लाउ भन्छ, पिरती लगाउन औँ भन्छ' बोलको गीत पछिल्लो समय भाइरलै भयो। उनी युवा पुस्ताको समेत मन पर्ने गायिका भइन्।
सय भन्दा बढी गीत र अधिकांश टेलीश्रृंखलामा अभिनय गरेकी छिन् उनले। सन् १९९१ मा प्रदर्शन भएको 'देउता' फिल्ममा अभिनय गरेकी उनले छक्कापन्जाको सिरिज, दालभात तरकारी, लक्का जवान, लगायतका अधिकांश फिल्ममा अभिनय गरिन्। उनी अहिले पनि सामाजिक सञ्जालमा बढी व्यस्त छिन्।
कलाकार डोमा चार सन्तानकी आमा हुन्। नौ वर्षको उमेरमा काठमाडौँ आएर गलैँचा बुनेर आत्मनिर्भर हुन थालेकी उनीसँग उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीसँग यसरी आफ्नो अनुभव साटिन् :
०००
मेरो १६ वर्षकै उमेरमा बिहे भयो। १७ वर्ष ६ महिनामा त मैले पहिलो सन्तान जन्माएँ। काठमाडौँमा गलैँचा बुन्दै थिएँ। म भारतको हिमाञ्चल प्रदेशमा पनि काम गर्न गएँ। अहिले जस्तो समय थिएन। लभ गर्ने भन्ने त कुरै थिएन। एकदम गरिबीमा बितेको जिन्दगी। म्यानेजरले बिहे गरौँ भने। काम नपाइएला कि भन्ने डरले 'हुन्छ' भनेँ।
हामीलाई एक अर्काको बारेमा केही थाहा थिएन। हामीले उतै विवाह गर्यौँ। अलिकति पैसा कमाएपछि घर फर्क्यौँ। अनि गाउँमा बस्न थाल्यौँ। उमेर सानै थियो। खेतीपाती गर्न जानेको थिइन।
उसको गाउँ पनि देखेको थिइन मैले। बिहेपछि गाउँ फर्किदा त उ कता कता घुमेर काम गर्दै हिँड्ने रहेछ।
अनि म एक्लै भएँ। घाँस काट्न आउँदैनथ्यो। त्यो गाउँमा खानेकुराको पनि अभाव रहेछ। हाम्रो गाउँमा चैँ गरिब भए पनि खाना त मज्जाले पुग्ने थियो।
त्यता घर सम्हाल्नै एकदम गाह्रो भयो। श्रीमान् त छोरा जन्मिएको तीन महिनापछि पो भेटेको। त्यो पनि खोज्ने पठाएर।
नन्द, आमाजू पनि कोही थिएनन्। घरमा बुढी सासू थिइन्। उनी पनि दाइको घरमा बस्ने। म एक्लै।
गर्भवती भएको नौ महिनासम्म त मलाई केही पनि भएन। काम टन्नै हुन्थ्यो। गर्भवती हुँदा यस्तो गर्नुपर्छ, यस्तो खानुपर्छ भन्ने नै भएन।
धेरै हिँड्दा त थकाई लाग्थ्यो नि। तर, के गर्नु! काम गर्नै पर्यो। हाम्रो आनी(माइजू/फुपू)को घरमा कस्तो राम्रो काँक्रो फल्थ्यो। गर्भवती हुँदा खुब खान मन लागेको थियो। तर माग्न सक्दिनथेँ। उहाँहरूको घरमा चामल उम्लेको देख्दा हेरेर बस्नुपर्थ्यो। घरमा सधैँ एक्लै, स्याल कराउँथ्यो। डर लागेर भोकै टाउको छोपेर सुतेर बस्थेँ।
तीन वटा नानी पाउने समयसम्म खाना राम्रो थिएन। कसरी पाएँ भनेर सम्झ्यो भने आफैलाई विश्वास लाग्दैन।
घरमा एक्लै थिएँ। राती एक बजेतिर पेट दुख्न थाल्यो। ती दिनहरू सम्झिँदा अहिले पनि मन दुख्छ। प्रसव व्यथा लाग्दा यति दुख्यो कि समात्न समेत केही सामान थिएन। सहनै नसकेपछि समात्ने ठाउँ खोज्दै पिठो राखेको बोराहरू तान्न पुगेछु।
आमा अर्कै घरमा। अब कराऊँ भनेर कसरी कराउने! बोलाऊँ भने कसरी बोलाउने! अति नै भएपछि झ्यालमा गएर चिच्याउँदै आमालाई बोलाएँ।
अब कताको अस्पताल। आमा आएपछि बिहान घरमै छोरा जन्मियो।
बच्चा जन्मिएको ५-६ घण्टा पछि नै उठेर दूध दुहुन गएँ। त्यहाँबाट एक जना मान्छेलाई मेरो श्रीमान् खोज्न पठाएँ। उ त छिमी भन्ने ठाउँमा तेल किन्न आएको रहेछ।
सात महिनाको गर्भवती श्रीमती छोडेर गएको, कहिले कता, कहिले कता गर्दै बच्चा पाएको तीन महिनापछि मात्रै घरमा आयो।
त्यसबेला कुखुरा भगवानको नाममा राख्ने चलन थियो। सुत्केरी भएको बेलामा एउटा खान पाइयो। भात पनि खाएँ। मात त कति दिनपछि खान पाएको।
श्रीमान् आएको भोलिपल्टै गयो। आउँदै आएन नि। सुत्केरीमा तेल लगाउनुपर्छ, मालिस गर्नुपर्छ भन्ने त केही थाहा नै भएन। सुप भनेको के हो ? खोले भनेको के हो? के थाहा। त्यो बेला ढिँडो मात्र खाएँ।
यता घरमा मेरो बाले मेरो आमालाई कस्तो माया गरेर राखेको देखेको थिएँ। तर मलाई त्यस्तो भएन। छोरा पायो अनि श्रीमान् गायब।
अति भएपछि माइत जान्छु भनेर गएँ। माइती गएपछि बाले कुखुराको सुप बनाएर खुवाउनुभयो। स्याहार पनि भयो। तर अब सधैँ माइतीमा बसौँ भन्ने कुरा भएन। उता घरमा खेतीपाती गरेर बस्न सक्ने अवस्था पनि थिएन।
अनि आठ महिना फुपूकोमा बसेँ। पछि त बाबु बिरामी भयो। उ बिरामी भए पछि फुपूले 'मान्छेको बच्चालाई केही भयो भने भोली हामीलाई दोष हुन्छ' भन्नुभयो।
ल्होछार पनि आइसकेको थियो। अरूको घरमा चिउरा कुट्ने, पिठो बनाउने छ्याङ्ग, रक्सी पार्न थाले। मेरो त केही थिएन, कोही पनि थिएन।
एक्लै यसरी कति दिन बस्ने! श्रीमान् कता हो कता। पहिला पनि काठमाडौँमा एक्लै गलैँचा बुनेर खाएकै हो। अब पनि सक्छु भन्ने लाग्यो।
छिमेकीसँग ४० रुपैयाँ सापटी मागेँ अनि डोकोमा तल साग माथि छोरा राखेर तीन दिन हिँडेरै हेलम्बुबाट काठमाडौँ आएँ।
त्यो बेलामा दुइटा चोलो, जाली चप्पल मात्र लगाएर हेलम्बुदेखि हिँडेरै आएको म। बाटोमा सानो बच्चा भोक लागेर रुन्थ्यो। के खान दिनु! केही थिएन। मैले पनि केही खाएको भए पो दुख आउनु। अनि बच्चासँगै रुँदै दूध चुसाउँथे। रुँदै-रुँदै हिँड्दै आएँ।
अब आफ्नै कोठा लिन पैसा थिएन। यता आफन्त थिए। पहिलो दिन उनीहरुकैमा गएँ। आफन्तकोमा जाँदा बच्चा बोकेको, गन्हाउने भनेर ढोका छेउमा सुत्ने ठाउँ बनाइदिए। त्यही सुतेँ।
'बुढा बौद्धमा छ रे !'भन्ने सुनेपछि बिहानै खोज्न बौद्धमै कोरा गर्न आएँ।
पक्कै भेट्छ होला भन्ने लाग्यो। डोको र बच्चा बोकेर बसिराखेँ। उ त हिरो बनेर बसेको रहेछ। सिधै आएर बच्चा उठाएर लग्यो।
त्यति लामो समय पछि भेट भएको, बुडी आऊ भन्न पर्छ नि! उ त बच्चा बोकेर कता गयो कता।
अब कता जानु म! केही थाहा थिएन। त्यतै बसिराखेँ। पछि फर्किएर आएर किन नआएको भनेर पो करायो। हाम्रो लागि डेरा लियो। तर पछि कता कता गइराख्थ्यो।
अब यसरी बसेर हुँदैन भनेर फेरी तान मागेर गलैँचा बुन्न सुरु गरेँ। बच्चा न हो। कहिले चकचक गर्छ, कहिले फोहोर गर्छ। बच्चालाई कम्मरमा डोरीले बाँधेर काम गर्थेँ। चार वर्षपछि फेरि छोरी पाएँ।
छोरी पाउँदा पनि रातको एक बजेसम्म गलैँचा बुनेर बसेको थिएँ। हाम्रोमा पाहुना पनि धेरै आउने चलन छ। सबलाई रारा चाउचाउ बनाएर खुवाउँथेँ। गर्भवती छु भन्नै नपाउने।
त्यो बेलामा श्रीमान् भारत गएको थियो। एक जना साथीले थापाथली हस्पिटल चिनाएको थियो। छोरी पाउने समयमा त्यहाँ आफै गएर भर्ना भएँ अनि जन्माएर आफैँले बोकेर कोठामा आएँ।
डेरामा आएपछि फेरी गलैँचा बुन्न थालेँ। अहिले पो के पायो, कस्तो भयो भनेर सोध्ने रहेछन्। त्यतिबेला त बच्चा भनेको जसले पनि पाउँछन् भन्ने लाग्थ्यो। झन् हस्पिटलमा त बच्चैबच्चा देखेपछि कस्तो कस्तो लाग्यो।
बच्चा नजन्माउन के गर्नुपर्छ भन्ने थाहै भएन। गर्भ बस्न नदिने औषधी हुन्छ भन्ने के थाहा र!
अर्को चार वर्ष पछि तेस्रो सन्तान छोरी पाएँ। तेस्रो सन्तान भएपछि भने अलि राम्रोसँग खाना खान पाएँ। तर, सुत्केरी स्याहार भन्ने चैँ भएन।
तीन जना सन्तान। सबैलाई एक्लैले हेर्न पर्ने, खुवाउन पर्ने, सरसफाइ गर्न पर्ने। कमाउनु पर्ने। जिम्मेवारी बढ्दै गयो। आफ्नोबारे त कहिल्यै सोच्नै पाइएन।
दुई वर्ष पछि फेरी पेटमा बच्चा बसेछ। कान्छी छोरी पाउँदा त मैले कारखानानै राखिसकेको थिएँ। अलिअलि कमाउन पनि थालिसकेको थिएँ।
दलाई लामाको जन्मदिनमा पेट चिरेर मैले कान्छी छोरी पाएँ। अरू सबै त नर्मल नै पाएको थिएँ। पेट ठुलो, उमेर सानो। ३० वर्ष नपुग्दै चार सन्तानको आमा हुन लाग्दै थिएँ। त्यसमाथि बच्चा छिटो जन्मियोस् भनेर माथिबाट हाम फालेँ। बच्चाको खुट्टै अड्किएछ। अनि त अप्रेसनै गर्नपर्यो।
स्याहार भनेर नभए पनि कान्छी छोरीको पालोमा राम्रो खाना खान पाएँ। तेल मालिस गर्ने, आफ्नो स्याहार गर्ने भन्ने त सोचै आएन। आफू गर्न नसक्ने, गरिदिने कोही थिएनन्।
सुत्केरीको बेलामा राम्रो स्याहार चाहिने रहेछ।
तर मैले स्याहार पाइन। अनि त सुत्केरीमा ज्यान बिग्रियो। त्यसैको प्रभावले अहिले पनि धेरै बल लाग्ने काम गर्न सक्दिन। कम्मर दुख्छ, पेट दुख्छ, गोडा दुख्छ।
अप्रेसन गरेपछि त खोक्न पनि नहुने, पिसाब फेर्न गाह्रो हुने। अहिले त झन् मोटी पनि भएँ। त्यो पेट चिर्दा सिलाएको घाउमा आफ्नै पेटको मासुले छोपेर पसिना आयो भने बेस्कन चिलाउँछ अहिले पनि।
कान्छी छोरी पाएको बेलामा अलिअलि कमाउने भइसकेको थिएँ। कमाउने भएपछि त आफन्तहरू पनि अण्डा लिएर भेट्न आउन थाले।
तर पहिलो सुत्केरी बिग्रेपछि नै महिलाको शरीर कमजोर हुन्छ रे। मेरो सुत्केरी बिग्री सकेको थियो। पछि सुधार्छु भनेर हुन्न रैछ। कति खर्च गरेर उपचार गरेँ। तर अहिले पनि कम्मर एकदम दुख्छ। गर्भवती हुँदा खाएको खानाले हाम्रो स्वास्थ्यमा धेरै फरक पार्ने रहेछ नि! अहिले पो थाहा हुँदै छ। अहिले थाहा भएर के काम। त्यसबेला भन्ने अनि खुवाउने मान्छे कोही भएन।
लोग्नेले यति धेरै दुख दिँदा पनि पहिलो जन्ममा पाप गरेछु भनेर सहेर बसेँ। त्यो बेलामा खानै पाइएन। अहिले त बसी बसी खान पाएको छु। त्यसैमा खुसी छु।
श्रीमान् नाम मात्रको भएपछि ३६ वर्षको उमेरमा डिभोर्स भयो। सबै सन्तानलाई मैले नै स्याहारेँ। हुर्काएँ। बच्चाहरू हुर्किँदै थिए। कलेज पढाउन नसक्ने हो कि भन्ने चिन्ता लाग्थ्यो। तर, मैले राम्रैसँग पढाउन सकेँ।
चार वटा बच्चा अनि आफैलाई पनि हेर्नुपर्यो। कसरी हेर्यो-हेर्यो। बच्चा हुर्काएको त थाहा नै पाएन।
मेरो आमाले त झन् ११ जना बच्चा जन्माएको। कुखुराले अण्डा पारेको भन्दा सजिलो गरेर बच्चा पाएको देखेँ। म त आलु खन्न जाँदा जन्मिएर पोको पारेर ल्याएको रे!
यताउता गरेर फिल्म बनाउनेहरूसँग चिनजान भयो। रहर लाग्यो। 'देउता' फिल्म खेल्दा मेरो दुई जना बच्चा भइसकेको थियो। शुटिंगमा जाँदा डाइरेक्टरसँग बसेर मात्र खेल्न दिन्छ भन्थ्यो। हामी जस्तो गाउँबाट आएको, बच्चाको आमालाई कसले त्यस्तो नराम्रो गर्ला र!
तै पनि श्रीमान् र समाजको डरले शुटिंगमा बच्चाहरू साथमै लिएर जान्थेँ। अनि शुटिंगपछि फेरी गलैँचा बुन्न थाल्थेँ।
अहिले त चारै जना हुर्किसके। दुई जनाको त बिहे पनि भइसक्यो। दुई जना छोरीको बिहे हुन बाँकी छ। श्रीमानसँग अलग भए पनि छोरीहरूले बाउलाई साथ दिइरहेका छन्।
डिभोर्स भए उसले अर्को बिहे गरिसक्यो। मलाई पनि बिहेको धेरै प्रस्ताव आएको थियो। १६ वर्षको उमेरमा बिहे गरेको त राम्रो भएन अब बुढेसकालमा बच्चाको आमा भएपछि कसरी मिलेर बस्न सकुँला भन्ने लागेर बिहे गरिन।
धेरैले डोमा दिदीको त केटा होला भन्ने रहेछन्। तर, म किन केटा बनाउँथे र! फेरी अर्को बिहे गरेर बस्नु भन्दा बरु आफ्नो बच्चा हेरेर जिन्दगी बिताउन सकिहाल्छ।
एउटा महिला बलियो, सक्षम हुन पुरुषको साथ भए राम्रो तर, पुरुष हुनुपर्छ भन्ने चैँ छैन। आफू सक्षम हुन कसैको पनि आसमा बस्नु हुँदैन रहेछ।
अब केही गरेर देखाउँछु भन्ने भयो। इख पनि पलायो। देश, विदेश घुमेँ। आफ्नो गीत आफैले गाएँ। लेख्न जानेको छैन। गाउँदा गाउँदै याद गरेर रेकर्ड गर्छु।
'कालो चस्मा लाऊ भन्छ' भन्ने गीत त खाजा खाने समयमा बनाएको हो। सबैले मन पराएकै छन्।
बच्चा हुर्काउन धेरै रोएँ। पढाउन नसक्ने हो कि भनेर रोएँ। हुर्की सकेपछि उनीहरूको जोडी कस्तो हुने होला भनेर पिर लाग्ने रहेछ।
बिहे भएको दुई जनाले राम्रो जोडी पाइसकेको छ। ठुलो छोरा र उसको परिवार क्यानडामा छन्। छोरी पढ्दै छ। बाँकी दुई जनाको कस्तो जोडी हुने होला भनेर चिन्ता लागिरहन्छ। आमा भनेकै यही रहेछ।
सन्तान जति ठुलो भए पनि उनीहरूबारे चिन्ता लागिरहने। बेलाबेला सोच्दा बरु बिहे नै नगरेर, बच्चा नजन्माएर आनी (भिक्षु) भएर बस्नु पर्ने रहेछ भन्ने जस्तो पनि लाग्छ।
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
कात्तिक १२, २०८० आइतबार २१:१०:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।