‘दशैं मनाएर फर्कियौँ कर्मथलो’ (फोटो फिचर)

‘दशैं मनाएर फर्कियौँ कर्मथलो’ (फोटो फिचर)

बुटवल : दशैं मनाउन गाउँ गएका सर्वसाधारणहरू धमाधम सहर फर्कन थालेका छन्। मान्यजनको हातबाट टीका र आशीर्वाद थाप्न सर्वसाधारणहरू पुर्ख्यौली गाउँघर तिर गएपछि सुनसान बनेको बुटवल बजारमा दशैं सएिकसँगै चहलपहल सुरु भएको छ।

दशैंको बेला सुनसान जस्तै बनेको बुटवल बसपार्कमा बुटवल भित्रिनेको बाक्लो उपस्थिति देखिएको छ। सर्वसाधारण आ-आफ्नो गन्तव्यमा पुग्न आतुर गर्दै सवारी साधनको टिकट लिनमा व्यस्त थिए। 

बसपार्कका कर्मचारीहरू पनि यात्रुलाई टिकट वितरण गर्नमा व्यस्त देखिन्थे। आजदेखि सरकारी कार्यालय देखि सबै क्षेत्रका कार्यालय संचालनमा आउने भएपछि कार्यरत कर्मचारीहरू कार्यक्षेत्रमा पुगीसक्ने हतारमा देखिन्थे।

दशैं अगाडी ग्रामिण क्षेत्रमा जानेहरुको भिड देखिन्थ्यो भने अबका केही दिन ग्रामीण क्षेत्र तथा पहाडी जिल्लाबाट तराईका जिल्लामा आउनेहरूको भिड हुने गर्दछ। 

दशैमा टिका थाप्न बाहिरिएकाहरु फर्किन थालेसँगै बुटवलमा सवारी साधनहरु गुड्न थालेका छन्। 

विशेष गरी यस क्षेत्रका पहाडी जिल्लाहरू गुल्मी, अर्घाखांची, पाल्पा, प्यूठान, रोल्पा, दाङ, पर्वत, बाग्लुङ लगायतका जिल्लाहरूबाट सर्वसाधारण बुटवल आउने क्रम केही दिन जारी रहन्छ।

 

यस्तै दशैंका कारण बन्द जस्तै रहेका बुटवल र आसपास क्षेत्रका पसलहरु पनि खुलेका छन्। ठूला व्यापारिक प्रतिष्ठान तथा लत्ताकपडा, कस्मेटिक, भाडा पसल खासै नखुलेपनि दैनिक उपभोग्य वस्तुका पसल, चिया तथा तरकारी र फलफूलका पसलहरू आजदेखि खुल्न थालेका छन्।

बजारका पसलहरु खुल्न थालेपछि सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ।  फुलपातिदेखि कोजाग्रत पूर्णिमासम्म बुटवल पुरै सुनसान जस्तै बनेको थियो। 

बजार खुलेपछि सर्वसाधारण दैनिक उपभोग्य सामानको विक्री वितरण र किनमेलमा लाग्न थालेका छन्। सर्वसाधारणको चहलपहल बढेपछि तीन/चार दिनसम्म शुन्य रहेको व्यवसाय आजदेखि बढेको व्यवसायी नारायण गौतमले बताए।

दशैंका कारण केही दिन यतादेखि सुनसान रहेको बुटवलको नयां वसपार्क, अस्पताल लाइन, नेपालगञ्जरोड, पुरानो बसपार्क, वीपी चोक, ट्राफिक चोक, हाडबजार, गोल पार्क, राजमार्ग चौराहा, योगीकुटी लगायतका ठाउंहरुमा चहलपहल बढेको छ।

तर, दशैं र तिहारको लामो विदा भएका स्कुल ,क्याम्पसमा अध्ययन अध्यापन गराउने शिक्षक तथा विद्यार्थीहरू फर्किएका छैनन्। 

फोटो फिचर :

१२ कात्तिक, २०८०, ०९:२०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।