नेताले क्विन्टलका क्विन्टल सुन ल्याउन द्वन्द्व पीडितले आफन्त गुमाएका थिएनन् : रवि लामिछाने

नेताले क्विन्टलका क्विन्टल सुन ल्याउन द्वन्द्व पीडितले आफन्त गुमाएका थिएनन् : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले टाउकाको मोल तोक्ने र मोल बुझाउनेहरू पटक-पटक सत्तामा बस्दा पनि संक्रमणकालीन न्यायको नाममा द्वन्द्व पीडितलाई थप पीडा दिने काम भइरहेको बताएका छन्।

ललितपुरको मंगलबजारमा शनिबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा सभापति लामिछानेले राष्ट्र संघका महासचिव आउने बेलामा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तालाई लक्षित गर्दै व्यङ्ग्य गरे।

सभापति लामिछानेले द्वन्द्वपीडितहरु देश बन्ने र न्याय पाउने पर्खाइमा बस्दा हिजो टाउकोको मोल तोक्ने र मतपत्रका माध्यमबाट वेथिति ल्याउनेले अहिले संक्रमणकालीन न्यायलाई पटक पटक सत्तामा बस्दा पनि टुंगोमा नपुर्याएको भन्दै प्रश्न गरे।

लामिछानेले भने, ‘संक्रमकालीन न्याय निरुपणको नाममा अहिले फेरि नेताहरूका भेटघाट बढेको छ। अझ राष्ट्र संघका महासचिव आउनुभन्दा अघि नै संक्रमणकालीन न्याय निरुपण गरिसक्ने रे भन्ने सुनिन्छ। हिजो टाउकाको मोल तोक्ने र बुझाउनेहरू त अहिले सरकारमा टाउकै जोडेर सरकारमा बसेका छन्। अहिलेसम्म कसले रोक्यो त?’

लामिछानेले सुनौलो भविष्य र परिवर्तनको सपना देखाएर जनयुद्धमा हजारौं नागरिकलाई शहीद बनाउने माओवादीको सुनौलो सपना भनेको आफ्ना छोराहरूलाई सुन तस्करी गरेर सुनौलो बनाउने मात्र देखिएको बताए।

उनले भने, ‘परिवर्तनको लागि हिजो कैयौं युवाले शरीरमा गोली थापे। कति महिलाको सिउँदो उजाडियो, कयौँ टुहुरा, घरबार विहीन र विस्थापि, वेपत्ता भए। ती सबैले गोली थापेको, आफन्त गुमाएको सिन्दुर पुछेको, घरबार विहीन भएको आजका नेताहरूलाई क्विन्टलका क्विन्टल सुन ल्याएर तस्करको नाइके भएर घर ठड्याउनको लागि होइन, देश बनाउनको लागि थियो।’

कात्तिक ११, २०८० शनिबार १२:०५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।