जेल परेको सर्टिफिकेट देखाएर घरमा आगो लगाउन दिँदैनौं : रवि लामिछाने

जेल परेको सर्टिफिकेट देखाएर घरमा आगो लगाउन दिँदैनौं : रवि लामिछाने
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेल परेको सर्टिफिकेट देखाएर मिटर ब्याज खाने छुट कसैलाई नभएको बताएका छन्।

ललितपुरको मंगलबजारमा दशैं तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सभापति लामिछानेले जेल परेको भन्दैमा ब्याजको स्याज, स्याजको मिटर ब्याज खाने छुट कसैलाई नभएको बताएका हुन्।

‘व्यवस्थाको आडमा जेलनेल परेको सर्टिफिकेट देखाएर त्यसको ब्याज, ब्याजको स्याज र अहिले आएर मिटर ब्याज खानेहरूलाई हटाउने मात्र हाम्रो विचार हो,’ उनले भने।

आफूहरूले व्यवस्थाको विरोध नगरेको स्पष पार्दै प्रतिनिधि सभा सदस्य समेत रहेका सभापति लामिछानेले त्याग गरेको छु भन्दैमा घरमा आगो लगाउने छुट कसैलाई नहुने बताए।

‘हामीले व्यवस्थाको विरोध गरेको हैनौं, हामीले नेताहरूको अवमूल्यन गरेका पनि हैनौं। तर मैले त्याग गरेको छु भन्दैमा घरमा आगो लगाउन त हामी मरिगए पनि दिँदैनौं।’

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटप्रति संकेत गर्दै सभापति लामिछानेले राष्ट्रसंघका महासचिव आउनुअघि नै संक्रमणकालीन न्यायको विषय टुंग्याउने भनेर नेताहरूको भेटघाट बाक्लिएको बताए।

तिमीहरुको हितको लागि काम गर्छु भनेर भनेका मान्छे आफ्ना सन्तानको भविष्य सुनौलो बनाएको भन्दै आक्रोशसमेत व्यक्त गरे। विमानस्थलबाट छोरालाई सुन ल्याउनका लागि सुनौलो भविष्य भन्दै जनतालाई पुराना दलका नेताहरूले भ्रम छरेको पुष्टि भएको बताए।

उनले थपे, ‘आफ्ना छोरालाई सुन ल्याउनका लागि सुनौलो नेपाल भनेका रहेछन्।’

कात्तिक ११, २०८० शनिबार ११:०८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।