सन्दीपसहितको टी-२० विश्वकप छनोट टोली घोषणा, चार खेलाडी बाहिरिए

सन्दीपसहितको टी-२० विश्वकप छनोट टोली घोषणा, चार खेलाडी बाहिरिए

काठमाडौं : ३० अक्टोबरदेखि काठमाडौंमा हुने टी-२० विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ।

सन्दीप लामिछानेलाई पनि समेट्दै टिम घोषणा गरिएको हो।

नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रँदैछ। नेपालको टोलीमा रोहित र  सन्दीपसँगै विकेटकिपरद्वय आशिफ शेख र विनोद भण्डारी छन्।

यस्तै, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सनकुमार झा, करण केसी, सोमपाल कामी, ललितनारायण राजवंशी, अबिनाश बोहरा, प्रतिश जिसी र विवेक यादव छन्।

त्रि-देशीय टी-२० आई क्रिकेट सिरिजमा समेटिएका १८ मध्ये चार खेलाडीलाई भने टोलीबाहिर राखिएको छ।

सो टोलीमा रहेका सागर ढकाल, लोकेश बम, सूर्य तामाङ र श्याम ढकाल (मौसम) यसपटक टोलीमा छैनन्।

नेपालमा भएको उक्त सिरिजमार्फत श्याम ढकाल र प्रतिश जीसीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए।

टी-२० विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ। नेपालले पहिलो खेल सोमबार विहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरविरुद्ध खेल्दैछ।

समूह ‘ए’ का सबै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ भने समूह ‘बी’का सबै खेल मुलपानी मैदानमा हुनेछ।

सेमिफाइनलका खेलहरू दुवै मैदानमा हुँदा फाइनल त्रिवि क्रिकेट मैदानमा हुनेछ। फाइनल ५ नोभेम्बरमा हुनेछ।

छनोटको फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ।

नेपालले यसअघि पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा सहभागिता जनाएको थियो।

कात्तिक ११, २०८० शनिबार ०८:४६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।