एनआरएनए विवाद : बद्री केसी र आरके शर्माबीच भेटवार्ता, पुनः निर्वाचनको ‘बटमलाइन’
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र बढ्दो विवादकाबीच दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ।
अध्यक्ष डा. बद्री केसी र विद्रोह गरेर अर्को एनआरएनए गठन गरेर अध्यक्ष भएका आरके शर्माबीच बिहीबार साँझ भेटवार्ता भएको हो।
भेटका क्रममा डा. केसीले मिलेर जान शर्मालाई प्रस्ताव गरेका छन्। केसीले निर्वाचनमा भएको भनिएको धाँधलीको विषयमा छानबिनका लागि आफू मातहतको समिति बनाउन प्रस्ताव गरेका हुन्।
तर, शर्माले पुन:निर्वाचन नभएसम्म अरु विकल्पमा सोच्न नसकिने जवाफ फर्काएका छन्। साथै शर्माले पुन:निर्वाचनका लागि केसीले विज्ञप्ति निकालेर आए आफूले साथीहरूसँग छलफल गर्ने समेत बताएका छन्।
‘भेटमा मैले निर्वाचन त्रुटिपूर्ण रह्यो, पुन:निर्वाचन भयो भने सोच्न सकिन्छ, यसको अरु विकल्प छैन भनेर स्पष्ट कुरा राखेको छु’, केसीसँगको भेटपछि शर्माले भने, ‘२० तारिखको सम्झौता कार्यान्वयन नहुँदा बाध्य भएर हामीले वैधानिक ढङ्गले कार्यक्रम गरेर मेरो नेतृत्वम नयाँ कार्यसमिति गठन गरेका छौँ। एनआरएनएको माया उहाँमा छ भने पुन:निर्वाचनका लागि तयार हुनुपर्छ।’
निर्वाचन परिणाममा धेरै त्रुटी भेटिएको र आम जनमानसमा पनि विश्वास टुसकेकेकाले एनआरएनएलाई पुरानै शाखमा फर्काउन पुन:निर्वाचनको विकल्प नभएको उनको भनाइ छ।
राजधानीको ठमेलस्थित एक रेस्टुरेन्टमा करिब ३० मिनेट लामो भेटका क्रममा केसीले मिलेर जाने प्रस्ताव गरे पनि अहिलेको अवस्थामा मुल मुद्दा सम्बोधन हुन नसकेकाले शर्माले स्वीकार गर्ने कुरा नभएको एनआरएनएका नेता डीबी क्षेत्रीले जानकारी दिए।
शर्मासँग भेटका लागि केसी एक्लै पुगेका थिए। यस्तै शर्मासँगै भने उनका चुनावी कमाण्डर समेत रहेका क्षेत्री पनि सहभागी थिए।
‘म र आरके शर्माले चुनावमा अनियमितता भयो, त्यसलाई सच्याएर जानु भनेको पुनर्निर्वाचन हो भन्ने कुरा स्पष्ट राखेका छौँ,’ क्षेत्रीले भने, ‘यद्यपि हामीहरूबीचमा कुनै समझदारी बन्न सकेन।’
कात्तिक ३ गते (अक्टोबर २०) निर्वाचन परिणामको विषयमा प्रश्न उठेपछि केसीसहित कुल आचार्य र रविना थापाले एक विज्ञप्ति जारी अर्को निर्णय नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको घोषणा गरेका थिए।
तर, त्यसको भोलिपल्टै एकाएक केसी विजयी भएको घोषणा गरेर अध्यक्षको शपथ गराइएको थियो।
सहमतिअनुसार १५ दिनभित्र निर्वाचनमा भएको भनिएको धाँधलीबारे छानबिन गर्ने र त्यसबारे आउने रिपोर्टका आधारमा अघि बढ्ने भनिएपनि केसीले एकाएक शपथ लिएपछि शर्मा समूह चिढिएको थियो।
लगत्तै अध्यक्षका अर्का उम्मेदवार महेश श्रेष्ठ समेतको समर्थनमा केसी इतर पक्षले महाधिवेशनको बाँकी प्रक्रिया पुरा गरेर आरके शर्मालाई अध्यक्ष चयन गरेको थियो । केसी अवैध बाटोबाट अध्यक्ष चुनिएको र आफूहरु नै आधिकारिक रहेको शर्मा पक्षधरले बताउँदै आएको छ।
असोज ३ गते जारी विज्ञप्तिमा कात्तिक २ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम घोषणाको क्रममा देखा परेको प्राविधिक त्रुटीका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको उल्लेख थियो।
जसमा केसीको समेत हस्तक्षर थियो। भेरो नामक अनलाइन भोटिङमार्फत भएको एनआरएनए निर्वाचनमा सिस्टम ह्याक गरेर मतपरिणाम तलमाथि बनाइएको असन्तुष्ट पक्षको दाबी छ।
कात्तिक १०, २०८० शुक्रबार ०८:४६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।