सर्जक नरबहादुर बिसीको हिजोका कुरा : खानसमेत नदिएको आर्मीले मासुभात दिएर ‘आज तेरो अन्तिम दिन हो’ भनेपछि...

सर्जक नरबहादुर बिसीको हिजोका कुरा : खानसमेत नदिएको आर्मीले मासुभात दिएर ‘आज तेरो अन्तिम दिन हो’ भनेपछि...

अवकाश प्राप्त शिक्षक नरबहादुर बिसी उमेरले ६५ टेके। बुवाआमा कामले सिलसिलामा भारत जाँदा वि.सं. २०१६ साल गुवाहाटीमा जन्मिएका हुन् उनी। केही वर्षपछि बुवाले कान्छी श्रीमती ल्याएपछि आमा उनलाई च्यापेर म्याग्दीको बरङ्गा पुगिन् र त्यहिँ उनले आफ्नो कष्टकर बाल्यकाल बिताए।

गाउँकै सामुदायिक विद्यालयमा पढ्न जान्थे उनी। खानको लागि कोदोको फाँडोबाहेक घरमा केही पनि हुँदैनथ्यो। दुःखसुख गरेर एसएलसी पास गरे, त्यो पनि सेकेण्ड डिभिजनमा। त्यो समयमा म्याग्दीबाट एसएलसी पास गर्ने चार जनामध्ये उनी एक हुन्। एसएलसीपछि गाउँकै एक विद्यालयमा शिक्षकको रुपमा स्थायी नियुक्ति पाए नरबहादुरले। त्यहाँबाट पाएको नौ महिनाको तलब जोगाएर उनले एक रोपनी जग्गासमेत किन्न भ्याए। त्यो बेला तलब आउँथ्यो मासिक २ सय ३ मोहर।

‘उनीहरू धनी थिए, चामलको भात खान्थे। मलाई फुपुको ससुराले देखि सहेनन्। दिदीले त माया नै गर्नुहुन्थ्यो तर, उनका अरू परिवारले मलाई त्यहाँ राखेको मनै पराएनन् र घरबाट निकालिदिए। ​​​​​​’​

शिक्षण गरिरहँदा उनले आफ्नो पढाइलाई भने कहिल्यै छाडेनन्। उनी पढिनैरहे। रेडियो नेपालमा पाण्डव सुनुवारले चलाएको चर्चित कार्यक्रम ‘चौतारी’ खुब सुन्थे उनी। त्यहाँ गीत गाउने मेसो मिल्यो। एमएको परीक्षा दिन काठमाडौं आउँदा उनले रेडियो नेपालमा ‘पानको पात, माया तिम्लाई सम्झन्छु दिनको रात, मर्याङ्दी सलल’ बोलको गीत रेकर्ड गराए।

आफैँले रचना गरेको र लय भरेको यो गीतलाई तत्कालीन अधिकृत बम बहादुर कार्की, प्रेमराजा महत लगायत मिलेर आफ्नो नाममा बनाएको नरबहादुरको आरोप छ। पुनः काठमाडौं आएर बमबहादुर कार्की र प्रेमराजा महतसँग रिसाएपछि उनीहरूले आफ्नो नाम गायकबाट हटाएर संकलकमा राखेको उनको भनाइ छ।

माओवादीको सशस्त्र युद्धमा पनि उनले जनवादी गीतहरू लेख्ने गर्थे। २०५४ सालमा शिक्षण पेशाबाट अवकास पाएका उनले त्यसपछि आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिए। त्यो समयमा लेखेका जनवादी गीतका कारण आफूले सरकारी पक्षबाट जेल र यातना भोग्नुपरेको रैछ।

उनै सर्जक नरबहादुर बिसीले उकेराको हिजोका कुरा खण्डका लागि आफ्ना विगत र त्यसबेलाका संघर्षका अनुभव उकेरासँग साटेका छन्।

०००

‘जिल्लामा चार जनाले एलएलसी पास गरेकोमध्ये एउटा म पनि’
नरबहादुरको बुवा र आमा भारतको गुवाहाटीमा भारी बोक्ने काम गर्न गएका थिए। त्यहिँ उनको जन्म भयो। जन्मेको नौ महिनापछि उनै उनलाई उनी आमाले लिएर नेपाल आइन्।

‘म ९ महिनाको भएपछि मेरो बुबाले अर्को आमा लिएर हिँडेपछि मेरो आमा नेपाल फर्किनुभएको रहेछ। नेपाल फर्किएपछि मलाई लिएर मावल म्याग्दीको पुलाह चौरमा बस्न थाल्नु भएछ। मावली मल्ल भए पनि गरिब परिवार नै थिए,’ उनले भने, ‘मावलीमा पनि दुई दिदिबहिनी मात्रै, मामा थिएनन्। कान्छी छोरीको छोरो म भएँ, जेठी ठूलीआमाले हजुरबा–हजुरआमा हेर्ने भनेर विवाह नगरि बस्नुभएको रहेछ।’

आफूहरू गइसकेपछि म्याग्दीमा चार जनाको परिवार भएको उनको भनाइ छ। आर्थिक उपार्जन नभए पनि आमाले आफूलाई पढाएको नरबहादुर स्मरण गर्छन्।

‘कान्छी आमाले तेरो बाउको सम्पत्ति यहाँ केही छैन, यहाँ भएको सबै सम्पत्ति मेरो माइतीको पेवा हो भन्नुभयो। त्यो बेला म यति धेरै रोएँ कि भनिसाध्य छैन।’

‘घर नजिकैको जनकल्याण प्राथमिक विद्यालयमा गरिदिनुभो। त्यहाँ चार कक्षासम्म पढेँ मैले। पढाइमा जान्ने भएकाले जहिल्यै पहिलो हुन्थेँ,’ उनले थपे, ‘त्यसपछि ब्रम्जा भन्ने ठाउँबाट ५ कक्षामा पढे। ६,७ कक्षा तातोपानीबाट पास गरेँ। कक्षा ८ मा भर्ना हुन बेनीको प्रकाश मावि पुगेँ।’

मावलीबाट टाढा भएकाले त्यहाँ उनी फुपूको घरमा बस्नुपर्ने भयो। तर त्यहाँ उनीमाथि नराम्रो व्यवहार हुन्थ्यो। फुपूका ससुराले आफूलाई देखि नसहेको उनी बताउँछन्।

‘उनीहरू धनी थिए, चामलको भात खान्थे। मलाई फुपुको ससुराले देखि सहेनन्। दिदीले त माया नै गर्नुहुन्थ्यो तर, उनका अरू परिवारले मलाई त्यहाँ राखेको मनै पराएनन् र घरबाट निकालिदिए। त्यसपछि ठुली आमाको घरमा गएँ। त्यहाँ ठूली आमाको झड्केलो छोरो इण्डियाबाट आएको रहेछ। त्यसले बसिखान दिएन र निकालिदियो।’

कतै पनि बस्ने बस्दोबस्त नमिलेपछि भने उनले मावलीबाटै स्कुल धाउन थाले। मावली घरबाट स्कुल पुग्न ओरालो झरेर २ घण्टा लाग्थ्यो भने फर्कँदा उकालोमा ३ घण्टा।

अरुको पुस्तक मागेर रातभरी पढेर परीक्षा पास गर्थे उनी। अनि त्यसरी नै पढेर कक्षा ८ को परीक्षामा प्रथम भए।

‘म कक्षा ८ को परीक्षामा प्रथम भएपछि कक्षा ९ मा पढ्दा त्यहाँको हेडसरले गाउँ पञ्चायतलाई यो गरिब हो, पैसा तिर्न सक्दैन भनेर सिफारिस लेखिदिनुभएछ। त्यहि सिफारिसले गर्दा मैले फिस तिर्न पर्दैन्थ्यो। त्यो बेलामा महिनाको एक रुपैयाँ फिस थियो।’

नरबहादुरले वि.सं. २०३१ सालमा एसएलसी पास गरेका हुन्। जिल्लाभरिमा ५७ जनाले एसएलसी दिएकोमा ४ जनाले मात्र पास गरेका थिए त्यो बेला। आफूले सेकण्ड डिभिजनमा पास गरेको उनले गर्वसाथ सुनाए।

‘त्यतिबेला एसएलसीमा सेकेण्ड डिभिजन आउनु भएको एकदमै ठुलो कुरा थियो। किनभने फस्ट डिभिजन ल्याउने नेपालभरबाट सय जना जति हुन्थेँ।’

एसएलसी दिएपछि भने आर्थिक समस्याका कारण उनले पढ्न पाएनन्। अनि बुवा र कान्छीआमासँग सल्लाह गर्न म्याग्दीको मराङ पुगे। त्यतिबेलासम्म भारतबाट बुवा र कान्छी आमा म्याग्दी आइसकेका थिए।

‘जब मैले एसएलसी पास गरेर जागिरे भएँ, त्यसपछि भने मेरो छोरी बिहे गर भन्नेको ओइरो लाग्न थाल्यो। तलाई भनेजस्तो केटी बिहे गराइदिन्छु अनि कुन केटी रोज्छस् भन्नेसम्मका मान्छेहरू आए।’

‘त्यहाँ पुगेर उनले आफूलाई अंश नचाहिने, आइएस्सी सम्म पढाइदिन भनेँ। तर कान्छी आमाले तेरो बाउको सम्पत्ति यहाँ केही छैन, यहाँ भएको सबै सम्पत्ति मेरो माइतीको पेवा हो भन्नुभयो,’ उनले थपे, ‘त्यो बेला म यति धेरै रोएँ कि भनिसाध्य छैन। हुन त म जीवनमा धेरैपटक रोएको छु। त्यो चाहिँ अझ धेरै सम्झना आउँछ। सायद मनमा धेरै नै बिझेकाले होला।’

पैसा नै नभएर पढ्न नपाएपछि आर्थिक उर्पाजनतिर लाग्ने सोच बनाए उनले र शिक्षकका लागि खुलेको विज्ञापन दरखास्त दिएर परीक्षा दिएँ।

‘५७ जनाले परीक्षा दिएकोमा म प्रथम भएँ र गाउँकै महेन्द्र रत्न प्राथमिक विद्यालयमा पढाउन थालेँ। कहिलै पैसा नदेखेको मैले पहिलो पटक महिनाको २ सय तीन मोहर तलब बुझे। यो पैसा त मेरो लागि ठूलो थियो। म फाँडो खाएर पढेको मान्छेलाई यो पैसा त कति हो कति।’

त्यहि तलबको पैसामध्ये ३ मोर आफूलाई राखेर बाँकी दुई सय जम्मा गरी ९ महिनाको तलबले एक रोपनी खेत किने उनले। खेतमा ५० पाथी धान फल्यो। पहिलो पटक आफ्नो खेतको चामलको भात खाँदा एकदम आनन्द लागेको उनले सुनाए।

महेन्द्र रत्नमा पढाउँदै आएको तलबले आइएस्सी र बीएस्सी पनि पढे उनने। एमए पढ्दै गर्दा त्यहि स्कुलमा माविसम्मको प्रधानाध्यापकको रूपमा काम गरेपछि भने अवकाश लिए।

छोरी दिनेको लाइन
गाउँकै विद्यालयमा शिक्षक भइसकेपछि घरमा छोरी दिनेहरूको लाइन लाग्न थालेको नरबहादुर स्मरण गर्छन्।

‘जब मैले एसएलसी पास गरेर जागिरे भएँ, त्यसपछि भने मेरो छोरी बिहे गर भन्नेको ओइरो लाग्न थाल्यो,’ उनले भने, ‘तलाई भनेजस्तो केटी बिहे गराइदिन्छु अनि कुन केटी रोज्छस् भन्नेसम्मका मान्छेहरू आए।’

तर उनको सोच भने स्नातक सकेपछि मात्र विवाह गर्ने सोच थियो। उनले आफ्नो अठोटलाई पूरा गरिछाडे। आफू शिक्षक भएपछि आफू र आफ्नो परिवारलाई समाजले हेर्ने दृष्टिकोण फेरिएको उनी सम्झन्छन्।

‘महेन्द्र रत्नमा म प्रधानाध्यापक भएपछि एसएलसी पास मात्र भएका प्रधानाध्यापक हुनुभएको सर घटुवा भएर शिक्षक मात्रै हुुनुभयो। त्यसपछि उहाँले स्कुल छोडेर हिँड्नुभयो। सायद आफैँले पढाएको विद्यार्थी प्रधानाध्यापक भएपछि अफ्ठ्यारो लाग्यो होला।’

बमबहादुर र प्रेमराजाको हेपाहा प्रवृत्तिको सिकार भएँ
२०४१ सालतिर नरबहादुर एमएको परीक्षा दिन काठमाडौं आए। यहि समयमा रेडियो नेपालमा गीत गाएर फर्कन मन लागेछ।

‘रेडियो नेपालमा गीत गाउनका लागि शब्दहरु सेन्सर हुने गरेको थियो। मैले बिद्रोही खाल्का गीतहरू लेख्थेँ अनि गाउँथे। मैले हाम्रो पनि आउँला नि पालो, सामान्तीलाई चलाउला भुँइचालो बोलको गीत लगेको थिएँ। गीतमा सेन्सर लाग्यो समान्ती शब्द हटाएर सताउने राखियो अनि रेकर्ड गर्न दिइयो।’

काठमाडौं आएपछि रेडियो नेपालका कार्यक्रम प्रस्तोता पाण्डब सुनुवारको कार्यक्रममा गीत गाउने सोच समेत बनाएका रहेछन्। त्यहि सोचका साथ उनले आफूलाई मन परेको गायिका सावित्री शाहसँग गाउने निधो गरे।

‘अहिले तपाईंले पनि सुन्नुभयो भने मेन स्वर बम बहादुर कार्कीको आउँछ। म अरु ठाउँमा मात्र होइन, रेडियो नेपालमा आफ्नै गीतमा पनि शोषणमा परेँ।’

‘पानको पात, मायालुलाई सम्झन्छु दिनको रात बोलको गीत मैले र साबित्री शाहले गाएका थियौँ। यो गीतको शब्द संकलन र लय पनि मेरो नै थियो,’ उनले स्मरण गरे, ‘मलाई त्यो समयमा चर्चित लोक गायिका साबित्री शाहसँग गीत गाउने रहर थियो अनि उनको श्रीमान्लाई मनाएर उनले पहिलो पल्ट मसँग दोहोरी गाको हो।’

रेडियो नेपालमा कार्यरत केही कर्मचारीले अरुको गीतलाई आफ्नो नाम राख्ने गरेकोमा चित्त दुखाए।

‘त्यो बेला रेडियो नेपालको ‘चौतारी’ भन्ने कार्यक्रम निकै चलेको थियो। यहाँ गीत गाउँदा गाउँदै १८ मिनेटको गाइएछ। गीत लामो भए पनि गीतको भाका र शब्द सबै निकै राम्रो भएछ। त्यसबेला रेडियो नेपालमा बम बहादुर कार्की अधिकृत थिए। हामीले गाएको गीतलाई उनले क्यासेट निकाले सोच बनाएछन्। मलाई बमबहादुरले यो छोटो भयो आधा घण्टाको बनाएर ल्याउनु भने।’

बमबहादुरको निर्देशन बमोजिम उनले आधा घण्टाको बनाएर लगे। अघिल्लो दिन १८ मिनेटको गीत गाइसकिएको थियो। तर भोलिपल्ट सुरूबाट त्यो गीत गाउन थालिएको उनले स्मरण गरे।

‘पहिलो दिन म, कृष्ण सुधा, साबित्री शाह र म्याग्दी कै सरला गौचनले गाएको थियौँ। भोलीपल्ट त बम बहादुर कार्की, प्रेमराजा महत सबै पो आए। गीत गाउँदाखेरि जुन मेन माइक हो त्यो बमबहादुर कार्की, प्रेमराजा महतले आफूतिर राखेछन् भने सहायक माइक चाहिँ हामीतर्फ राखिदिएछन्। अहिले तपाईंले पनि सुन्नुभयो भने मेन स्वर बम बहादुर कार्कीको आउँछ। म अरु ठाउँमा मात्र होइन, रेडियो नेपालमा आफ्नै गीतमा पनि शोषणमा परेँ।’

उनका अनुसार यो गीतको शब्द संकलन र लय पनि उनकै नै थियो तर उनीहरूले हटाएर आफ्नै नाम राखेर बेचेछन्। गाउँबाट काठमाडौं आइहाल्न सक्ने अवस्था थिएन। आफ्नो गीतमा अरुकै शब्द संगीत र स्वर आएपछि मन मारेर बसेका रहेछन् उनी।

फेरि केहि वर्षपछि काठमाडौं आएर बमबहादुरका कार्कीलाई थर्काएको उनी बताउँछन्। त्यसपछि निस्किएका क्यासेटमा भने उनको नाम संकलक भनेर आएछ।

‘क्यासेटमा पनि प्रेमराजा महत, कृष्ण सुधा र बम बहादुर कार्कीको मात्रै फोटो राखेका थिए,’ उनले भने, ‘म काठमाडौं आएपछि बम बहादुरलाई के हो पारा भनेपछि अनि बल्ल शब्द संकलकमा नाम राखेका हुन्। नत्र कहाँ थियो र? मेरो गीतमा उनीहरूले रजाइँ गरेका थिए। मेरो नाम गायकमा पनि राखेनन्। उनीहरूले हेपेर मलाई शब्द संकलनका रूपमा बल्ल पछि राखेका हुन्। खासमा म यो गीतको गायक, लयकार र शब्द संकलक नै हो।’

उनले त्यसपछि ‘मेरो सोल्टी ज्यू’, ‘लगन,’ ‘शिरफूलै माया’ लगायत दर्जनौं गीत रेकर्ड गरे।

मासुभात खान दिएर आर्मीले तेरो आज अन्तिम हो भने
नरबहादुर शिक्षण पेशाबाट अवकाश लिनुअघि नै देशभर माओवादीको सशस्त्र द्वन्द्व सुरू भइसकेको थियो। त्यो समयमा उनीमाथि पनि माओवादीमा लागेको आरोप लगाइयो। क्रान्तिका गीत लेख्न थालेपछि राज्यले आफूमाथि निगरानी बढाएको उनको मत छ।

...त्यसरी म त्यो शिवपुरीको सामुहिक हत्या हुनबाट बचेको थिए। अहिले सम्झन्छु। त्यो के का लागि लडिएछ भन्ने लाग्छ। यो देशको दुरदशा देख्दा।’

‘मैले बेनी, बाग्लुङ, काठमाडौंको जेलनेल चाखिसकेको छु। यो त मेरो दोस्रो जिन्दगी हो। तपाईंहरूले शिवपुरीमा युद्धको बेला सामुहिक हत्या भयो भन्ने कुरा सुन्नुभएकै होला। त्यहाँ म पनि पर्ने अवस्थामा थिएँ। मलाई पनि सायद त्यहि लैजानका लागि सेनाले लगेको थियो,’ उनले भने, ‘कहिल्यै राम्ररी खाना खान नदिएको आर्मीले त्यो दिन मासु र भात खान दियो। मैले यति मिठो मानेर खाएकी म व्यक्त गर्न पनि सक्दिनँ। आधा भात खाइसकेपछि एउटा रक्सीले लठ्ठ परेर आएर पछाडीबाट भुक्क लात्तले हान्यो। अनि, ए आतंककारी अझै खाइसकिनन्। छिटो खा, टन्न खा। तेरो आज अन्तिम हो। त्यहाँ खाल्डो खनेर ठिक्क पारेको छ भन्यो।’

उनले त्यो घटनाको बेलिबिस्तार लगाउँदै भने, ‘नभन्दै एकदिनमा हतकडी लगायो र गाडीमा हालेर लग्यो। त्यहाँ पनि बेलुकी एउटा जर्नेल चाहि रक्सी खाएर फिटान भएको थियो। म साहित्यकार हो ,कलाकार हो भन्ने कुरा उसलाई थाहा छ। अनि मलाई ओए पानको पात कता छस् भनेर नामले बोलाउँथ्यो। हजुर भनेर म जान्थेँ। अनि आज दोहोरी गाउने भन्थ्यो र गीत पनि गाउँथ्यो। संजोग कस्तो परेछ भने त्यसले पनि नेपाली मै एमए गरेको रहेछ। कहिले नेपाली विषयमा छलफल पनि गर्थो। बौद्धिक पनि थियो त्यो जर्नेल।’

तर, दाइ पर्ने कर्णेलको एक फोन कलले बचाएको उनले स्मरण गरे।

उनले भने, ‘मेरो दाजु पनि जर्नेलै थिए। ती मेरा दाजुले के भनेका रहेछन् भने नरबहादुरलाई नमार्नु भन्ने खबर गरेका रहेछन्। त्यो खबर यो जर्नेलले पाएपछि मार्न लगेको बीच बाटोमा पुर्याएपछि भुतभुताउँदै कहिले के भन्छ कहिले के भन्छ भन्दै अर्को गाडीमा हालेर यता पठाइदियो। त्यसरी म त्यो शिवपुरीको सामुहिक हत्या हुनबाट बचेको थिए। अहिले सम्झन्छु। त्यो के का लागि लडिएछ भन्ने लाग्छ। यो देशको दुरदशा देख्दा।’

कात्तिक ३, २०८० शुक्रबार १२:५२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।