काभ्रेमा राजस्व छलेर ल्याएको ९२ बोरा चिनी बरामद

काभ्रेमा राजस्व छलेर ल्याएको ९२ बोरा चिनी बरामद

काभ्रे : बनेपामा प्रहरीले ९२ बाेरा चिनी बरामद गरेको छ।

राजस्व छली ल्याएको ९२ बोरा चिनी इलाका प्रहरी कार्यालय बनेपाको प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

चिनीसहित धुलिखेल नपा-२ का ३७ वर्षीय चालक राजु तिमल्सिनालाई चिनीसहित नियन्त्रणमा लिइएको हो। ट्रक बिहीबार अपरान्ह पनौतीबाट बनेपातर्फ आइरहेको थियो।

सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

ट्रकमा धानको बोराले छोपी ल्याएको करिब पाँच लाख ९८ हजार रुपैयाँको ९२ बोरा चिनी र ४२ हजार रुपैयाँ बराबरको २८ बोरा धान थियो।

सवारी जाँचका क्रममा चालकसँग चिनी खरिदसम्बन्धी कुनै पनि कागजात नभएकाले नियन्त्रणमा लिएर ललितपुरको  हरिहर भवनस्थित राजस्व अनुसन्धान विभाग पठाइएको छ।

कात्तिक ३, २०८० शुक्रबार ०९:१९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।