अभिनय सुधार्न कलाकारलाई ओलीको सुझाव

अभिनय सुधार्न कलाकारलाई ओलीको सुझाव

काठमाडौं : आफ्ना भाषणबाट दर्शक तथा कार्यकर्ता हसाउन सिपालु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अधिकांशले कलाकार नै मान्छन्।

कतिपयले उनलाई विभिन्न हाँस्य रियालिटी शो निर्णायकको रुपमा हुनुपर्ने सुझावसमेत दिन भ्याए भने सामाजिक सञ्जालमा उनका भाषणका क्लिपहरूबारे ट्रोल आइरहन्छन्।

सोमबार ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजको शुभारम्भ कार्यक्रममा पुगेका अध्यक्ष ओलीले नेपाली कलाकारहरूलाई अभिनय सुधार्न सुझाव दिए र कलाकारहरूको अभिनयमा खोट लगाए। नेपाली कलाकारहरूले यथार्थ भन्दा पनि अभिनय गरेको उनको भनाइ छ।

उनले भने, ‘अभिनयमा अलिकति परिमार्जन आवश्यक छ भन्ने मलाई लाग्छ। अन्यत्रको कलाको जुन दुरुस्तता छ। हाम्रोमा यथार्थ कलाको प्रस्तुतिमा अलि भिन्नता छ कि जस्तो देखिन्छ।’

उनले कलाकारहरूलाई ठ्याक्कै उस्तै र मान्छे हराउने अभिनय गर्न सुझाव दिए।

‘ठ्याक्कै उस्तै, मान्छे त्यसमै हराउने गरी अभिनय गर्नुपर्छ,’ उनले भने, ‘भारतमा, चीनमा एउटा गीत हिट भयो भने त्यसले जिन्दगीभरलाई पुग्छ। तर यहाँ त्यस्तो छैन। त्यसैले अभिनय सुधार्नुस्।’

कलाकार दीपकराज गिरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूभन्दा ठूलो हास्यव्यङ्ग्यकारको पगरी गुथाइदिए।

‘धेरै नेताहरू आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिएको देख्छु तर केपी शर्मा ओलीमा अहिलेको समाजसँग परिवर्तन गर्दै जाने खुबी छ,’ उनले भने, ‘हास्यव्यंग्यको कुरा गर्दा मभन्दा पनि ठूलो हास्यव्यंग्यकर्मी उहाँ हो। व्यंग्यको चेत भनेको ठूलो कुरा हो, व्यंग्य गर्न थुप्रै अध्ययन चाहिन्छ।’ 

असोज ३०, २०८० मंगलबार २०:०१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।