सुरक्षा निगरानी बढाइएको छ, सचेत रहँदै ढुक्कसँग चाडपर्व मनाउनुस् : काठमाडौं उपत्यका प्रहरी

सुरक्षा निगरानी बढाइएको छ, सचेत रहँदै ढुक्कसँग चाडपर्व मनाउनुस् : काठमाडौं उपत्यका प्रहरी

काठमाडौं : काठमाडौं उपत्यका प्रहरी कार्यालयले सर्वसाधारणमा १० बुँदे अपिल जारी गर्दै चाडपर्वका बेला सचेत हुन अनुरोध गरेको छ।

चाडबाडका बेलामा सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज र समग्र काठमाडौं उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न पनि प्रहरीले सबैमा आग्रह गरेको छ। 

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले सर्वसाधारणमा सचेतना र चनाखो हुनका लागि अपिल जारी गरिएको जानकारी दिए। प्रहरीले बाटोमा हिँड्दा वा अन्य ठाउँमा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान अनुरोध गरेको छ। 

जारी अपिलमा नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजान, घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरेको छ/छैन यकिन गर्न र सकेसम्म साइरन जडित ताल्चा जडान गर्न, लामो समय घर, पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्न भनिएको छ।

यस्तै सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकिङको पासवर्ड लगायत हरदम गोप्य राख्न, चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले भ्याउने अङ्कको मात्र चेक जारी गर्न तथा सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक नगर्न अनुरोध गरिएको छ।

लङ्गुरबुर्जा, तास, जुवा लगायतका हारजित हुने खेल खेल्दा उठीबास हुनसक्ने तर्फ सचेत बन्न, मादक पदार्थ सेवन, लागुपदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियमको पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

उपत्यका प्रहरीले तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर उपत्यकामा सुरक्षा निगरानी बढाएकाले ढुक्कसँग चाडपर्व मनाउन पनि अनुरोध गरेको छ।

३० असोज, २०८०, ११:२६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।