क्यान्सरसँग दिक्किएर व्यायामशाला छिरेकी रजनी जो भइन् अन्तर्राष्ट्रिय गोल्डमेडलिस्ट
गर्दन हल्लाउनै नहुने । घाँटीमा २०-२५ वटा गाँठाहरू आए। उनी निकै निरास भइन्। क्यान्सर हो कि भन्ने शंका भयो। के गर्ने, के नगर्ने अन्योलमा थिइन् रजनी श्रेष्ठ।
‘त्यो बेला त म डिप्रेसनमै गएँ नि’, उकेरासँग त्यो बेलामा आफ्नो अवस्था खुलाउँदै रजनी श्रेष्ठले भनिन्।
उनी एक सन्तानको आमा भइसकेकी थिइन्। दैनिकी गृहिणी नै। दुई वर्षसम्म उनले नसोचेको स्वास्थ्यसँग संघर्ष गरिन्। उनलाई अब बाँच्छु भन्ने आशै मरिसकेको रहेछ।
‘त्यो बेलाको समय त म सम्झँनै चाहँदिन। दुई वर्ष निकै समस्या भयो। घाँटी हल्लाउनु हुँदैनथ्यो। कपाल समेत बाँध्न सक्दिनथेँ’, उनले भनिन्।
उनी नेपालका प्राय अधिकांश चिकित्सककोमा पुगिन्। उनीहरूले दिने औषधि खाँदा ठिक हुने त्यसपछि समस्या उस्तै। कतै भारतमा उपचार गर्दा समस्या समाधान होला कि भनेर भारत पनि गइन्। भारत पुगेर पनि उनको समस्या समाधान भएन। उनले माया मारिन्। मृत्यु कुरेर बस्दा डिप्रेसन हुनु स्वभाविकै हो।
झापाको धुलाबारीमा जन्मिएकी उनी पहिलोपटक महिला फिजिक्समा खेल्ने तयारी गरिरहेकी थिइन्। तर, शरीरको आकार र तौलले ‘एथलेट’ विधामा नअटाएर उनी बडिबिल्डिङ्गमा जानुपर्यो।
उनको श्रीमान् जिम जाने गर्थे। उनले रजनीलाई जस्तै समस्या भएकाहरू जिममा आएपछि गाँठाहरू आफैँ हराएको सुनेका थिए। कतै आफ्नो श्रीमतीको समस्या पनि समाधान होला कि भनेर उनले जिम जान सुझाव दिए।
एक त गृहिणी, त्यसमा पनि एक बच्चाकी आमा भइसकेकी थिइन्। बच्चा पाइसकेपछि महिलाको शरीर कमजोर हुन्छ भन्ने उनले पनि सुनेकी थिइन्। उनले तत्काल आँट गरिनन्। तर, अमुल्य जीवनको माया कसलाई हुँदैन र ! त्यो पनि ३२-३३ वर्षको उमेरमै।
श्रीमान्ले कर गरेपछि उनलाई यो पनि हेरौँ न त भन्ने भयो। उनी जिम जान थालिन्।
मृत्यु जित्ने लक्ष्य लिएर जिम गएकी उनै रजनी अहिले ४१ वर्षकी भइन्। उनी जुन समस्याको समाधान गर्न अस्पतालको साटो व्यायामशाला गएकी थिइन् त्यो समस्या हरायो। विस्तारै गाँठाहरू हराउँदै गए। पछि त सबै समस्या समाधान भयो।
उनले स्वास्थ्य परीक्षण गराइन्। हिजोको गम्भीर स्वास्थ्य समस्या देखिएन। अहिलेसम्म पनि दोहोरिएको छैन। आधुनिक मेडिसिनले समाधान गर्न नसकेको समस्या व्यायामबाट समाधान भएको अनुभव गर्दा उनलाई जादु जस्तै लाग्छ उनलाई।
सँगै अर्को चमत्कार पनि भयो। स्वास्थ्य समस्या समाधान गर्न जिम हलमा पुगेकी रजनी महिला बडिबिल्डरको अन्तराष्ट्रिय खेलाडीको रूपमा उदाइन्।
केहि दिनअघि मात्र काठमाडौंमा भएको ५५औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप उनले नेपालका लागि स्वर्ण नै जितिन्। नोभेम्बरमा हुने विश्वच्याम्पियनको लागि नेपालबाट छनोट भएसँगै उनी अहिले त्यसकै तयारीमा व्यस्त छिन्।
सन् २०१७ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थालेकी उनले सन् २०१९ मा एसिएन च्याम्पियनसिपमा पहिलोपटक आफ्नो तौल समूहमा रजत जितेकी थिइन्।
झापाको धुलाबारीमा जन्मिएकी उनी पहिलोपटक महिला फिजिक्समा खेल्ने तयारी गरिरहेकी थिइन्। तर, शरीरको आकार र तौलले ‘एथलेट’ विधामा नअटाएर उनी बडिबिल्डिङ्गमा जानुपर्यो।
त्यो बेलासम्म आफ्नो शरीर कुन गेममा फिट हुन्छ भन्ने उनले थाहै पाइनन्। पछि पुरुषको फिजिक्समा खेल्न थालिन्। अहिलेसम्म उनको खेल यात्रा जारी नै छ। आफ्नो शारिरिक समस्या समाधान गर्न जाँदा अन्तराष्ट्रिय मञ्चमा देशकै प्रतिनिधित्व गर्न पाउँदा मक्ख छिन् उनी।
‘सबैलाई जिम नै गर्नुपर्छ भनेर भन्दिन। तर कुनै न कुनै व्यायाम गर्ने हो भने नसोचेको सफलता पाइने रहेछ,’ उनले उकेरासँग भनिन्, ‘जिम नगएको भए म अहिलेसम्म जीवित हुन्थेँ या हुन्नथेँ भन्न सक्दिन। तर म जीवित मात्रै हैन स्वस्थ पनि छु। अनि एक हदसम्म सफल पनि।’
घरमै जन्माइन् पहिलो सन्तान
मोरङको उर्लाबारीमा जन्मिएकी उनको बाल्यकाल त्यतै बित्यो। स्कुलको कार्यक्रमहरूमा विशेषगरी दौड, कबड्डी लगायतका खेलमा उनको रुचि थियो। सहभागी पनि हुन्थिन्।
१६ वर्षकै उमेरमा उनको विवाह भयो मोरङमै। उनको प्रेम विवाह हो।
‘हामीले अगाडिदेखि नै एक अर्कालाई माया गर्थ्यौँ अनि घरमा भनेर राम्रोसँग नै विवाह भयो’, उनले भनिन्।
पढाइ सकेर मात्र अभिभावक बन्ने दुवैको योजना थियो। तर, परिवारले ‘अगाडि नै बच्चा पाउँदा राम्रो’ भन्दै कर गर्न थाले। ‘नाति-नातिनी देओ तिमीहरू जे सुकै गर’ भन्न थाले।
उमेर केटाकेटी नै थियो। बच्चा पाउने कि नपाउने निर्णय नै गर्न सकेनन्। उता गर्भमा बच्चा आइहाल्यो। उनी गर्भवती भएको सुनेर उनको श्रीमान् र सासु दङ्ग।
‘म चैँ गर्भवती भएँ भन्ने पत्याउनै सकिरहेकी थिइनँ। यस्तो बेलामा वाकवाक लाग्ने, खान नरुच्ने, सबै गन्हाउने, कमजोरी हुने हुन्छ, भन्ने सुनेकी थिएँ। तर, मलाई त त्यस्तो केहि पनि भएन’, उनले भनिन्।
चार महिनापछि उनी अस्पताल गइन् जचाउन। चिकित्सकले आमा बन्न लागेको सु:खद् खबर सुनाए। तर, उनले पत्याइनन्।
पछि पेटमा बच्चा चल्न थाल्यो। अनि मात्र ‘ए हो रहेछ’ भन्ने भइहाल्यो। तर, त्यसपछि पनि खासै फरक अनुभव गर्न पाइनन् रे उनले।
‘गर्भवती भएको भन्ने बित्तिकै कम्जोर हुन्छ भन्ने सुन्दै आएको थिएँ। मेरो उमेर सानो भए पनि त्यतिबेला देखिनै शरीर चैँ बलियै थियो’, हाँस्दै उनले भनिन्।
उमेर सानै थियो। घरमा विशेष हेरचाह हुने भइ नै हाल्यो। उनलाई आमा बन्दैछु भन्ने अनुभव बच्चा चलेको बेलामा मात्र हुने रहेछ।
उनको सासु शिक्षिका। उनले नै विशेष ख्याल गर्थिन् उनको। गर्भवतीको नौ महिनासम्म उनी सक्रिए नै रहिन्।
नौ महिनापछि चैँ पेट दुखेको जस्तो भयो उनलाई। अनि बेला-बेला पिसाब आउन लागेको जस्तो भएको अनुभव भयो। त्यै बेला श्रीमान्लाई भनिसकेकी थिइन्।
श्रीमान्ले ‘ममी रजनीलाई अलि सन्चो छैन रे’ भनेर आफू चैँ गाउँमै क्यारेमबोर्ड खेल्न थाले।
बच्चा भएपछि महिलाको शरीर कम्जोर हुन्छ भनेको सुनेको थिएँ। तर, त्यस्तो होइन रहेछ। मलाई नै हेर्नु न म झन् धेरै स्वस्थ भएको छु। शरीर स्वस्थ भएपछि मानसिक रूपमा पनि तनावरहित हुने रहेछ।
उनलाई झन् गाह्रो भयो। खाना खान किन आएन भनेर सासु हेर्न आइन्। व्यथा लाग्न लागेको थाहा भइहाल्यो। भुइँमा कपडा ओछ्याएर राखिदिइन्।
बच्चा जनमाउने बेलामा हजुरआमा र सासु नै उनका चिकित्सक नर्स भए। तातोपानी तताउने लगायतका सबै काम दुवै जनाले गरे।
‘त्यो भन्दा अगाडि त म डाक्टरको निगरानीमा बसिरहेको थिएँ। तर, व्यथा लाग्ने बेलामा अस्पताल जाने भने कुरा नै आएन। दिउँसो १ बजेतिर त छोरा जन्माइहालेँ। सहजै भयो। त्यस्तो धेरै छटपटाएको मलाई थाहै छैन।’
उनको हातमा बच्चा आइपुग्यो। एकदम सुन्दर र गोरो। १३ दिनपछि सन्तानको न्वारन गरेर माइती गइन्। उनको घरमा सबै ओम शान्ति भएकाले मासु नचल्ने, माइतमा त मासु खाइन्।
अहिले त उनको सन्तानै २३ वर्षको भइसके। चिकित्सक शिक्षा पढिरहेका छन्।
‘विकिनी लगाएर बुहारी स्टेजमा उभिने !’
छोरा १२ कक्षामा पढ्दै गर्दा उनमा स्वास्थ्य समस्या देखिएको। उनी जिम गइन्। सन्तान जन्माए पनि उनले शारीरिक कमजोरी महसुस गरेकी थिइनन्।
जिम गएपछि झ्यामकिझ्याम हेभी कसरत गर्न थालिन्। सुझाव दिने उनको श्रीमान् छँदै थिए। विस्तारै उनको शरीरको आकार बदलिन थाल्यो।
व्यक्तिगत स्वास्थ्य सुधार्न कसरत गर्दागर्दै उनको शरीर केटा मान्छेको जस्तै बलिस्ठ देखिन थाल्यो। उनी मसल्स् ओमन भइसकेकी थिइन्।
जब प्रतियोगितामै भाग लिने प्रयास गरिन् बल्ल चाल पाइन्, ‘मेरो शरीर त केटाको जस्तै पो भएछ।’
‘त्यो बेला धेरै कसरत गरेर होला, मेरो शरीर महिला फिटनेसभन्दा पनि पुरुषको फिटनेसमा अटाउने भएछ,’ उनले भनिन्, ‘बच्चा भएपछि महिलाको शरीर कम्जोर हुन्छ भनेको सुनेको थिएँ। तर, त्यस्तो होइन रहेछ। मलाई नै हेर्नु न म झन् धेरै स्वस्थ भएको छु। शरीर स्वस्थ भएपछि मानसिक रूपमा पनि तनावरहित हुने रहेछ।’
बडिबिल्डिङ प्रतियोगितामा विकिनी लगाउनु सामान्य नै हो। विकिनी लगाएर स्टेजमा सबैसामु उभिन पहिला त उनलाई पनि अप्ठ्यारो नलागेको हैन। तर, कपडा कस्तो भन्ने हैन ज्यान कस्तो बनाउने भन्नेतिर ध्यान दिँदै जाँदा उनलाई बानी पर्यो।
खाना र कपडामा नै धेरै खर्च हुन्छ। हाम्रो देशमा खेलाडी भएर मात्र गुजारा गर्न सकिँदैन। झन् त्यसमा पनि महिला अनि अझ बडीबिल्डिङमा त बढी गाह्रो छ।
तर, उनको परिवार अनि सासुलाई पनि अप्ठ्यारै लागेछ। विकिनी लगाएर बुहारी सबैसामु उभिने भन्दै छोरालाई कराइछन्। छरछिमेकमा पनि हल्ला भएछ। तर, यो खेल हो भन्ने बुझेपछि भने उनले दोहोर्याएर यस्तो सुन्नुपरेन।
‘यो खेलको नियमै यस्तै हो। शरीर कस्तो छ भनेर देखाउने हो नि त यसमा। अब पुरै कपडा लगाउने कुरा त भएन,’ उनले भनिन्, ‘अहिले त कपडामा ध्यानै जाँदैन। खेलमा मात्र जान्छ।’
तर अहिले पनि उनको ज्यान देखेर कस्तो केटाको जस्तो ज्यान भन्नेहरू घटेका छैनन्। किनकी समाजमा बलिष्ठ शरीर केटाको मात्र हुन्छ भन्ने भ्रम जो छ। त्यसमा उनले गर्ने कसरत पनि महिलाको जस्तो भएन। उनले पुरुषकै शैलीमा अभ्यास गरिन्। ज्यान त्यस्तै बन्यो।
जब उनी स्विमिङ खेल्न जान्थिन् वरपरकाहरू ट्वाँ परेर हेर्थे। जब उनको राष्ट्रिय खेलाडीको सार्वजनिक पहिचान बन्यो त्यसपछि भने घुर्नेहरू घटेका छन् रे।
लगानी लाख, आउने हजार
खेलमध्ये महंगो सूचीमा पर्छ बडिबिल्डिङ। तर, सरकारी लगानी छैन बराबर। कसरत, कस्ट्युम अनि खानामा नै धेरै खर्च हुन्छ।
लाखौँ खर्च गरेर अन्तर्राष्ट्रिय पदक जित्दा पाउने त्यही शोपिस मेडल। राष्ट्रको नाम त आउँछ। तर, सधैँ व्यक्तिगत लगानी मात्र हुँदा भने खर्च धान्न धौ-धौ पर्छ।
‘खाना र कपडामा नै धेरै खर्च हुन्छ। हाम्रो देशमा खेलाडी भएर मात्र गुजारा गर्न सकिँदैन। झन् त्यसमा पनि महिला अनि अझ बडीबिल्डिङमा त बढी गाह्रो छ’, उनले भनिन्।
कतिसम्म भने कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्नुपर्यो भने पनि सरकारी निकायले तयारी खर्च दिँदैन।
साधारण दिनमा आधा किलो मासु खानपर्छ उनलाई। अण्डा, धेरै प्रोटिन पनि खानैपर्यो। कपडा पनि त्यस्तै महँगो। स्टेजमा ‘पोज’ दिँदा लगाउने जुत्ता पनि धेरै महँगो छ।
‘मिहेनत पनि धेरै नै पर्छ। साधारण दिनमा त डेढ घण्टा कसरत गर्दा पुग्छ। तर, गेमको समयमा त छ घण्टा कम्तिमा पनि चाहिन्छ’, उनले अनुभव सुनाइन्।
लैङ्गिक विभेद यो खेलमा पनि रहेछ। प्रतियोगितामा पुरुषलाई तयारी भनेर ५ लाख दियो भने महिलालाई २५ हजार पनि दिँदैन रे।
उनी बडिबिल्डिङ गरेरै गुजारा गर्न सकिन्छ भनेर नसोच्दा हुने बताउँछिन्। यो क्षेत्रमा केही गर्न मन छ र खर्च धान्न सकिन्छ भने मात्र बडिबिल्डिङमा आउन उनको सुझाव छ।
‘दिदीबहिनीहरूको लागि प्रेरणा बन्न मन छ। अब मेरो लक्ष्य विश्व च्याम्पियन बन्ने हो। त्यसपछि आफ्नै बिजनेस गरेर, जिम खोल्ने योजना छ’, उनले कुराकानीको बिट मारिन्।
कात्तिक १२, २०८० आइतबार १३:१३:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।