परदेशी-२ : श्रीखण्ड र हलेदो 'छुट्टाउन नसकेका' निर्देशकको झुर गीतीकथा

परदेशी-२ : श्रीखण्ड र हलेदो 'छुट्टाउन नसकेका' निर्देशकको झुर गीतीकथा

फिल्मका निर्देशक नारायण रायमाझी गायक र गीतकार, प्रकाश सपुत पनि गायक अनि निर्देशक। अर्का अभिनेता प्रशान्त तामाङ पनि गायक।

यी तीनै जना मिलेर विभिन्न समस्याका कारण परदेशीएका नेपालीको कथाको प्रतिनिधित्व गर्ने फिल्म बनाएको दाबी गरेका थिए परदेशी-२। तर अन्तमा परदेशी-२ फिल्म हैन दुई घण्टे गीतीकथा बनेछ।

यी तीन जना बाहेक कलाकार वर्षा सिवाकोटी,  केकी अधिकारी र दिलीप रायमाझी लगायतका पनि छन् फिल्ममा!

फिल्मको कथाले मागे अनुसार गीत सङ्गीत राख्दा दर्शक रमाउन पनि सक्छन्। संगीतकैै बलमा हिट भएका फिल्म पनि छन्।

तर टुच्च-टुच्च गीति नाटकको शैलीमा गीत घुसाएर दर्शकको गाली खाने काम किन गरेका होलान् परदेशी-२ का निर्देशकले!

आर्थिक अवस्थाका कारण विदेश जानैपर्ने अवस्था नरहेको परिवारको एक्लो छोरो, संस्कार (प्रकाश सपुत) अमेरिका गएपछि परिवारका सदस्य अनि प्रेमिकासँगको सम्बन्धमा आउने उतारचढाव नै फिल्मको मुख्य कथा हो।

फिल्मको मेकिङ पुरै ९० को दशकको पाराको छ। अहिलेको पुस्ताको निर्देशक अनि कलाकारले नै अभिनय गरेका हुन् कि पुरानो फिल्म रि-कलरिङ गरेर प्रदर्शन गरेको हो भनेर कन्फ्युज बनाउँछ फिल्मको कथ्य शैलीले।

बितिसकेको समाजलाई अहिलेको पर्दामा देखाउनै हुन्न भन्ने तर्क हैन। देखाउन मिल्छ मज्जाले, तर 'झिँगेदाउँ' शैलीमा। पात्र अनि परिवेशसँगै कथा पनि पुरानो भयो भने दर्शकले हेर्छन् पनि।

कथा टिपेको छ अहिलेको तर फिल्म निर्माणको शैली छ एकादेशकालीन। फिल्मको मुल कथा के हो अनि यसको अन्त्य कसरी हुन्छ भनेर अनुमान गर्न आधा घण्टा नि लाग्दैन। यति चाँडै कथा बुझाएर बाँकी डेढ घण्टा समय लम्ब्याउनुको उद्देश्य दर्शकले हलमा आराम गरुन् भनेर हो!

कमजोर कथा अनि पटकथा त भइनैहाल्यो, कति गीत घुसाएको हो फिल्ममा!  संस्कार अमेरिका जाने पक्का भएपछि संस्कृति (केकी अधिकारी)ले तालवाराही दर्शन गर्न लैजान्छिन्। गीत बज्छ ‘के बर मागी फर्केऊ भन,तिमीले पुज्ने देउतासित’।

अमेरिकाको भिसा लागेको खुसियालीमा संस्कारले पार्टी दिन्छन् अर्को गीत बज्छ,‘छुटी जाने भइगयो बेला,यसै गरी भेट होला नहोला।’

बीचमा साथीहरूको केही संवाद आउँछ। त्यसपछि फेरि अर्को गीत सुरु भइहाल्छ,‘भुल्दिन ए साथी’।

भारतीय सेनामा रहेका पोखराका  निर्मान थापा (प्रशान्त तामाङ) दशैँमा भारतबाट रेलमा नेपाल फर्कँदै हुन्छन्। अर्को गीत बज्छ  ‘घामको छायाँ अझ उनको माया’।

यति धेरै गीत राख्नु थियो भने प्रकाश सपुत या प्रशान्तको जीवनीमै फिल्म बनाएको भए कमसेकम उनीहरूको प्रशंसकले त हेर्थे होला!

फिल्मको कथा अगाडि बढ्ने प्रतीक्षा गर्दा गर्दै हाफ टाइम हुन्छ। धैर्य गरेर दोस्रो हाफ हेर्न कुरेमा पछुताउने जोखिम बढि छ।

निर्माण टिमले प्रचारकोक्रममा फिल्म हेरेर दर्शक धरधरी रोएको दाबी गरिरहेका छन्। पक्कै पनि दर्शक रोएकै होलान् तर भावुक दृष्य हेरेर हैन, दशैँको बेलामा हलमा दुई घण्टा राखेर निर्देशकले दिएको यातना सम्झेर पो हो कि!

लामा म्युजिक भिडियोमा गरेको अभिनयलाई बिर्सिने हो भने प्रकाश सपुतले डेब्यु फिल्ममा अभिनयको सक्दो प्रयास गरेका छन्। कमजोरी स्विकार्ने र सुधार गर्ने बानी बसाल्ने हो भने भोलिका दिन नेपाली फिल्म क्षेत्रले राम्रो कलाकार पाउन सक्ने सम्भावना देखियो। 

केकी अधिकारीले आफ्नो अभिनय सुधारेको देखियो। फिल्ममा गतिलो अभिनय उनकै छ। दिलीप रायमाझी लिभिङ टुगेदरमा रहेको प्रेमिकाले छाड्दा लागेको चोट भुल्न मदिरामा डुबेको पात्र हुन्।

रक्सी खाएकोखायै गर्न दिलीपै छान्नुको कारण नेपालबाट अर्को कलाकार लैजाँदा अमेरिकाको भिसा नलाग्ला, दिलीपसँग त पिआरै छ भनेर हो की जस्तो देखियो।

परदेशी-२ मा अभिनय गर्ने  'दर्पणछायाँ' का उम्दा कलाकार दिलीप नभइ उनको अनुहार मिल्ने अर्को सिकारु कलाकार हुन् जस्तो पनि देखिएको छ। 

निर्देशक रायमाझीले प्रशान्त तामाङलाई भारतीय सेनामा कार्यरत नेपाली नागरिक सुवेदार मेजर विष्णु बहादुर श्रेष्ठको सत्य घटनाको पात्र बनाएका छन्। 

बिदामा नेपाल फर्कनेक्रममा हतियारधारी समूहले लुट्न ट्रेनमा हमला गरेपछि उनी एक्लैले खुकुरीको भरमा ती सबैलाई भगाएर यात्रुको ज्यान र धन दुवै जोगाएका थिए। उनको बहादुरीका लागि भारत सरकारले जीवन रक्षक पदक दिएर सम्मानित गरेको थियो।

कथामा हल्का ट्विस्ट दिएर प्रशान्तलाई त्यही भूमिका दिए निर्देशकले। ट्रेनमा छप्काउँछन्, पोखरा आउँछन्, बाटोमा देखिएको संस्कृतिलाई सम्झँदै सुत्छन्। यति हो फिल्ममा प्रशान्तको भूमिका।

लाहुरेहरूको टन्नै कथाहरू भएको र त्यसलाई पर्दामा ल्याउने दाबी गर्छन् रायमाझी। तर उनमा लाहुरेबारे कति ज्ञान रहेछ अनि कस्तो कथाको छनौट गर्ने रहेछन् भन्ने यही फिल्मले देखायो।

बिदेसिन बाध्य नभएको परिवारको सदस्य भएर पनि अमेरिका जाने, परिवारसँग बिछोडिने। यता अनि उता दुबैतिर कलाहिन रूवावासी अनि ट्रयाजिक अन्त्य। रायमाझीले छानेको कथा यही हो।

फिल्मका लागि यो कथा राम्रो हो कि प्रशान्तलाई छुस्स अभिनय गराएको श्रेष्ठको बहादुरीको? यही फिल्म हेर्न हल पुगेका दर्शकको तालीले नै देखाउँछ प्रशान्तको चरित्रको महत्व। तर निर्देशकले 'श्रीखण्ड' छाडेर 'हलेदो'तिर लागे। फिल्मको समय तन्काउन अनि परदेशीको सिक्वेल हो नि भन्ने देखाउन प्रशान्तका लागि सानो पटकथाको प्लट बनाए। 

विस्तृत खोजेर लेख्दा प्रभावकारी हुनसक्ने समाचार छोटकरीमा लेखेर कसैले प्रकाशित गर्यो भने पत्रकारितामा त्यसलाई 'न्युज किल गरेछ' भनिन्छ। फिल्मको कथासँग यसलाई जोड्ने हो भने एक गोर्खालीको वीरता र गर्व गर्न लायक घटनालाई केन्द्रमा राखेर फिल्म बनाउनुको साटो छुस्स छोइदिएर निर्देशक रायमाझीले गतिलो स्टोरी कील गरिदिए। 

कस्तो सिन राख्दा फिल्मको कथा बग्न सक्छ भन्नेतिर भन्दा निर्देशकको ध्यान कसरी दर्शक रुवाउन सकिन्छ भन्नेमा बढी केन्द्रित भएको प्रस्ट देखिन्छ। यो पक्षमा भने निर्देशक सफल पनि भएका छन्।

बाध्यताले देश छाड्नु एक पक्ष भयो, रहरले देश छाड्नु अर्को पक्ष। बाध्यता र रहर दुवै रूपमा नेपालीहरू बाहिरिने क्रम बढ्दो छ।

घरहरू वृद्धाश्रम बन्ने क्रम बढ्दो छ। जसलाई खुसी दिन्छु भनेर युवा पुस्ता बाहिरिइरहेका छन् त्यहीँ पुस्ता एक्लो बन्दै गएको छ।
आमाले छोरा गुमाइरहेका छन्। बुढ्यौली उमेरमा सन्तानको संरक्षण र मायाबाट वञ्चित भइरहेका छन् एक पुस्ता।

कमजोर रूपमा भए पनि त्यस पक्षलाई उजागर गर्ने प्रयास गरेका छन् निर्देशकले।
नेपालीको घर-घरको कथा पर्दासम्म पुर्याउनु यो फिल्मको सकारात्मक प्रयास हो। किन युवापुस्ता बाहिरिइरहेका छन् भन्ने अहिलेको जल्दोबल्दो बहसलाई यसले फैलाउने प्रयास गरेको छ।

यसमा कसिलो कथानक र निर्देशकको मुड अनुसार भन्दा पनि कथाको आवश्यकता अनुसार दृश्य समेट्न सकेको भए फिल्मको गुणस्तर बढ्न सक्थ्यो।

भिएफएक्सको प्रयोग गर्दा हरियो पर्दासम्म हटाउन नसकेको दृश्यले निर्देशकमात्र हैन  प्रविधिमा समेत हामी कतिसम्म कमजोर छौँ भन्ने समेत देखाएको छ यो फिल्मले। दर्शक धेरै अपग्रेड भइसके। अब प्राविधिक पनि अपग्रेड हुनुपर्ने देखियो। 

अमेरिकामा कार दुर्घटनामा परेको दृश्यमा संस्कारको अनुहार र टाउकोबाट बगेको रगतको मात्रा अनि अस्पतालबाट ह्वीलचियरमा बाहिर आउँदाको दृश्य नक्कली जुँगामा गम नपुगेर बिचैमा फुत्किए जस्तै सिनहरु छन्।  यी त माफी योग्य नै हुनसक्थ्यो कथा र पटकथामा नचुकेको भए। तर त्यस्तो बलियो कथालाई प्रभावहीन उपकथा बनाउने अनि, उपकथा लायक कथालाई मुलकथा बनाउने गल्ती गरे निर्देशकले। 

नेपालीको विदेश मोहबारे अध्ययनै नगरी उहीँ विमानस्थलका यात्रुलाई देखाएर देश रित्तियो अनि घाटको चिता देखाएर शहरवासी सबैको मृत्यु भयो भने जस्तै अध्ययन देखियो रायमाझीको। यो नै फिल्मको सबैभन्दा ठूलो चुक हो। एक त फिल्म रिलिजहुनै पाँच वर्ष लाग्यो। त्यो पनि यस्तो ! निर्मातामाथि ठुलै अन्याय गरेको देखियो उनले।

अब यत्रो गम्भीर चुक गरिसकेका निर्देशकले फिल्म निर्देशनको क्रममा चयन गरेको लोकेशन , सम्पादन, ब्याकग्राउण्ड म्युजिक लगायतबारे थप टिप्पणी गरेर दशैँको माहौलमा पाठकलाई के रुने बनाउनु!

होस् छाडिदिउँ। दिक्किँदै रुनै मन भए परदेशी-२ हेरेरै रुनु।

२८ असोज, २०८०, २१:५३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।