वीना शर्माको प्रसव पीडा र खुसी : छोरी जन्मिएपछि प्रसवपछि हुने डिप्रेसनमा पुगेँ
कृषि विकास बैंकको ‘मार्केटिङ एण्ड सेल्स डिपार्टमेन्ट’को ‘डिपार्टमेन्ट हेड’ हुन्, वीना शर्मा। उनले यही बैंकमा काम गर्न थालेको २३ वर्ष भैसक्यो। घरमा विज्ञान विषय पढेर कि त डाक्टर बन्ने नभए इन्जिनियर बन्ने सल्लाह भयो। उनले पनि विद्यालय छोडेको प्रमाणपत्र (एसएलसी) पास भएपछि विज्ञान नै रोजिन्।
त्यतिबेला अहिलेको जस्तो खासै अवसर थिएन। अनि डाक्टर र इन्जिनियर नहुने भन्दै उनी स्नातकमा कृषितिर मोडिइन्। पढाइमा अब्बल विना स्नातकमा ऐश्वर्य विद्या पदकबाट सम्मानित भइन्। उबेला स्नातकमा नेपालभर प्रथम हुने महिलालाई उक्त पदक दिइन्थ्यो। मानव शास्त्रमा स्नातकोत्तर गर्दै उनले ‘एमबीए’ पनि गरिन्।
विभिन्न परियोजनाहरूमा काम गरेको अनुभव बटुलिसकेकी विनाले पढाइ सक्नेबित्तिकै काम काम पनि पाइहालिन्। त्यसपछि पछाडि फर्केर हेर्नुपरेन। विवाह हुँदा उनी २५ वर्षकी थिइन्।पहिलो सन्तान जन्मँदा नै उनी कृषि विकास बैंकमा आवद्ध भइसकेकी थिइन्।
उनै शर्माले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमामा आफ्नो मातृत्व अनुभव यसरी साटिन्:-
०००
त्यतिबेला २० वर्ष कटिसकेपछि छोरी मान्छेको बिहे गरिदिनुपर्छ भन्ने मान्यता थियो। म भने स्नातक सकिने समयसम्म २२ वर्षकी भइसकेकी थिएँ।
घरमा सबै जना शिक्षितको भएर स्नातक नसकेसम्म बिहेको कुरा नगर्ने भन्ने भयो। स्नातकको परीक्षा सकिने बित्तिकै मैले काम पनि पाइहालेँ। त्यसपछि त झन् तत्काल बिहे नगर्ने बाटो पाएँ।
अनि २५ वर्षको उमेरमा मेरो मागी बिहे भयो। त्यो बेलामा २५ वर्षमा बिहे हुनु भनेको धेरै नै ढिला मानिन्थ्यो। मेरो श्रीमान् त्यसबेला वीर हस्पिटलको डाक्टर हुनुहुन्थ्यो। त्यसको दुई वर्षपछि हामीले योजना अनुसार नै पहिलो सन्तान जन्मायौँ।
गर्भवती भएको थाहा पाएपछि म एकदम उत्सुक भएँ। त्यो बेलाको अनुभव एकदम मिश्रित रह्यो। ‘यो सबैलाई कसरी सम्हाल्ने होला? अब त आमा हुने भइयो’ भन्ने लागिरहन्थ्यो।
परिवारमा त झन बढी खुसी छाएको थियो। मेरो श्रीमान्को पाँच जना दाजुभाइ। उहाँ माइलो सन्तान हुनुहुन्छ। ठूलो दाइको सन्तानहरू पनि ठूलो भइसकेको थियो। त्यै भएर घरमा अब सानो मान्छे आउने भयो भनेर सब जना खुसी थिए।
गर्भवतीको समयमा म चितवनमा थिएँ। पछि श्रीमान् पनि चितवनकै हस्पिटलमा आउनुभयो। ठ्याक्कै मैले कृषि विकास बैंकमा काम पाएको भएर त्यसबेला गर्भवतीको ‘फेज’ भाग्यमानी रह्यो भन्ने लाग्यो। हामी दुवै जना चितवनमा सँगै भएपछि खुसी थियौँ। तर, ‘डेलिभरी’ चाहीँ काठमाडौंमै गर्नुपर्छ भन्ने लाग्यो। आफन्त सबै यतै भएर पनि होला।
गर्भवतीको समयमा शारीरिक परिवर्तन त हुने नै भयो। अलि अर्कै खालको अनुभूति हुने रहेछ। कोही म भित्र हुर्किरहेको छ, भन्ने लागिरह्यो। डेलिभरी हुनुभन्दा एक महिनाअघि काठमाडौं आएँ। नयाँ काम भएको भएर अलग्गै केही गरेर देखाउँछु भन्ने हुटहुटी थियो नै।
त्यसबेला म क्रेडिट अफिसर थिएँ। गर्भवतीकै अवस्थामा फिल्डतिर पनि खुब धाइयो। आफैँले मोटरसाइकल चलाएर धेरै ठाउँमा पुगेँ। श्रीमान्ले यस्तो बेला बिस्तारै चलाउनु भन्नुहुन्थ्यो। श्रीमान् आफैँ डाक्टर भएको कारण पनि म विश्वस्त थिएँ।
गर्भ बसिसकेको रहेछ। मैले थाहा नै पाइन। त्यसबेला मलाई मासु खानै मन लागेन। पछि त मासु खानै छोडिदिएँ। ठ्याक्कै चार वर्ष सम्म खाइनँ। अर्को नानी जन्मिदा चाहिँ एकदम मासु खान मन लाग्यो। पहिलो नानी पाउँदा छोडेको मासु दोश्रो नानी पाउने बेला खाएँ।
गर्भवतीको सुरूमा मलाई वान्ता आउने, खाना नरुच्ने त्यस्तो केहि भएन। तर, पछि पेट ठूलो हुँदै जाँदा चै वान्ता सुरू भयो। सात/आठ महिनापछि त झन् केहि खायो कि आइहाल्थ्यो। कहिलेकाहिँ त रगत नै आउने पनि हुने रहेछ। छ महिनापछि चाहिँ राति सुत्न अफ्ठ्यारो हुन्थ्यो।
पहिलो पटक सन्तान हुँदा जुन प्रकारको अनुभूति रह्यो दोश्रोमा त्यो त्यस्तो केही भएन। पहिलो नानी जन्माउँदा अनुभव गरेकाले पनि होला। तर, पहिलो बच्चालाई जुन तरिकाले सिकाउनुपर्छ, त्यसरी सिकाउन पाइएन कि जस्तो लाग्यो। दोस्रो सन्तान जन्मेपछि पहिलो सन्तान टाढा-टाढा भएको जस्तो अनूभुति हँदो रैछ। त्यो बेला नरमाइलो लाग्यो।
डेलिभरी हुनुभन्दा पहिले मानसिक रूपमा सबै ठिकठाक थिएँ। तर, डेलिभरी भइसकेपछि चाहिँ प्रसवपछि हुने डिप्रेसनमा गएँ।
‘पहिला पो एक्लो थिएँ, अब त म एक्लो रहेन’ भन्ने हुने रहेछ। अनि सुत्दा पनि बच्चा पनि छ भन्ने भान भइराख्ने। झसङ्ग-झसङ्ग हुने भइरह्यो। त्यो बेलामा संकटकाल लागिरहेको थियो। कर्फ्यू चलिरहेको थियो। जतिखेर पनि बन्द नै बन्द मात्र हुन्थ्यो। बन्द हुन्छ भनेर अगाडि नै हस्पिटल जानुपर्यो।
बिहान पेट दुख्ला जस्तो भयो। व्यथा लाग्ने समय अलि नभएको रहेछ। तर, पनि बन्द होला भन्ने डरले दुई दिन अघिनै हस्पिटलमा भर्ना भएँ। त्यति बेला त बन्द पनि धेरै समयसम्म हुन्थ्यो। बन्द भयो भने के गर्ने होला भन्ने पीर थियो।
अनि तेश्रो दिनमा अलि-अलि व्यथा लाग्न थाल्यो। १२ घण्टाको व्यथापछि छोरी जन्मियो। त्यो बेलामा आमालाई खुब सम्झिएँ। आमा नजिकै बसे पनि हुन्थ्यो नि भन्ने लागिरह्यो। ठ्याक्कै आमा आउनुभयो। आमालाई देखेपछि म आफैँले ढुक्क महसुस गरेँ। उहाँ मसँगै बसिरहनुभयो।
छोरी जन्मिने बित्तिकै मेरो छातीमा राखिदिनुभयो। ओहो! त्यो अनुभव कसैले पनि कसरी बिर्सिन सक्छ? त्यो अनुभूति व्याख्या गर्ने सक्दिनँ म। त्यतिबेला ‘हे भगवान, मलाई अर्को जन्ममा पनि छोरी नै बनाइदिनुस्’ भन्न भ्याएँ। १२ घण्टाको प्रसव पीडा त छोरीलाई समात्ने बित्तिकै कहाँ हरायो पत्ताे नै भएन।
मेरो एक जना आफन्तले स्तनपान गराउन नसकेर एकदम गाह्रो भयो भनेर सुनाउनुभएको थियो। मैले पनि त्यस्तै महसुस गरेँ। स्तनपान गराउन निकै मुस्किल। दूधै आएन। मन नलागी नलागी बजारको दूध खुवाएँ।
दोश्रो दिन घर फर्कियौँ। त्यो बेला पनि बन्द नै थियो। हस्पिटलमा भेट्न आउनेहरू कोही साइकलमा आउने, कोही हिँडेर आउने गर्नुभएको थियो। केहिले त यो छोरीको नाम त ‘नेपाल बन्द राख्नुपर्यो, कि आन्दोलन राख्नुपर्यो’ भनेर ठट्टा पनि गर्नु भएको मलाई याद छ।
२०५८ साल जेठ १५ गते जन्मिएकी छोरीलाई १८ गते त जन्डिस देखियो। त्यसलाई साधारण नै मानिने रहेछ। तर, पहिलो सन्तान भएको भएर हामी डरायौँ। पछि श्रीमान् छोरीलाई लगेर कान्ति बाल असपताल जानुभयो। म त सुत्केरी, हिँड्न हुन्न भनेर जान दिनुभएन।
केही दिन हस्पिटलमै राखौँ भन्नुभएछ। त्यसपछि चाहिँ म गएँ। दुई दिन त्यतै राख्नुभयो। म हस्पिटलमै थिएँ। १९ गते बिहान राजदरबार हत्याकाण्डको खबर सुनियो। एक्कासी त्यस्तो खबर सुन्दा चिसोपना महसुस गरेँ।
फेरि कर्फ्यू लाग्यो। बाटोमा हेर्यो, सबैले कपाल काटेको छ। एकदम भयानक दृश्य थियो त्यो। सुत्केरीको समयमा फेरि दश दिनसम्म छुट्टै बस्नुपर्छ भन्ने चलन थियो त्यो बेला। चोखो गर्नपर्ने, अरुतिर छुन नमिल्ने, श्रीमान् पनि नजिक आउनै नहुने।
झन् त्यै बेला चाहिँ मलाई श्रीमान् नजिक भइदिएको भए हुन्थ्यो। गफ गरिदिएको भए हुन्थ्यो भन्ने भइरहेको थियो। चारैतिरबाट त्यस्तो माहोल भएको कारण पनि म प्रसवोत्तर डिप्रेसनमा गएँ।
कर्फ्यू सक्किने बित्तिकै घर आयौँ। हस्पिटलको चिसोले गर्दा खुट्टा सुन्निने, जिउ दुख्ने भइसकेको थियो। फेरि एक महिना घरमा राखेपछि मात्र माइती लग्ने चलन थियो। घाम नलागेको भएर छिट्टै गएँ।
दोश्रो सन्तान पनि हाम्रो योजना अनुसार नै भएको हो। दुई जना त चाहिन्छ भन्ने नै थियो। छोरीको लागि साथी होस् भनेर पनि पाएको। उसको बेलामा त बन्द हुने केही थिएन। उसको बेलामा पनि व्यथा लाग्ला जस्तो भएर हस्पिटलमा गयौँ। तर, त्यति लामो समय लागेन।
गएको एक/दुई घण्टामै जन्माइहालेँ। दोश्रोमा पनि स्तनपान त राम्रोसँग हुन सकेन। अहिले पनि गर्न पाउँदिन कि जस्तो लाग्यो।
दुई सन्तान भइसकेपछि करिअर मेन्टेन गर्न त एकदम गाह्रो नै भयो। पहिलो छोरी सानो हुँदा म यता आएँ। श्रीमान् चाहिँ पढ्न जानुभयो। तीन वर्षसम्म त घरमै बसेर सबैको साथमा स्याहार गर्न पाएँ।
त्यही पनि काममा आउजाउ त गर्नु परिहाल्यो। काम गर्नेको भरमा छोडेर जान पनि गाह्रो नै थियो। बच्चाहरूलाई हेर्नपर्ने बेलामा त निकै गाह्रो भयो। सानोमा फेरि बच्चाहरूले केहि पनि नखाइदिने, समय लाइदिने। उनीहरूलाई तयार गरेर आफू काममा जानु निकै चुनौती भयो।
चार वर्षको अन्तर भए पनि दुवै छोरी उस्तै स्वभावका थिए। हुर्किँदै गएपछि चाँही व्यवहार फरक देखिन लागे। दुवै एकदम चुप लागेर बस्ने। चकचक पनि नगर्ने। सानी छोरी त बिस्तारै एकदम बुझ्ने भएर आइन्। आफ्नो उमेर भन्दा परिपक्वता बढी देखिन थाल्यो व्यवहारमा।
दिदीलाई पनि सम्झाउने खालको। अहिले जेठी छोरी एमबीबीएस गर्दैछिन्। उसले आफ्नो बाबाकै पेशा रोजिन्। सानी छोरी चैँ ‘प्लस टु’ मा ‘ए लेभल’ गर्दैछ। उनी अर्थशास्त्रतिर आकर्षित भइरहेकी छन्।
उनीहरू सानो हुँदा ‘मेरो बच्चाहरू, म पनि पहिला यस्तै थिए’ भन्ने लाग्थ्यो। अनि ठूलो हुँदै गर्दा चाँही साथी जस्तै लाग्न थाले। आत्मियता अलि बढी नै रह्यो। सबै कुराहरू एक अर्कालाई भन्ने माहोल पनि बन्यो।
हामीले उनीहरूलाई सम्झाउने, उनीहरूले हामीलाई सम्झाउने हुँदै गयो। दुवै छोरी भए पनि घरमा छोरा पाउनुपर्ने दवाव खासै आएन। मेरो श्रीमान्को पाँच जना दाजुभाइ अनि ससुराहरू पनि दाजुभाइ मात्र हुनुहुन्थ्यो।
घरमा सबै जना छोरा मान्छे मात्रै। ससुरालाई छोरीको एकदम रहर रहेछ। सासुले पनि ‘छोरी पाउने भन्दा भन्दै पाँच जना छोरा मात्र पाएँ’ भन्नुहुन्थ्यो। तीन/चार पुस्तादेखि त्यो घरमा छोरी नै थिएनन्। अनि हाम्रो पहिलो छोरी भएपछि एकदम खुसी हुनुभयो सबैजना।
दोस्रो सन्तान पनि छोरी हुँदा त घरमा माहोल नै गज्जबको बन्यो। त्यति बेलासम्म फेरि अरू दाजुभाइहरूमा पनि कसैको छोरी भएका थिएनन्।
अब एउटा छोरा चाहियो भनेर कसैले भने पनि सासुआमाले नै ‘किन चाहियो छोरा? छोरी भए भैहाल्यो नि!’ भन्नुहुन्थ्यो। पहिला श्रीमान्-श्रीमती मात्र थियौँ। त्यसमा बच्चा पनि थपिए।
हाम्रो सम्बन्ध बच्चाहरूमा आइसकेपछि समय पनि बाँढिन थाल्यो। उनीहरूलाई पनि समय दिनु परिहाल्यो। तर, सन्तान भएपछि श्रीमान्-श्रीमतीको सम्बन्धमा फरकपना आउनेरैछ। आफ्नो सम्बन्ध, घरपरिवार, सन्तानको जिम्मेवारी र कामलाई पनि समेट्दै लग्दा छोरी मान्छेलाई निकै गाह्रो हुने।
त्यही भएर सबै ठाँउमा शत-प्रतिशत दिन सकिँदैन। केहि न केहि त छुट्दै जान्छ नै। सबैलाई व्यवस्थापन गर्दै आफ्नो काममा मिहिनेत गरिरहनुपर्छ।
प्रसव पीडाका यसअघिका सामग्री
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
असोज २१, २०८० आइतबार १८:३०:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।