ब्याच नम्बर ६९ : घुस लिएर आदेशदिएको भन्दै बाबु थापाले भने- ‘अब न्यायाधीश मार्नुपर्छ’
केही सातादेखि सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्या अनुसन्धानबारे लेखिरहेको छु। यो निकै जटिल अपराध त भयो नै अनुसन्धान पनि उस्तै जटिल भएको थियो। यस अगाडिको अंकमा बाबु थापा पक्राउ र उनको आपराधिक पृष्ठभुमीबारे उल्लेख गरेको थिए। अब बाँकी प्रशंग :
OOO
बाबु थापा भनिने मेघबहादुर थापा, शिव भन्ने करण चौधरी, नवीन भन्ने प्रेमराज खड्का, दीपक कर्ण अनि सञ्जय ईस्माली मगर (भगवान)। यी सबै न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न देखिए।
हत्याको मुख्य योजनाकार बाबु। करण चौधरी र सञ्जय चैँ सुटर। अनि अन्य निगरानी गर्ने र ओसार्ने सहयोगी।
पाँच जनामध्ये चार जना प्रहरीको नियन्त्रणमा आइसकेका थिए। सञ्जय घटनापछि वैदेशिक रोजगारीका लागि साउदी अरब गएको खुल्यो। उनलाई तत्काल पक्राउ गर्न सम्भव भएन।
बाबु पहिल्यैबाट आपराधिक पृष्ठभूमिका व्यक्ति थिए भन्ने त यस अगाडिको अंकमा लेखिसकेको छु। उनी पटक-पटक अपराधमा संलग्न हुँदा पनि दण्डित नहुँदा थप गम्भीर अपराधमा हौसिँदै गएको देखियो। जसको नतिजा न्यायाधीश बमको हत्या जस्तो गम्भीर अपराध थियो।
उनी भारतीय सेनाको भगौडा थिए। नेपाल आएर सर्लाही, धनुषा, बारा, पर्सा रौतहटका क्षेत्रमा आपराधिक गतिविधि चलाउन थाले। हतियारसहित समातिए। तर छुटे। क्षेत्रीय राजनीतिकको हावा चर्किएपछि उनी चुरे प्रदेश बनाउनुपर्ने भन्दै गठन भएको चुरे भावर पार्टीमा लागेर नेता बने।
सरकारले उनलाई नेता स्वीकार गर्दै वार्ता नै गर्यो। रामचन्द्र पौडेल शान्तिमन्त्री भएको बेलामा तराइका आपराधिक समूहलाई वार्तामा ल्याउने प्रक्रियामा थापासँग पनि वार्ता भएको रहेछ। यसले उनमा जे गरे पनि हुने रहेछ भन्ने आत्मबल बढ्दै गयो।
बाबु राजनीतिको आवरणमा आपराधिक व्यक्तिले राज्य संयन्त्रमा कस्तो प्रभाव पार्न सक्छन् र त्यसको नतिजा के आउँछ भन्ने विषयको एक अध्ययनका उचित पात्र समेत हुन्।
राजनीतिको आवरणमा रहेका आपराधिक मनोवृत्तिका व्यक्तिलाई कानुन अनुसार दण्डित गर्नुको सट्टा जेलाई पनि राजनीतिक नजरले हेरेर राज्यले किन नेगोसियन गर्न हुन्न भन्ने गतिलै पात्र हुन् बाबु।
OOO
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बाबुसहित चारै जनालाई पक्राउ गरेर सिआइबीको महाराजगन्जमा रहेको कार्यालयमा ल्याइयो। अब बाबुलाई भेट्नु त पर्यो।
म सिआइबीको प्रमुख भएपछि एक पटक कुरा गरौँ न कस्तो कुरा गर्ने रहेछ भनेर बोलाउँदा निकै फुर्तीफार्ती देखिएको थियो। पत्रकार सम्मेलन गर्नु न त भनेरै धम्क्याएका थिए। अब त फुर्ती झर्यो होला नि!
जब भेट्न गएँ उनी झोक्राएर उभिएका थिए। सिधा आँखा मिलाएर बोल्न सकेनन्। पुलुक्क म तिर हेरे अनि भुईँतिर घोसेमुन्टो लगाएर बसे।
यो पाली बोल्ने ठाउँ पनि त थिएन। किनकि यस पटक शङ्का हैन प्रमाणहरू सहित पक्राउ परेका थिए उनी। प्रमाणहरू उनीसँगै उभिएका थिए।
प्रहरीले शङ्का गरेर बाबुलाई पटक-पटक नियन्त्रणमा लिएको पनि हो। प्रहरीले कसैलाई खोजेको खोज्यै गरिरहँदा एक न एक दिन पोल खुल्छ भन्ने डर जस्तोसुकै बलियो आत्मबल भएकालाई पनि लागिहाल्छ। त्यसमा पनि मिडियाले पनि समाचार लेख्न छाडेका थिएनन्।
पोल खुलिहाल्ला कि भनेर लामो समय लुकेर बस्दा जस्तोसुकै अपराधी पनि भित्रभित्रै खोक्रो भइसकेका हुन्छन्। नयाँ मान्छे देखे पनि मलाई नै समात्न आएको हो कि भन्ने लाग्नु अनि प्रहरी देख्दा समात्ला कि भनेर डराउँदा 'ह्या कति भाग्नु' भनेर दिक्क लाग्नु स्वभाविकै हो। यो बेलामा आत्मबल कमजोर हुन्छ अपराधीहरुको। मनोबल खस्किएकै बेलामा हो प्राय: जेलिएको अनुसन्धान सफल हुने।
बाबु पहिलादेखि नै लागुऔषधको अम्मली। बम हत्यापछिको तनावले लागुऔषधको डोज पनि बढेको रहेछ उनको।प्रहरीसँग भाग्दा-भाग्दा बाबु पनि दिक्कीसकेका रहेछन्।
बाबुको दाबी पत्याउने हो भने पहिलो पटक जब सिआइबीले समातेको थियो त्यही बेला नै 'कति भाग्नु ' भनेर अपराध स्विकार्ने मुडमा पुगिसकेका रहेछन्। तर त्यो बेला सिआइबीका केही अधिकृतले गलत व्यवहार गरेकाले' जति टेन्सन दिने हो दिउन्, भन्दिन' भन्ने मुडमा पुगेका रहेछन्। जब सिआइबी टोलीले भाग्दाभाग्दै बाबुलाई समात्यो त्यहीबेला 'समात्नु भयो,आनन्दै भयो' भनेका रहेछन्।
OOO
यता प्रहरीको हैरानी र दिक्दारी पनि कम थिएन। घटना भएको २०६९ जेठ १८ गते। अनि समूह पक्राउ पर्यो २०७१ पुस १८ मा। २ वर्ष ७ महिनापछि अनुसन्धान सफल भयो।
अनुसन्धानमा लागेको समय महत्वपूर्ण हैन। १२ वर्षपछि अनुसन्धान सफल भएका घटना पनि छन्। रानीबारी हत्याकाण्ड १२ वर्षपछि सफल भएको त हो। तर रहस्यमै रहेका अपराध हुन् ती।
तर बम हत्या अलि भिन्न खालको अपराध र अनुसन्धान भयो। घटना कसले गराएको लगभग पक्का भइसकेको थियो तर पक्राउ गर्न पर्याप्त प्रमाणको अभाव थियो।
तर यो बिचमा प्रहरीले के गर्न बाँकी राख्यो र अनुसन्धानमा ! नेपाल प्रहरीले गरेको अनुसन्धानमा यो सबैभन्दा खर्चिलो अनुसन्धान भने पनि हुन्छ।
पहिला तत्कालीन महानगरीय प्रहरी आयुक्त कार्यालयले समिति नै बनाएर अनुसन्धान गर्यो। समितिले अनुसन्धान गरेको टेलिफोन कलको गणना नै नगरौँ। कति हो कति। काठमाडौँ अनि ललिपुरको सिमामा रहेको घटनास्थल वरपरको घटनाको समयमा सक्रिय रहेको कल विवरणको संख्या कति होला आफैँ अनुमान गर्नुस्। लाखौँमा हुनु स्वभाविकै हो नि।
त्यो बेलामा २ लाखभन्दा बढी त एमएसमएको मात्रै अध्ययन भएको थियो। सामाजिक सञ्जालका सूचनाको विश्लेषण, प्रहरीलाई आएका सूचना, यस्तो रे भन्दै सुनिने गफको भेरिफाई। एक सय बढी जनशक्ति निरन्तर खटिएका थिए अनुसन्धानमा।
प्रहरी अनुसन्धानमा लागेकै छ। उता प्रधानमन्त्री भेटे पनि खै त भन्ने, गृहमन्त्री अनि सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि 'खै त समातेको' भनेर सोधिरहने। समात्नुपर्ने को हो थाहा हुँदाहुँदै पर्याप्त प्रमाण नहुँदा खै? भन्ने प्रश्नको उत्तर हुँदैछ भनेर दिनुपर्दा प्रहरीलाई पनि दिक्क लाग्छ नि।
उता बाबु अब त समाते पनि हुने नि भनेर दिक्किएको, यता हामी कस्तो प्रमाणै फेला नपरेको भनेर दिक्किएको। जब समूहसहित बाबु समातिए दुबैपक्षलाई ढुक्क। बाबु भागीभागी हिँड्नु परेन। प्रहरीले टुलुटुलु बाबु हेरेर बस्नु परेन।
OOO
घटनाको कारण पत्ता नलगाई केवल व्यक्ति मात्रै पक्राउ पर्नु त अनुसन्धानको आधा पाटो मात्र सफल हुनु हो। तर यसमा सबैभन्दा जटिलै यही आधा अनुसन्धानको पाटो बनेको थियो।
समूहको पक्राउसँगै घटनामा को-को संलग्न छन् भन्ने पक्षको अनुसन्धान सक्कियो। तर घटनामा किन संलग्न भए भन्ने पक्षको अनुसन्धान बाँकी नै थियो।
बाँकी रहेको कारण खोज्ने पक्ष त्यति गम्भीर थिएन। किनकि जो-जो संलग्न थिए ती दिक्कीसकेका थिए। अर्को अब हामी जोगिन सक्दैनौँ भनेर उनीहरूको मनोबल पनि खस्किसकेको थियो। यस्तो बेलामा त्यति गाह्रो हुन्न अनुसन्धान। भयो पनि त्यस्तै।
बाबु ढुंग्रेखोला, सर्लाहीका। उनको भूमिका बमको हत्याको मुख्य योजनाकार अनि हतियार व्यवस्थापन गर्ने। जनकपुरका ३८ वर्षीय शिव भन्ने करण चौधरी पहिलो सुटर। उनैले बमलाई गोली हानेको देखियो।
सर्लाही नयाँ रोडका प्रेमराज खड्का सुटर चौधरीलाई राखेर मोटरसाइकल चलाउने अनि बमको निगरानी गर्ने सहयोगी।जनकपुरका दीपक कर्णको जिम्मा पनि बम कहिले कता जान्छन् भनेर निगरानी गर्ने र सूचना दिने। उता साउदी अरब पुगेका सञ्जय ईस्माली मगर दोस्रो सुटर।
बम हत्यामा कसको भूमिका के थियो भन्ने पनि खुल्यो। अब अनुसन्धानमा बाँकी रह्यो हत्याको कारण खुलाउने।
OOO
चुरे भावर राष्ट्रिय एकता पार्टी गठनको बेलामा बाबु उपाध्यक्ष भएका थिए। अध्यक्ष भए केशव मैनाली। पहिलो संविधान सभाको निर्वाचनमा समानुपातिकमा आएको मत अनुसार यो पार्टीले एक सांसद पायो। त्यसमा मैनाली चयन भए। त्यो बेलामा एक सिटले पनि सरकार बनाउने वा गिराउने क्षमता राख्थ्यो। उनी मन्त्री नहुने कुरै थिएन।
दोस्रो संविधान सभाको निर्वाचनमा बद्री न्यौपाने सभासद् भएर मन्त्री बनेका थिए।
पहिलो संविधान सभातिरै फर्किउँ। जब मैनाली मन्त्री भए अनि बाबु र उनीबिच मनमुटाब सुरु भयो। पार्टीका पकड बाबुकै थियो। मैनाली नेपाली कांग्रेसमा लागेर राजनीति गरेकाले पार्टी अध्यक्ष भएका रहेछन्।
मन्त्री बन्न सकिने अवस्था देखिएपछि बाबु जसरी पनि मैनालीलाई पार्टीबाट हटाएर आफैँ सभासद् भन्ने रणनीतिमा लागे। उनले गृह राज्यमन्त्री बनाउने आश्वासन पनि पाइसकेका रहेछन्।
तर मैनालीले सहजै कहाँ पार्टी छाड्थे र! पहिलो पटक विवाद बढेपछि निर्वाचन आयोगले दुबैपक्षलाई सम्झाएर मत्थर बनाएको रहेछ। तर विवाद समाधान भएन। बल्झियो।
बाबुले आफ्नो पक्षमा रहेकाहरूलाई समावेश गरेर पार्टीको महाधिवेशन गराए। अनि मैनालीलाई अध्यक्षबाट हटाए।
मैनाली उनको निर्णयविरुद्ध महाधिवेशन अवैध भन्दै आयोग गए। बाबुले रिसाए। उनले उजुरी दिएको झोकमा मैनालीको छोरा समीरलाई गोली नै हान्न लगाए।
निर्वाचन आयोगले बाबुले आयोजना गरेको महाधिवेशनलाई वैधता दियो। अनि मैनाली आयोगविरुद्ध सर्वोच्च अदालत गए। अदालतले आयोगको निर्णयको विपक्षमा आदेश दिँदै अर्को आदेश नआएसम्म निर्णय कार्यान्वयन नगर्न भन्यो।
उता समीरको हत्या प्रयासको आरोपमा प्रहरीले बाबुविरुद्ध अपहरण र ज्यान मार्ने प्रयासको अभियोगमा अनुसन्धान गर्यो। उनी पुर्पक्षका लागि जलेश्वरको कारागार चलान भए।
त्यहीँ कारागारमा थिए करण चौधरी। उनी हातहतियार तथा खरखजाना मुद्दामा जेल परेका रहेछन्।
बाबु जेल परेको केही दिनमै उनीहरूबिच परिचय भइहाल्यो। पहिल्यैबाट जेलमा बसेका चौधरीले बाबुलाई जेलमा सहयोग गर्न थाले। दुवै मित्र बने।
करण सुटर थिए। करण आफ्नालागि काम लाग्ने व्यक्ति भएको बाबुले थाहा पाइहाले। ११ महिनाको कारागार बसाइपछि दुवै रिहा भए।
बाबुले करणलाई काठमाडौँ ल्याएर आफ्नै डेरामा राखे। अनि खानपान र खर्चको व्यवस्थापन आफैँले गरेँ।
OOO
मैनाली मन्त्री बनेको तर आफू राज्यमन्त्री समेत बन्न नपाएको भन्दै बाबु भित्रभित्रै रिसाइरहेका थिए। उनी नयाँ दल खोलेर बलियो बन्न चाहन्थे। तर दलमात्र खोलेर हुनेवाला केही थिएन। एक मधेस एक प्रदेशको राँको रन्किएको बेलामा चुरे प्रदेश भन्दै पार्टी खोलेर चुरे भावर पार्टी चम्किएको थियो।
उनी पार्टीको नाम पनि चल्ने अनि बदला पनि पुरा हुने योजना बनाउनतिर लागे।
निर्वाचन आयोगले आफूलाई मान्यता दिँदादिँदै हस्तक्षेप गरेर अदालतले मैनालीलाई अध्यक्ष बनाउँदा पैसाको चलखेल भएको उनको विश्वास रहेछ। स्टे अर्डर जारी गरे पनि तीन वर्षसम्म त्यसको फैसला नै आएन। जानाजान न्यायाधीशले मैनालीसँग मिलेर आफूलाई निष्क्रिय राख्ने काम गरेको भन्दै उनी न्यायाधीशको हत्या गर्ने अनि नयाँ दलको नाममा जिम्मा लिने रणनीतिमा लागे।
अब राजनीतिक सोच र योजना भएको भए उनले नयाँ दल गठन गरेर जनतामा परिचित गराउन राजनीतिक रणनीति बनाउँथे। उनले जानेकै अपराध। उनको योग्यता र अनुभवै अपराधको। अनि चुरे प्रदेश भनेर एक मधेस एक प्रदेशवालालाई तर्साएरै राजनीतिमा फाइदा भएको हो। त्यो बेलामा यिनीहरूले सेना पनि बनाएका थिए। अनि हतियार पनि जम्मा गरेका थिए। तर राज्य संयन्त्रले वास्ता गरेन। उनले नयाँ दललाई चर्चामा ल्याउन आफ्नो अनुभव र योग्यता अनुसारै आपराधिक योजना नै बनाए।
चुरे भावरको आधिकारिकताको विवाद रणबहादुर बमको इजलासमा तोकिएको थियो। आयोगको निर्णय उल्टाउँदै बाबुको महाधिवेशनलाई मान्यता नदिन स्टे अर्डर उनकै इजलासले दिएको थियो।
आफू गृह राज्यमन्त्री हुन लागेको बेलामा बमले मैनालीसँग पैसा लिएर आफूलाई हराएको भन्दै बाबु रिसाए। त्यहीँ घटनाले न्यायाधीश बमको हत्या गर्ने योजना बन्यो। र सहयोगीलाई भनेछन्'अब न्यायाधीश मार्नुपर्छ।'
OOO
करणसँग बाबुको दोस्ती भइसकेको थियो। हतियार सङ्कलन गर्न के गाह्रो हुने भयो र उनलाई!
सञ्जय इस्माइली मगरसँग पहिलादेखि नै बाबुको चिनजान थियो। बमले पैसा लिएर राजनीतिक करिअर ध्वस्त बनाएको कथा सुनाएर अब बदला लिनुपर्छ भनेर सहमत गराए मगरलाई।
मगर पनि राजी भए। उनी पनि सुटर नै थिए। तर उनले अर्को सुटर पनि चाहिने भने। चौधरी थिए नै।
हत्याको योजना कार्यान्वयन गर्न तीन वटा मोटरसाइकल जम्मा पारे। तीमध्ये एउटा चोरीको मोटरसाइकल थियो। २० हजारमा किनेका रहेछन्।
आफैँले नम्बर प्लेट बनाएर बा ४३ प ७२०८ राखिदिए। प्रेमराज खड्का र दीपक कर्णलाई बमको दैनिक गतिविधि निगरानी राख्ने जिम्मा दिए।
त्यो बेलामा बममाथि सर्वोच्चमै अनुसन्धान भइरहेकाले इजलास तोकिएको थिएन। तर उनी अदालत भने जान्थे।
यी दुई मिलेर उनको घरको दिनचर्या, उनले प्रयोग गर्ने रुट, उनका साथीहरू, प्राय उनले प्रयोग गर्ने गाडी अनि गाडीमा को-को हुन्छन् सबै सूचना लिए।
बम हरेक बुधवार बङ्गलामुखी मन्दिर दर्शन गरेर सर्वोच्च अदालत जाने गरेको पत्ता लगाए। कलङ्कीबाट भित्री बाटोहुँदै बङ्गलामुखी मन्दिर पुगेर दर्शन गर्न उत्रिदा हत्या गर्न सकिने उनीहरूले निष्कर्ष निकाले।
त्यो योजना अनुसार घटनाको दिन उनीहरू छरिएर बसे। एक समूह बमको घर बाहिर बसे। साढे नौ बजेतिर बम घरबाट निस्किए लगत्तै उनीहरूले अर्को समूहलाई जानकारी दिए।
अर्को समूह कलङ्की चोकमा थिए। बमको गाडी अगाडि बढेपछि उनीहरूले पनि फलो गरे। बाबु एक्लै मोटरसाइकलमा अलि टाढै बसेर फलो गरे। अन्य दुई बाइकमा मगर र चौधरी पछाडि बसे। उनीहरू दुवै जनासँग पेस्तोल थियो।
गाडी बुधवारकै रुट अनुसार भित्री बाटोबाट बङ्गलामुखी मन्दिर पुग्यो। गाडी रोकेर बम र उनको परिवारका सदस्यहरू ओर्लिएर दर्शन गर्न गए। उनीहरूको योजना त त्यहीँ गोली हान्ने थियो। तर त्यो दिन मन्दिर वरिपरि भिड धेरै भएकाले उनीहरूले हिम्मतै गरेनन्।
परिवारका सदस्यहरूलाई मन्दिरमै छोडेर बम साथी राम गिरी र सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक महेश गिरी सहित गाडीमा चढेर शंखमुलको बाटोतिर लाग्छन्। शंखमुलहुँदै सर्वोच्चतिर जाने शंखपार्क क्षेत्रमा पुगे लगत्तै करण चढेको मोटरसाइकल स्पिडमा आएर बमको गाडी अगाडि रोकियो।
के भएको हो भनेर अङ्गरक्षक बाहिर निस्कनखोज्दा पहिलो गोली उनैलाई लाग्छ। चालक अक्क न बक्क भए। अब राम गिरीले केही गर्न सक्ने अवस्था रहेन।
न्यायाधीश बमले हात उठाउँदै जोगिने प्रयास गरे पनि उनीहरूले के छाड्थे र। उनीहरूले बमलाई ताकेर दनादन गोली हाने। ६ राउन्ड गोली लागेर ढलेका बम कसरी बचुन!
उनीहरूले पर्चा निकालेर घटनास्थल वरपर छर्छन् जसमा नेपाली जनता स्वतन्त्र स्वाभिमान राष्ट्रिय पार्टी लेखिएको थियो। एक समूह मोटरसाइकलमा शंखमुलतिर भाग्छन्। बाबु कोटेश्वरहुँदै काँडाघारीमा रहेको डेरामा पुग्छन्।
अनुसन्धानमा न्यायाधीश बम हरेक दिन एक सुरक्षाकर्मी मात्र लिएर ट्याङलाफाट क्षेत्रमा मर्निङ वाक गर्ने गरेको देखियो। बिहानै एक्लै हुने बमको हत्याका लागि त्यही समय पो उपर्युक्त हुने थियो। उनीहरूले त्यहाँ गोली नहानेर बिहान खुल्ला सडक किन रोजे?
खसखस लाग्ने नै भयो। यसबारे बाबुलाई सोधेको पनि हो। उनले बिहानै हिँडिरहेको बेलामा मारे धेरै हल्लै नहुने भन्दै धेरै जनाले घटनाबारे थाहा पाउन अनि आफ्नो नयाँ पार्टीको नाम पनि चर्चित होस् भनेर पहिला बङ्गलामुखी अनि पछि शंखमुल छानेको पो भने।
बमको हत्यापछि पनि उनीहरूले अन्य व्यक्तिहरूको हत्या गर्दै पर्चा छरेर आतङ्क मच्याउने योजना बनाएका रहेछन्। अनुसन्धानकैक्रममा बाबु प्रहरको शङ्कामा परिहाले।
अब अन्य घटना गराए त पक्का पक्राउ परिन्छ भनेर उनीहरू तितरबितर भएका रहेछन्। तर जोगिएनन्। प्रहरीको मिहेनतले काम गर्यो। जटिल अनुसन्धान सफल भयो।
(प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआईजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)
असोज १८, २०८० बिहीबार २२:४९:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।