अनमोल पक्राउ घटनामा प्रहरीभित्रै दुई धार, फिल्म क्षेत्रमा एक्लिए उजुरीकर्ता निर्देशक सुदर्शन ( भिडियो रिपोर्ट)

अनमोल पक्राउ घटनामा प्रहरीभित्रै दुई धार, फिल्म क्षेत्रमा एक्लिए उजुरीकर्ता निर्देशक सुदर्शन ( भिडियो रिपोर्ट)

काठमाडौँ : आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतबाट अनुमति आएसँगै घटनाले नयाँ ट्विस्ट लियो। अदालतले उनी पक्राउ परेका दिनदेखि नै गणना हुने गरी अनमोलको म्याद थप गरेको थियो। 

अदालतबाट म्याद पाएपछि अनमोल प्रहरी हिरासतमा बस्नुपर्ने थियो। प्रहरीले अनुसन्धानका लागि २३ दिनसम्म अनुमति पाउन सक्थ्यो। तर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको थियो। 

कार्यालयले कसैलाई पक्राउ गर्ने अनि अनुसन्धान गर्ने अधिकार पाए पनि मुद्दा प्रक्रिया अगाडि बढाउने कानुनी अधिकार भने पाएको छैन। सो कानुनी अधिकार जिल्ला प्रहरी परिसर र वृत्तहरूमा रहेको छ।

अनुसन्धान कार्यालयले परिसरमा अनमोलको मुद्दा पठाए लगत्तै परिसरले उनलाई कार्यालयमा ल्याएर बयान लियो अनि हिरासतमा राख्ने न्यायिक अनुमतिमा लागि जिल्ला अदालत काठमाडौँमा पेस गर्यो।

प्राय घटनामा प्रहरीले मागेको म्यादको समय फेरबदल भएर म्याद आउने गरे पनि अनमोलको केसमा त्यस्तो भएन। अदालतमा म्याद थप्न हुन्छ या हुन्न भन्ने विषयमा बहस भयो। बहसको क्रममा अनमोलका पक्षका वकिलहरूले उनीमाथि लागेको आरोप देवानी प्रकृतिको भएकाले उनलाई हिरासतमा नराखी तारेखमा रिहा गर्न माग गरेका थिए।

अदालत बिचको बाटोमा देखियो। उसले अनमोलका वकिलहरूको माग अनुसारको आदेश दिएन न प्रहरीको माग अनुसार नै स्वीकृति दियो। प्रहरीले आठ दिन हिरासतमा राख्ने म्याद मागेकोमा अदालतले तीन दिनको मात्र म्याद दियो। त्यो पनि पक्राउ परेको दिनबाट गणना हुने गरी।

उनी शुक्रवार पक्राउ परेकाले सोमबार म्याद सकिन्छ। त्यसपछि प्रहरीले पुन उनलाई हिरासतमा राख्ने म्यादका लागि अदालतमा पेस गर्नुपर्छ।

यता काठमाडौँ परिसरले पनि बिचको बाटो समात्दै अनमोललाई अनुसन्धानकै दायरामा राख्दै उनलाई हिरासतमा नराखी हाजिर जमानीमा छाडिदियो।

काठमाडौँको प्रहरीले अनमोल कतै भाग्ने सम्भावना नदेखिएको, उनले प्रमाण नष्ट गर्न सक्ने अवस्था नरहेको र चिकित्सकीय रिपोर्ट अनुसार उनको स्वास्थ्य ठिक नभएको आधारमा टेक्दै उनको आफन्तको रोहवरमा प्रहरीले खोजेको बेलामा उपस्थित गराउने गरी आइतबार बेलुका नौ बजेतिर नियन्त्रणमुक्त गरिदियो।

प्रहरी हिरासतमा बस्नु नपर्ने भएपछि अनमोल चिरायु अस्पताल पनि गएनन्। उनी सिधै आफ्नै घरमा गएर बसे।

प्रहरी कार्यालयबिचै मतभेद

अनमोलको घटनाले दुई प्रहरी निकायबिच घटनालाई हेर्ने विषयमा मतभेद देखियो। एसएसपीकै नेतृत्वमा रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीमाथिको आरोप गम्भीर देख्यो र तीन वर्षसम्म कैद हुनसक्ने कानुनी दफा लगाएर पक्राउ आदेश लिएको थियो। त्यही आधारमा उनी शुक्रवार पक्राउ परे। अपराध कार्यालयको प्रमुख छन् एसएसपी सोमेन्द्र राठौर।

शुक्रवार अनमोल पक्राउ परेपछि कार्यालयले उनलाई हिरासतमा राख्न प्रहरी बृत्त सिंहदरबार पठाएको थियो। तर स्वास्थ्य अवस्था ठिक नभएको भन्दै उनी दुई दिन अस्पताल गएर बसे। चिरायुको पाँचौँ तलाको क्याबिन नम्बर ५०१ मा बसेका उनी आइतबार प्रहरी कार्यालयमा उपस्थित भए।

जब केस जिल्ला प्रहरी कार्यालयमा आयो त्यहाँ नेतृत्वले अनमोलमाथि लागेको आरोप त्यति गम्भीर देखेन। काठमाडौँ जिल्ला परिसरमा पनि एसएसपी तहकै प्रहरी प्रमुख हुन्छन्। काठमाडौँको प्रमुख छन् भूपेन्द्र खत्री।

अदालतबाट म्याद पाए पनि कसैलाई हिरासतमा राख्ने वा हाजिर जमानीमा छाड्ने भन्ने निर्णयको अधिकार अनुसन्धान अधिकारीमा हुन्छ। काठमाडौँको प्रहरीले त्यही अधिकार प्रयोग गर्दै अनमोललाई हाजिर जमानीमा रिहा गर्यो। यसले प्रहरी कार्यालयका प्रमुखबिच एकै घटनालाई हेर्ने दृष्टिकोण भिन्न देखियो।

एक्लिँदै गए निर्देशक सुदर्शन

अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी दिएको थियो सुदर्शन प्रडक्सनले। प्रडक्सनले निर्माण गर्ने तयारी गरेको फिल्म रावायणमा अभिनय गर्न पैसा लिएर पछि फिल्म खेल्न अस्वीकार गरेको भन्दै उनी विरुद्ध उजुरी परेको थियो।

मुद्दाको प्रकृति लेनदेनको भए पनि प्रहरी उनीमाथि गम्भीर अपराधको आरोप लगाएको थियो। अनमोल पक्राउ पनि परे। अनमोल पक्राउ परेपछि फिल्म क्षेत्रमा सुदर्शनको आलोचना सुरु भयो। 

अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमा लेख्दै कुनै विवाद ,असमझदारीलाई अपराधको नाम दिइहाल्न मिल्छ होला र ? भन्ने प्रश्न गरिन्। सम्झौता पत्र हस्ताक्षर नगरेको छ भने जसरी मौखिक समझदारी भएको थियो  प्रोजेक्ट चित्तबुझ्दो नलागेमा तेसैगरि , त्यो रकम फिर्ता गर्न पाइन्छ र त्यो ठुलो कुरा नभएको उनको धारणा थियो। 

'यो आपसी समझदारीको कुरा हो। यस्तो अतिरञ्जित गरेर जेल , मुद्दा मामिला गर्नुपर्ने विषय हो जस्तो लग्दैन। अनमोल शालीन बच्चा हो ,यस्तो डिजर्भ गर्दैन। यस्तो घटनाले समग्र चलचित्र क्षेत्रलाई नोक्सान हुन्छ' उनले लेखिन्।

उता अनमोल हाजिर जमानीमा मुक्त भएपछि निर्देशक सुदर्शनले फेसबुकमा लामो धारणा राखे। उनले आफ्नो अहिलेसम्मको व्यावसायिक यात्रामा नयाँ तथा पुराना धेरै कलाकारसँग सहकार्य गरिसकेको र कलाकारको ब्यवसायीक प्रक्रिया र पाउनु पर्ने पारिश्रमिकको अधिकारका विषयमा सधैँ सचेत रहने गरेको लेखे। उनले कसैलाई दबाब र अभावमा काम गराउने मनसाय छैन र  इमानलाई सुहाउँदैन भन्ने दाबी गरे।

'कागजी सहमति मात्रै हुनुपर्छ भन्ने छैन। व्यवहारिक र दरिलो मौखिक सहमति मै चलचित्र "रावायण" को निर्माण कार्य अगाडी बढेको हो। बेतुक र मनमौजी अभिव्यक्ति दिएर मिडियामा सस्तो प्रचारबाजी गर्नु भन्दा नैतिकता र मानवताको धर्मलाई आत्मसात् गर्दै आफ्नो पेसागत धर्म र मर्यादामा रहन कलाकार भाईबहिनिलाई मेरो व्यक्तिगत सुझाव दिन चाहन्छु। र अन्त्यमा मोटो पारिश्रमिकको माग गर्नु भन्दा पहिला आफूलाई पूर्णतया तयार गर्न र तोकिएको समयसिमा भित्र आफूलाई हरेक पक्षबाट तयार गरी निर्माण टिमलाई आफ्नो कारण पर्न सक्ने क्षतिबाट जोगाउन विनम्र अनुरोध गर्दछु' उनले लेखे।

यसले चलचित्र क्षेत्रमा आफ्नो कामको आलोचना बढेपछि सेफजोन खोज्दै उनले आफ्नो धारणा राखेको देखिन्छ।

१४ असोज, २०८०, ०२:०१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।