मध्यमधार : बाइ-सेक्सुअल युवती रिता भन्छिन्- ‘परिवारले स्वीकारे, बाहिर जे भने पनि के भो र!’
ठ्याक्कै एक वर्षअघि। रिता उप्रेती कक्षा ११ पढ्न काठमाडौंकै एक विद्यालय गइन्। कपाल छोटो, कपडा त विद्यालयकै सर्ट पाइन्ट भइहाल्यो। एक दिन उनीहरूलाई नै पढाउने एक जना शिक्षिकाले बोलाइन्।
शिक्षिकाले कपाल किन काटेको भनेर ठाडो प्रश्न गरिन्। रिताले ‘मलाई कपाल पालेको मनपर्दैन त्यसैले’ भनिन्। शिक्षिकाले भनिन्, ‘तिमीले गर्दा अरु दुई सय जना छात्राहरू बिग्रन्छन् कपाल पाल्ने गर।’
कपाल पाल्दैमा केटाहरू बिग्रने र काट्दैमा केटीहरू बिग्रन्छन् भन्ने कुराको एक रति विश्वास थिएन रितालाई। रिताले भनिदिइन्, ‘मलाई कपाल पाल्दा असहज महसुस हुन्छ, पाल्दिनँ।’
शिक्षिकाले नसकेपछि अन्य शिक्षकहरू आएर पनि उनलाई ‘सम्झाउन’ खोजे तर उनी टसको मस भइनन्। कपाल पाल्न मन लागे पाल्ने र मन नलागे काट्दा अरुलाई असर गर्दैन।
बिल्कुलै व्यक्तिगत कुरामा शिक्षक/शिक्षिकाले टर्चर दिएको फिटिक्कै मन परेको थिएन। उनले कपाल काटिनन्। अहिले उनलाई विद्यालयमा उस्तो नराम्रो व्यवहार त गरिन्न। तर, नौलो मान्छे जसरी हेर्न भने छाडिन्न। तै पनि उनी विद्यालयमा रमाइरहेकी छिन्, पढिरहेकी छिन्।
बाइ–सेक्सुअल भन्ने थाहा पाएपछि...
उमेरले धेरै भएकी छैनन् रिता। सानै उमेरमा पनि परिपक्व कुरा गर्छिन् निर्धक्क साथ। ९ वर्षअघि बुबा बितेपछि रिता र बहिनीलाई आमाले हुर्काइन्।
जन्म घर काभ्रे भए पनि आफ्नो सन्तान पढाउन उनका बुबाले काठमाडौं ल्याएका थिए। बिरामीले बुबालाई उनी सानै हुँदा लग्यो। रिता अहिले कक्षा १२ पढ्छिन्। बहिनी नर्सिङ गरिरहेकी छन् महाराजगञ्जमा।
दुखै गरेर आमाले घर धानिरहेकी छन्। तर, पनि रितालाई आमालाई सहयोग गर्न मन लाग्यो। दुई महिना भयो ट्युशन पढाउन थालेको उनले। दिउँसो तीन बजेदेखि राती ९ बजेसम्म स्कुलका बच्चाहरूलाई पढाउँछिन्। बिहान क्याम्पस र दिउँसोदेखि ट्युशन पढाएर बित्न थालेको छ उनकी दैनिकी।
महिनावारी भएदेखि नै उनलाई अरुभन्दा आफू फरक छु भन्ने त लाग्यो नै। तर के हो थाहा पाउन सकेकी थिइनन्। विद्यालयमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबारे नपढेकी होइनन् तर आफू के हो भेउ पाउनै सकेकी थिइनन्। टिकटकमा यो समुदायका मान्छेहरूले भिडियो हेरिन्।
रिताले आफ्नो हुलिया नै परिवर्तन गरिन्। कपाल काट्न नदिने घरमा उनले कपाल पूरै खौरिएर काटिदिइन्। साथीहरूसँग टिकटक बनाउन थालिन्। धेरैले ‘केटा हो की केटी हो?’ भनेर कमेन्ट गर्न थाले। उनलाई यो कुरालाई च्वास्स लाग्थ्यो।
‘आफ्नो पहिचानबारे कसैले प्रश्न उठाउँदा कस्तो च्वास्स लाग्ने रहेछ’, उनले भनिन्।
र पनि उनी टिकटकमा रमाउँदै गइन्। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको संस्थामा पनि जान थालिन्। आफू जस्तै अरु साथी भेट्दा मेरो ठाउँ त यही रहेछ भन्ने लाग्यो त्यसपछि निरन्तर उनी संस्थाहरूको कार्यक्रममा जान थालेकी छन्।
‘जब संस्थाहरूमा गएँ, त्यसपछि आफ्नो लैंगिकताबारे कुरा हुने रहेछ। मेरो साथीहरू त यहाँ पो रहेछन् भन्ने भयो। अनि म प्राइड मन्थको कार्यक्रममा पनि जान थालेँ।’
टिकटकमा यो समुदायको सचेतनामा आधारित बनाएको उनको भिडियो पहिलो समेत भएको थियो।
लैंगिकतामा विविधता हुन्छ। त्यही मध्येको एक हो बायोसेक्सुअल। बाइ–सेक्सुअलहरू शारीरक रूपमा महिला अथवा पुरुष दुवैप्रति आकर्षित हुन्छन्। उनीहरू समलिंगी विवाह पनि गर्न सक्छन् या विपरीतलिंगीसँग पनि।
अझ प्रष्ट रूपमा भन्दा एक भन्दा बढी यौनिकता भएकासँग आकर्षण हुने गर्छन् बाइ–सेक्सुअलहरू। रिताको अहिले नै कोसँग विवाह गर्ने भन्ने निर्णय नै गर्नसक्ने भइसकेकी छैनन्।
‘मेरो अहिले कोसँग विवाह गर्ने निर्णय लिन बेला भइसकेको छैन,’ उनले भनिन्, ‘पछि जोसँग विवाह गर्न मनलाग्छ उसैसँग गर्छु। केटा अथवा केटी भन्दिन्। प्रेम जोसँग हुन्छ विवाह पनि उसैसँग हुन्छ नि होइन र?’
घरमा स्वीकृति छिमेकीको टाउको दुखाइ
टिकटकमा छोरीको भिडियो आउन थालेपछि रिताकी आमाले पनि हेर्न थालिन्। ‘राम्रै एक्टिङ गर्दिरैछेस् त!’ भनिन्।
रिताको आत्मविश्वास बढ्दै गयो। उनले आमालाई आफू बाइ–सेक्सुअल भएको कुरा सुनाइन्। आमाले रिताले सोच्दै नसोचेको जवाफ दिइन्।
‘तँ जे सुकै होस् मेरो सन्तान होस्। आफू जे हो त्यो स्वीकार्नुपर्छ। अरुले के भन्छन् मतलब नगर।’
आमाले यति भन्दा रिताको भुईंमा खुट्टा भएन। खुसी भइन्। तर, छिमेकीले ‘के पाराले हिँडेकी?’, ‘बाउ नभएर बिग्री’, ‘लवाइ हिँडाइ सबै केटाजस्तो’ भन्दा रिता सिधै भनिदिन्थिन्, ‘मेरो लवाइ र हिँडाइमा हजुरहरूलाई किन तनाव?’
‘घरमा मानेपछि त बाहिरको वचनले त त्यति नछुँदो रहेछ,’ रिताले भनिन्, ‘बाहिर छक्का जस्ती भने पनि छुनै छाड्यो।’
सोसल मिडिया चलाउने नै भइन्। सुरुमा त कमेन्ट यस्तो आउने की उनलाई सहनै गाह्रो हुन्थ्यो। पछि-पछि बानी पार्दै लगिन्। साइबर बुलिङ धेरै हुन थालेपछि बीचमा चलाउन छाडेकी पनि थिइन्। तर, फेरि उनलाई लाग्यो लडाइँ त धेरै बाँकी छ, बुलिङ हुँदैमा किन डराउने?
‘खास हामी एलजीबीटीआइक्यु समुदायको हो भन्दा धेरैले ट्रेण्ड फलो गरेकोसमेत भन्छन्। तर, कसैले ट्रेण्डकै लागि आफ्नो यौनिकताबारे जे पायो त्यही बोल्छ र?,’ उनले भनिन्, ‘त्यत्रो साइबर बुलिङ, छिमेकीको वचत, मनको डर जितेर भन्दा पनि ट्रेण्ड फलो गरेको भन्दा चित्तै दुख्ने रहेछ।’
शिक्षकहरूले यौनिकताबारे पढाउने गरे पनि खासै कुरा नबुझेको जस्तो लाग्ने बताउँछिन् रिता।
‘केटा र केटी भन्दा फरक बिहे भयर देखायो भने शिक्षकले तैँले सबैलाई बिगार्ने भइस् भन्ने। उहाँहरू साक्षर तर अशिक्षित जस्तो लाग्छ। गाउँमा गयो भने फलानाकी छोरीले बुहारी ल्याउँछे भनेर जिस्काउँछन्’, उनले भनिन्।
मध्यमधारका अन्य सामग्री
असोज १२, २०८० शुक्रबार १७:१६:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।