ब्याच नम्बर ६९ : रणबहादुर हत्या योजनाकार बाबुले पहिलो भेटमा त धम्क्यायो, दोस्रो भेटमा के गर्ला!
तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले मलाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखमा सरुवा गर्नुको पछाडिको विविध कारणहरूमध्ये एक सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्या अनुसन्धान पनि जोडिएको थियो।
अर्यालले प्रत्यक्ष भनेका हैनन्। उनी ब्युरो प्रमुखहुँदा नै अनुसन्धान भइरहे पनि एआइजीहुँदै आइजिपी नियुक्त भए। ब्युरो सिधै प्रहरी महानिरीक्षक मातहत रहने भए पनि आइजिपी आफैँले अनुसन्धान गर्ने त हैन। उनी र म एकै ब्याचका। उनी पनि ६९ ब्याचकै प्रहरी निरीक्षक हुन्। एक पटक म बढुवामा छुट्दा उनी लगायतका ब्याचीहरु अगाडि लागे। म पछिपछि।
प्रहरी महानिरीक्षकले आफ्नो प्रत्यक्ष मातहतमा रहेको अनि गम्भीर अनुसन्धान गर्ने निकायमा आफ्नो विश्वासिलो व्यक्ति खोज्न नाजायज पनि हैन। अपराध अनुसन्धानमा अनुभव भएको प्रहरी अधिकृतले ब्युरोको प्रमुखमा प्राथमिकता पाउँदै आएका थिए। म एकाध वर्ष बाहेक अपराध अनुसन्धानमै खटिएको थिएँ।
बम हत्याको योजनाकार बाबु थापा भएको पर्याप्त प्रमाण फेला परेसँगै उनी पक्राउ पर्दा खुसी लाग्ने नै भयो। एकातिर न्यायाधीश बमको हत्याको कारण र योजनाकार पत्ता नलाग्दा अप्रत्यक्ष रूपमा त्यसको असर न्यायालयमा परिरहेकै थियो। अर्को प्रहरीको अनुसन्धान क्षमतामाथि पनि प्रश्न उठ्ने नै भयो। बाबुसहित तीन जना पक्राउ पर्दा यी दुवै समस्याको सम्बोधन भयो।
उता टोली पक्राउ परेकाहरूलाई काठमाडौँ ल्याउँदै थियो। यता बाबुको पृष्ठभूमि केलाउनतिर लागियो। त्यो बेलामा ब्युरोमा पीताम्बर अधिकारी थिए। बाबुको पृष्ठभूमि खोज्न उनीसहित ब्युरोको टिम लाग्यो।
OOO
एक मधेस एक प्रदेशको काउन्टरमा चुरे प्रदेशको माग उठाएर थापाले राजनीतिक छवि बनाएका थिए। तर उनको पृष्ठभूमि पुरै आपराधिक रहेछ
सर्लाहीको उत्तरी क्षेत्र उनले कब्जा समान गरेका रहेछन्। राजमार्गमा चुंगीकर उठाउने ठेक्का यिनले नै लिने रहेछन्।
सर्लाहीमा हुने लागुऔषधदेखि रक्तचन्दन तस्करीसम्ममा यिनको संरक्षण देखियो। अब हप्ता असुली त सामान्य भइहाल्यो बाबुलाई।
देश सङ्घीय संरचनामा गएसँगै क्षेत्रीय मुद्दाहरू चर्किन थाले। मधेसवादी दलले एक मधेस एक प्रदेशको माग उठाएर चितवनसमेत मधेस प्रदेशमा राख्नु पर्ने भनेर आन्दोलन गर्न थाले।
मधेस प्रदेशमा समेटिन सक्ने जिल्लामा रहेका पहाडी समुदाय त्यसको विपक्षमा थिए। कांग्रेसमा सक्रिय केशव मैनालीले क्षत्रिय मुद्दालाई क्यास गर्न चुरे भावर क्षेत्र समेटेर अलग्गै चुरे प्रदेश बनाउनुपर्ने भन्दै पार्टी नै खोले चुरेभावर राष्ट्रिय एकता पार्टी। बाबु त्यसको उपाध्यक्ष भए।
पहाडे समुदायको संरक्षक हामी हौँ भन्दै उनीहरू सक्रिय भए। चुरे क्षेत्रमा मधेस प्रदेशको समर्थक र चुरे समर्थकहरूबिच झडप हुन थालेका थिए। बाबु राजनीतिमा त आए नै उनको आपराधिक कर्म पनि जारी नै थियो। त्यो बेलामा चुरे क्षेत्रमा काँग्रेस, एमाले लगायतका दलका नेताहरू निष्क्रिय थिए। मैनाली अनि थापा मधेस प्रदेशको विपक्षमा उभिएपछि काँग्रेस अनि एमालेका नेताहरूले पनि उनीहरूलाई नै साथ दिए। चुरे क्षेत्रमा मैनालीसँगै बाबु पनि नेताको रूपमा परिचित भए।
तर उनको पृष्ठभूमि राजनीतिक भन्दा आपराधिकै बढी देखियो। उनी विरुद्ध अपहरण, अवैध हातहतियारदेखि लुटपाटसम्मको क्रिमिनल रेकर्ड फेला पर्न थाल्यो। त्यो पनि एक जिल्लामा मात्रै हैन। १२ वटा जति जिल्लामा
अब सर्लाहीमा उनको आपराधिक रेकर्ड हुने नै भयो, काठमाडौँ, ललितपुर, जनकपुर, बारा, रौतहट अनि महोत्तरीमा पनि क्रिमिनल रेकर्ड फेला पर्यो।
उनको स्थायी ठेगाना नै सर्लाहीको ढुंग्रेखोला। २०६४ मा बाराको निजगढमा लुटपाट गर्दागर्दै उनी हतियारसहित पक्राउ परेर सार्वजनिक अपराधको अभियोगमा ११ दिन प्रहरी हिरासतमा बसेका रहेछन्। हतियारसहित समातिदा सार्वजनिक अपराधमा प्रहरीले मुद्दा प्रक्रिया अगाडि बढाएको रहेछ।
२०६५ असार २४ मा महोत्तरी, बर्दिबासको औराही रोडबाट भरत हमाल नामका व्यक्तिको अपहरण भएको उजुरी प्रहरीमा दर्ता भएको रहेछ। यो अपहरणको योजनाकारमा पनि उनै बाबुको नाम थियो। हमाल अपहरणको आरोपमा पक्राउ परेर उनी अदालतबाट धरौटीमा छुटेका रहेछन्।
सर्लाहीमा त थापाविरुद्ध टन्नै क्रिमिनल रेकर्ड फेला पर्यो। २०६६ फागुन ६ मा अवैध हातहतियारको केस रहेछ त्यहीँ। सर्लाहीको हरिऔनमा जेएच ०६ सी ७७३३ नम्बरको बलेरो गाडीमा सहयोगीसहित थापा पक्राउ परेपछि उनको घरको तलासीलिँदा हतियार फेला पर्यो।
उनको घरबाट प्रहरीले इटालियन पेस्तोल, दुईवटा कटुवा पेस्तोल र १६ राउन्ड गोली नै फेला पारेको रहेछ।
यति मात्रै हो र! उनको बारेमा त थप गम्भीर अपराधहरू पनि खुल्दै पो गयो। राजनीतिको आवरणमा उनी भित्रभित्रै अपराधमा सक्रिय रहेछन्। चुरे क्षेत्रमा बसोबास गर्ने पहाडी समुदायको सहानुभूति र समर्थन पाएर त्यसको दुरुपयोग गरेर अपराध गरेका टन्नै रेकर्डहरू फेला पर्न थाले।
चुरेभावरका अध्यक्ष मैनाली र थापाबिच पार्टीको नेतृत्वबारे खटपट चलिरहेको थियो। त्यही बेलामा मैनालीका छोरा गोली लागेर घाइते भए। यसको आरोप उनै थापालाई लाग्यो। उनी यही केसमा सहयोगीसहित पक्राउ परे। अनि अदालतबाट पुर्पक्षका लागि थुनामा परेर ११ महिना त जेलै बसेका रहेछन्। यता ललितपुरमा पनि थापाविरुद्ध अवैध हतियारको मुद्दा रहेछ।
उनी विरुद्ध यति धेरै क्रिमिनल रेकर्ड होला भन्ने त सोचिएन नै। रणबहादुर बमको हत्यामा उनी संलग्न हुन सक्छन् है भन्ने त थियो नि। यदि त्यही बेलामा उनको आपराधिक रेकर्डहरू पनि खोतलिएको भए उनको पृष्ठभूमिबारे थप तथ्यहरू आउने रहेछन्।
OOO
अपवाद बाहेक कोही एकै पटक गम्भीर प्रकृतिको अपराधको योजनाकार बन्दैनन्। बिस्तारै राज्यका कमजोरीहरूसँग खेल्दै, आत्मबल बढाउँदै गम्भीर अपराधको योजनामा प्रवेश गर्ने हुन्। त्यसैले त सामान्य अपराधमा संलग्न हुँदा नै कुनै व्यक्ति राज्य संयन्त्रको नजरमा परेपछि उसलाई गम्भीर अपराधतिर लाग्न नदिन आवश्यक प्रक्रिया अपनाउँछन्।
परामर्श दिने हो कि, उसको मनोवृत्ति अनुसार उसलाई पहिल्यै हतोत्साहित गराउने हो या निरन्तर निगरानी राखेर कुनै अपराधको योजना बनाएर कार्यान्वयन गर्नु अगाडि नै पक्राउ गर्ने हो आवश्यकता अनुसार रणनीति अपनाउँछन्। तर नेपालमा यो सम्भवै भएन।
कानुन बनेका छन्। कार्यान्वयन गर्ने निकाय पनि बनेका छन्। नेपालको कारागार सम्बन्धी कानुन हेर्ने हो भने कारागार सजाय दिने हैन सुधार गर्ने केन्द्र हो भन्ने देखिन्छ पनि। अनि पटके अपराधीको गतिविधि निगरानी राख्ने राज्य संयन्त्र पनि छ। सबै छ त छ तर कार्यान्वयन छैन। अब कार्यान्वयनविनाको संरचना मात्र भएर के गर्नु!
यदि भएका संरचनाले काम गरेको भए बाबु सिमामा बसेर तस्करीमा संलग्न भएदेखि नै उसलाई थप अपराध गर्न राज्य संयन्त्रले हतोत्साहित बनाइहाल्थ्यो। आफ्नै पार्टीका अध्यक्षको छोरालाई गोली हानेर हत्या प्रयास गराउँदा अनि दुई वटा हतियारसहित पक्राउ पर्दा समेत बाबु राज्यको कानुन कार्यान्वयन गर्ने निकायको निरन्तर निगरानीमा रहेनन्। त्यसको परिणाम सर्वोच्च अदालतको न्यायाधीशको हत्याको रणनीति बनाएर कार्यान्वयन गर्नेसम्मको तहमा पुगे पनि। अपराध गर्दा पक्राउ परेकै आधारमा उनको मनोबल खस्किएन। ह्या उम्किहाल्छु नि भन्ने आत्मबल पो बढ्यो। यही देखियो उसको ट्र्याक रेकर्डबाट।
OOO
यो केसमा सबैभन्दा बलियो आपराधिक रेकर्ड त ललितपुरकै हुने देखियो। किनकि ललितपुरमा बाबुमाथि अवैध हतियारको आरोप लागेको बम हत्यापछि थियो। बममा प्रयोग भएको हतियार ललितपुरको घटनामा जोडिन सक्थ्यो नै!
अब हो चैँ के भनेर सोधपुछ गर्ने, पाएका जानकारी क्रस भेरीफाई गर्न बाबुसहित उनको टिमका अन्य तीन सदस्य पनि सँगै ब्युरोकै कार्यालयमा आउँदै थिए।
यस पटक उनले पहिलो भेटमा जस्तो धम्क्याउन सक्ने सम्भावना थिएन। किनकि पहिला पो कल डिटेलको आधारमा शङ्का बाहेक केही थिएन। अब त बाबुले कसरी योजना बनाए अनि कसरी योजना सफल भयो सबै खुलाउने थप सदस्यहरू पनि पक्राउ परिसकेका थिए।
यसभन्दा अगाडिका केही एपिसोडमा मैले अपराधीहरूको मनोविज्ञानबारे लेखेको थिए। झुक्किएर वा आवेगमा रिस थाम्न नसकेर अपराध गर्ने अनि योजनाबद्ध रूपमा अपराध गर्ने अनुभवीको व्यवहार निकै फरक हुन्छ।
जो अपराधमा अनुभवी हुन्छ नि उसले प्रहरीसँग म विरुद्ध बलियो प्रमाण केही छैन भन्ने थाहा पाउँछ प्रहरीलाई उल्टो फनफनी घुमाइदिन्छ। रणबहादुर हत्यामा बाबुले गरेको त्यही थियो।
बाबुलाई प्रहरीले जति पटक पक्राउ गरेर ल्यायो नि एक्लै ल्यायो। उसका सहयोगी कोही पक्राउ परेनन्। अनि प्रहरीसँग सोध्ने प्रश्न भनेको न्यायाधीश रणबहादुर बमको हत्या भएको बेलामा किन त्यहाँ गएको भन्ने बाहेक अर्को पूरक प्रश्न थिएन। यो पटक अवस्था त्यस्तो थिएन। प्रश्न मात्रै हैन प्रमाण समेत थपिएको थियो।
तर जब उनीहरूले प्रहरीसँग आफ्नो विरुद्ध प्रमाण छ भन्ने थाहा हुन्छ नि अनि खरर आफ्नो अपराध स्वीकार गरिहाल्छन्। यस पटक बाबुसँग प्रहरीबाट उम्किने बाटो कमै थियो।
त्यही भएर पनि टोलीले कतिखेर बाबुलाई काठमाडौँ ल्याउँछन् भन्ने आतुरी भएको हो।
पहिलो भेटमा त बाबुले मज्जैले धम्क्याए, दोस्रो पटक आमनेसामनेहुँदा के भन्ला? खसखस लागिरह्यो।
(प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआईजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)
असोज १०, २०८० बुधबार २०:०७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।