पद्मश्री साहित्य पुरस्कार यस वर्ष देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’लाई​​​​​​​

पद्मश्री साहित्य पुरस्कार यस वर्ष देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’लाई​​​​​​​

काठमाडौं : २०७९ सालको पद्मश्री साहित्य पुरस्कार देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’लाई प्रदान गरिने भएको छ।

खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका अनुसार १८० पुस्तक मध्येबाट यस कृतिलाई उत्कृष्ट ठहर्याइएको हो।

मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो। मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ।

साथै वर्षको पद्मश्री साधना सम्मान चित्रकला र कार्टुन कलाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लाई दिने निर्णय गरेको छ।

त्यसैगरी पद्मश्री गौरव पुरस्कार यस वर्ष शिक्षाको क्षेत्रमा विशेष योगदान गरेका शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई दिइने भएको छ।​

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीनवटैको पुरस्कार रकम तीन लाख रुपैयाँ रहेको छ। 

वि.स. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहऱ्याएको पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।

२०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ।

त्यस्तै गत वर्षदेखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिनुहुने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कार द्वारा सम्मान गर्ने भएको छ।

पुरस्कार कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिने छ। 

८ असोज, २०८०, ११:५९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।