हिसिला यमिको प्रसव पीडा र खुसी : बच्चा जन्माउनासाथ अरू बच्चासँग राख्ने रहेछन्, मेरो बच्चा साट्ने त हैन भन्ने डर लाग्यो!
![हिसिला यमिको प्रसव पीडा र खुसी : बच्चा जन्माउनासाथ अरू बच्चासँग राख्ने रहेछन्, मेरो बच्चा साट्ने त हैन भन्ने डर लाग्यो!](https://ukeraa.prixacdn.net/media/albums/hisila_prasab_pLHnZoWesW.jpg )
असनकाे रैथाने हिसिला यमि काठमाडौँको भुराँखेलमा छ दिदी र एक दाइपछि जन्मिएकी कान्छी छोरी हुन्। त्यही भएर पनि उनले तुलनात्मक रूपमा अझ बढी स्वतन्त्र भएर हुर्कन पाइन्। उनको बाआमा धर्ममा पटक्कै विश्वास नगर्ने। धर्मलाई सधैं वैकल्पिक रूपमा हेर्ने हुँदा घरमा धार्मिक माहौल हुने कुरै भएन। नेवार समुदायको सदस्य भए पनि उनले गुफामा बस्न परेन । बेल विवाह पनि भएन उनको।
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग २१ बर्षकाे उमेरमा प्रेम विवाह गरिन् उनले। राजनीतिमा सँगसँगै अघि बढेका दुवै माओवादी आन्दोलनको प्रमुख नेता पनि थिए। अहिले 'नेपाल समाजवादी पार्टी' कि उपाध्यक्ष रहेकी उनले राजनीतिसँगै जीवनको धेरै आरोह-अवरोह बेहोरिसकेकी छिन्।
नेपाली राजनीतिमा यमिको आफ्नै पहिचान छ। श्रीमान्-श्रीमती दुवै राजनीतिमा भए पनि आफ्नो राजनीतिक यात्रामा श्रीमानको प्रभाव हाबी हुन दिएकी छैनन् उनले। उनीसँग पटक-पटक सांसद भएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भूमिसुधार मन्त्रालय र पर्यटन मन्त्रालयको नेतृत्व गरेको अनुभव छ।
उनी एक छोरीकी आमा हुन्। उनको छोरी पनि राजनीति र सामाजिक परिवर्तनको मुद्दाहरूमा सक्रिय छिन्। उनै हिसिलाले उकेराको नियमित स्तम्भ 'प्रसव पीडा र खुसी' मा आफ्नो पहिलो सन्तान गुमाउनुको पीडादेखि छोरीले जीवनमा ल्याएको नयाँ उमङ्गसम्म यसरी साटिन् :
०००
म सानो हुँदा नै आमाको मृत्यु भयो। त्यसैले मेरो सबै स्याहार दिदीहरूबाट भयो। उनीहरूले मलाई आमाको कमी महसुस हुन दिएनन्। म त झन् बढी मायामा हुर्किए। स्वतन्त्र वातावरणमा हुर्कन पाएँ।
बिहे गरे पनि हुन्छ, नगरे पनि हुन्छ अनि बच्चा भए पनि हुन्छ, नभए पनि हुन्छ भन्ने सोचाइ थियो मेरो। तर २१ वर्षको उमेरमा बाबुरामसँग प्रेम विवाह भयो मेरो। म नेवार समुदायको यमि, उनी भट्टराई। अन्तर्जातीय विवाह भए पनि हामीले परिवारसँग सङ्घर्ष गर्नु परेन। दुवैको परिवारले सहज रुपमा स्विकार गर्यो।
बिहे भएको पाँच वर्ष पछि योजना अनुसारै पहिलो सन्तान गर्भमा आयो। त्यसबेला म लगायत घरमा सबै खुसी भयौँ। गर्भकै बेलामा विभिन्न किताबहरू मार्फत गर्भवतीको कुन समयमा के गर्ने ? के खाने ? अब के हुन्छ ? लगायतको सबै कुरा जानिसकेको थिएँ मैले।
नर्स र डाक्टरले भनेका हरेक कुरा बुझ्थे अनि मान्थे पनि। त्यै भएर गर्भवती अवधिभर म एकदम खुसी थिएँ। म 'स्पोर्ट्स वमन' पनि भएकाले शारीरिक रूपमा एकदम फुर्तिलो पनि थिएँ।
शरीर भनेको बाहिरी मात्र हैन। झन् महिलाहरूको सवालमा त बाहिरी भन्दा बढी भित्री शरीरको स्वास्थ्य महत्त्वपूर्ण हुन्छ। म आफ्नो शरीरको पहिला पनि निकै ख्याल गर्थेँ। अहिले पनि गर्छु। महिनावारीको समयमा पनि विशेष ध्यान दिन्थेँ म। त्यही भएर होला गर्भवती समयमा अरूलाई जस्तो वाकवाक लाग्ने, रिँगटा लाग्ने, अनि कमजोर हुने समस्या मलाई भएन।
गर्भवती समयमा पनि पढाउन जान्थेँ म। गर्भवती समयको हरेक 'स्टेज' थाहा भएकाले मलाई त्यस्तो गाह्रो पनि भएन। यहाँसम्म कि मैले बच्चालाई जन्डिस् नहोस् भनेर अगाडि नै बिलरुबिन खोप समेत लगाएको थिएँ। तर आखिरमा उसलाई त्यही भयो।
मैले मेरो तर्फबाट गर्न पर्ने सबैथोक गरेको थिएँ। तर, १४ घण्टा नबित्दै पहिलो बच्चाको मृत्यु भयो। जन्म दिएको १४ घण्टा नबित्दै आफ्नो शिशुको मृत्यु हुँदा मृत्यु भनेको के हो, जीवन भनेको के हो भन्ने अनुभव भयो। निकै गाह्रो समय थियो त्यो।
बाबुराम त्यही समयमा भारतमा थिए। उसको पिएचडी सक्किएको थिएन। जिन्दगीमा पहिलो पटक मैले एक्लो अनुभव गरेको त्यही बेलामा हो। तर बाबुराम नभए पनि दिदी अनि नन्दले स्याहार गरे। मेरो हेरचाहमा कुनै कमी भएन।
बच्चाको मृत्युपछि दिदीहरूले सशक्तीकरण सम्बन्धी किताबहरू पढ्न दिएका थिए। त्यो किताबहरू पढेर मैले आफूलाई सम्हाल्न सकेँ।
पहिला नै जे भए पनि एउटा बच्चा होस् भन्ने थियो दुवैको। पहिलो बच्चा खेर गएपछि अर्को बच्चाको योजना बनायौ। योजना बनाएको अर्को वर्ष छोरी पाएँ।
पहिलो गर्भ बस्दा जुन उत्साह थियो दोस्रोमा त्यस्तो हुन सकेन। मैले हस्पिटल समेत परिवर्तन गरेँ।
दोस्रो पटक गर्भवती भएको समयमा अलिकति रगत पनि देखिएको थियो। त्यो बेला अलि पिर लागेको थ्यो। तर पछि राम्रै भयो।
पहिलो बच्चा जन्मिँदाखेरि त्यति राम्रोसँग रोएको थिएन। किन रोएन भन्ने लागेको थियो पनि। उ पहिलेदेखि कमजोर भएर रुन नसकेको रहेछ। तर, मानुषी (छोरी) त जन्मिए लगत्तै च्याँच्याँ गरेर रोई। बच्चा रुँदा पनि खुसी लाग्ने क्षण चैं त्यही नै रहेछ।उसको कपाल एकदम कालो अनि बाक्लो थियो। अहिले पनि याद छ मलाई।
हस्पिटलमा बच्चा जन्माउनासाथ केही समय अरू बच्चासँग राख्ने रहेछन्। त्यस्तो बेलामा कतै मेरो बच्चा साट्ने त हैनन् भन्ने डर पनि लाग्ने रहेछ।
पहिलो बच्चा जन्माउँदा ती सबै अनुभवै गर्न पाइन मैले। दिक्क लागेर बरन्डामा डुल्न जाँदा मेरै बच्चालाई गाड्न लागिरहेको देखेको थिएँ। मैले त्यो दृष्य हेर्नै सकिन अनि बरन्डाबाट फर्किएँ।
मानुषी जन्मिएको छ घण्टा पछि समात्न पाएको थिएँ। स्तनपान पनि एकदम राम्रोसँग भयो। विभिन्न मिटिङमा जाँदा पनि उसलाई सँगै लैजान्थेँ अनि स्टेजमै स्तनपान गराएको अहिले पनि याद छ।
अहिले सम्झँदा मान्छेले मान्छे पनि बनाउन सक्ने रहेछ है भन्ने लाग्छ। आफ्नै पेटमा अर्को जीवन हुर्कँदै गरेको अनुभव गर्न पाउनुको अनुभव त बयान पनि गर्न नसकिने!
मानुषीपछि पनि धेरैले अझै अर्को बच्चा जन्माउन भनेका थिए। हामी जे भए पनि एउटा सन्तानको पक्षमा थियौँ। दोस्रो बच्चाको तयारी गरेनौँ।
तर उनीहरूले हामीलाई त भनेभने सानी बच्ची मानुषीलाई समेत 'तिमीलाई अर्को साथी चाहिँदैन? आमा-बालाई भन' ;समेत भन्दिएछन्।
बाबुराम र म दुवै राजनीतिमा सक्रिय। चाहेर पनि मानुषीलाई धेरै समय दिन सकेनौँ। तर जति समय दियौँ राम्रो समय दिने कोसिस गर्यौँ।
हामीले बच्चासँग कहिल्यै झुटो बोलेनौ। भ्याएसम्म राम्रो शिक्षा दियौँ। उनी पढाइमा सधैं अब्बल पनि भइन्। एकदम जिम्मेवार र परिपक्व स्वभाव छ उसको। उसको अगाडि त बरु म पो चन्चले रहेछु जस्तो लाग्छ।
सानैदेखि उनले आमाबाको सङ्घर्ष देख्न पाइन्। जनयुद्धकै समयमा पनि उनको कहिले आमा कता, कहिले बा कता। कहिले आमा जेलमा, कहिले बा जेलमा। मानुषी चार वर्षको हुँदा मैले जेल भनेको यस्तो हुन्छ भनेर देखाउन पनि लगेको थिएँ। उसलाई पनि आमा बा के गर्दैछन्, कहाँ छन् भनेर थाहा हुन त्यत्तिकै जरुरी थियो नि। त्यसैले लगेको।
जिन्दगीको सबै उतारचढाव उसलाई हामीले नआत्तिईकन देखाएका छौँ। सबै कुरामा उसलाई पनि समेट्न प्रयत्न गर्यौँ। त्यै भएर पनि उ झन् छिटो परिपक्व भएको होला।
जनयुद्धको समयमा मानुषीबाट हामी एकदम टाढा भयौँ। मैले जनयुद्धको सुरुमा, 'हेर यो जनआन्दोलन जस्तो हैन। तिम्रो बालाई मार्न सक्छ भनेको थिएँ। अनि अलि बुझ्दै जाने भए पछि तिम्रो आमालाई पनि मार्न सक्छ भनेँ। त्यसपछि जनयुद्ध उच्च विन्दुमा पुग्दा त अब तिमीलाई पनि छोड्दैन' भनेँ। म बच्चाको साइकोलजी सम्बन्धी किताब पनि पढ्थेँ। त्यै भएर हुर्काइमा सजिलो भयो।
पछि उसको विवाह भयाे। मानुषीको विवाहमा म भन्दा बढी त उसको बाउ भावुक भएका थिए। अहिले त म हजुरआमा भइसकेँ।
नातिकै कुरा गर्दा उ छोरीको गर्भमा आएको समयदेखिको सबै फोटो खिचेका थियौँ।मानुषीको बच्चा जन्मिँदा राम्रो स्याहार भयो। तेल लगाउने मान्छे अलग्गै आएका थिए। खाना पनि एकदम राम्रो भयो।
नातिको पहिलो जन्मदिनमा हामीले उसको सबै फोटो उपहार दियौँ। मानुषीको बेलामा त्यो सुविधा मैले पाइन। त्यो बेलामा अहिले जसरी सजिलै फोटो खिच्न सक्ने सुविधा थिएन नि।
अहिले मानुषीले नातिसँग धेरै समय बिताउन पाइरहेकी छिन्। कोभिडको समयमा त उसले २४ सै घण्टा आफ्नो बच्चासँग बिताउन पाइन्। त्यो हेरेर मैले त ठूलो पाप गरेको रैछु भन्ने गर्छु उसलाई।
किनकी उ कसरी हुर्किइन् मलाई त्यति धेरै थाहै छैन। छोरीलाई साइकलको पछाडि राखेर अगाडि झिल्को भन्ने पत्रिका राख्दै बेच्न हिँडेको याद आउँछ। मानुषी सानो हुँदा साथी र छिमेकीहरुकोमा छोडेर मिटिङमा जान्थेँ।
अहिले पनि हामीसँग मानुषीको सम्बन्ध राम्रो छ। नातिले हामीलाई मानुषीको बाल्यकालको झझल्को दिइरहन्छन्। हामी खुसी छौँ।
प्रसव पीडाका यसअघिका सामग्री
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
असोज ७, २०८० आइतबार १९:१३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।