मध्यमधार : फेसन डिजाइनर एलिजलाई आफू ‘जेन्डर फ्ल्युइड’ हुँ भन्ने थाहा पाउनै वर्षौं लाग्यो

मध्यमधार : फेसन डिजाइनर एलिजलाई आफू ‘जेन्डर फ्ल्युइड’ हुँ भन्ने थाहा पाउनै वर्षौं लाग्यो

दुई महिनाअघि काठमाडौंमा ‘सिलाएका सपनाहरू’ भन्ने फेसन डिजाइनको प्रदर्शनी भयो। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको व्यक्तिसँग सम्बन्धित रहेर भएको पहिलो प्रदर्शनी थियो यो। त्यसकारण पनि विशेषत त हुने नै भयो।

तर, प्रदर्शक एलिज घिमिरेले भने त्यसै समय अलि फरक अनुभुति गर्नुपर्यो। उनले सानैदेखि चिनेको र आफ्नोबारेमा सबै कुरा थाहा भएको साथीले उनलाई यसबारे भने, ‘तेरो सब कुरा ठिक छ। तर, यो पश्चिमा संस्कृति नै हो।’

उनले प्रदर्शनीको बारेमा मात्र नभएर एलिजको यौनिकतामाथि नै प्रश्न गरे।

एलिज भन्छन्, ‘सबै कुरा थाहा भएको साथीले यस्तो भन्दा मलाई अचम्म मात्रै लाग्यो। अरू केही लागेन। मैले आफ्नो यौनिकताबारे कसैलाई पनि लुकाएको छैन।’

यौनिक अल्पसंख्यक समुदायका एक उदयमान फेसन डिजाइनर हुन् उनी। सौन्दर्य प्रतियोगिताहरूमा सहभागी हुने ‘केटा’ र ‘केटी’ भन्दा उनी फरक छन्। त्यसैले गर्दा उनलाई यस क्षेत्रमा आउन झन् बढी कसरत गर्नुपर्यो।

१५/१६ वर्षको उमेरदेखि नै आकर्षित भएर यस पेशामा होमिएका उनले फेसन डिजाइनको सुरुवाती करिअरमा उनले निकै कष्ट भोग्नुपर्यो।

‘मोडल को परिधिमा अटाउनै गाह्रो’
एलिज ‘मिस्टर एसईई २०१८’ मा सहभागी भए। ‘मिस्टर काठमाडौं २०२०’को त उपाधि नै जिते। यस कार्यक्रममा भने धेरै विभेद भोगेको महसुस गरे उनले।

‘यो इन्डस्ट्रीसँग सम्बन्धित तँ होइनस् भनेर धेरैले भने मलाई,’ उनी भन्दै गए, ‘मोडलिङमा काम गर्दा हिडाइको एकदम महत्व हुन्छ। केटीहरूको हिडाइलाई क्याटवाक भनिन्छ भने केटाहरूको हिडाइलाई चैँ टाइगर वाक भन्छ। तर मेरो हिडाइ दुवैभित्र नपर्ने रहेछ। केहि गरे पनि मिल्दैन भन्दिने। त्यतिबेला मलाई साह्रै नरमाइलो लाग्थ्यो।’

उनलाई केटा जस्तै भएर काम गर्दा पनि असहज हुन्थ्यो अनि केटीजस्तै भएर काम गर्दा भने सहज महसुस हुँदैनथ्यो। नेपालका ठूला-ठूला हस्तीहरूबाट पनि उनले यौनिकता कै कारण विभेद भोग्नुपरेको सुनाए।

‘त्यो कुराहरू अहिले सम्झिँदा चैँ मैले धेरै नै दु:ख गरेछु जस्तो लाग्छ। त्यो बेला एकदम सानो थिएँ। त्यत्रो बच्चालाई यौनिकताको आधारमा विभेद नगरेको भए हुन्थ्यो, भन्ने जस्तो लाग्छ’, उनी भावुक सुनिए।

मोडल भनेको हृष्टपुष्ट केटा वा सुन्दरी केटी हुनुपर्छ भन्ने छ। यसमा तौलदेखि उचाइसम्मको कुरा आउने गर्छ। फरक लैंगिकता र यौनिकताका व्यक्ति त्यहाँ अटाएको पाइँदैन।

तर, पछिल्लो समय भने यसमा पनि विविधता देखिन थालेको एलिजको अनुभव छ। त्यसमाथि यौनिक अल्पसंख्यकहरूले यस क्षेत्रमा पनि काम नपाउने सम्भावना धेरै रहेको उनको गुनासो छ।

उनले आफ्नो यौनिकता कसैसँग पनि लुकाएका छैनन्। काम पाउन गाह्रो भए पनि अहिलेसम्म यौनिकताकै आधारमा कामबाट निकालिएको भने उनले अनुभव गर्न परेको छैन। तर, पनि आफूले जितेको उपाधिमा भने धेरैले ‘यस्तोले पनि जित्यो’ भनेर आफ्नै साथी र कोरियोग्राफरहरूले शंका गरेको उनी बताउँछन्।

यस समुदायमा पनि धेरै प्रकारका विविधताहरू हुन्छ। यौनिक अल्पसंख्यक भन्ने बित्तिकै तेश्रोलिंगी भनेर चिनिने समाजमा आफ्नो यौनिकताको बारेमा अरूलाई बुझाउन उनलाई निकै समय लाग्यो। अझै पनि धेरैलाई त्यसको बारेमा ज्ञान नभएको उनी बताउँछन्। एलिज आफूले आफूलाई ‘जेन्डर फ्ल्युइड’ भनेर चिनाउन रुचाउँछन्।

के हो ‘जेन्डर फ्ल्युइड’?
जेन्डर फ्ल्युइड(लैंगिक तरलता) भनेको कहिले महिला, कहिले पुरुष वा कहिले यीमध्ये कुनै पनि लैंगिकताको रूप नमान्ने अभिव्यक्ति हो।

यस्तो अवस्थामा उनीहरूले कसरी आफूलाई अभिव्यक्त वा प्रस्तुत गर्छन्, त्यहि नै उनीहरूको लैंगिक पहिचान हुने गर्छ। यस समुदायमा पनि यस्तो अनुभूति गर्ने व्यक्ति धेरै कम भएको कारण यसबारे धेरै चर्चा भएको पाँइदैन।

घरको कान्छो ‘छोरा’ एलिज आफ्नो लैंगिक पहिचानबारे स्पष्ट भएको धेरै भएको छैन। उनले नाक छेडेका छन्। हातमा रङ्गीबिरङ्गी औंठी र नेल पोलिस लगाउन उनलाई मनपर्छ। बेला-बेला कपाल पनि रंग्याइरहेका हुन्छन्। त्यस्तो अवस्थामा बाटोमा हिँड्दा धेरैले ‘केटा हो कि केटी हो ?’ भन्ने प्रश्नको सामना उनले गरिराख्नुपर्छ।

‘पहिला पहिला मलाई एकदम चसक्क हुन्थ्यो। म साँच्ची कै के हुँ त भन्ने लाग्थ्यो। तर, अहिले यस्तो प्रश्नहरूको पनि बानी परिसक्यो’, उनले भने।

आफ्नो लैंगिक तरलताको कारण उनी आफैँ पनि लामो समय दोधारमा रहिरहे।

‘म आफैँ पहिला धेरै कन्फ्युज थिएँ। त्यै भएर प्यानसेक्सुअल गे भन्थे। तर, त्यस्तो होइन रहेछ,’ एलिज भन्छन्, ‘एक त यसबारे हामी बहसै गर्दैनौँ। हामी आफैँलाई पनि कन्फ्युजन भइरहेको हुन्छ। अरु कन्फ्युज हुनुलाई स्वाभाविक नै मान्नुपर्छ। त्यो भन्दैमा फेरि नराम्रो सोचेर बुझाउनै छोड्न भन्ने चैँ हुँदैन।’

आफूलाई स्वीकार्नुस्
घरमा उनलाई ‘छोरी’ भनेर सम्बोधन गर्दा पनि आनन्द लाग्थ्यो रे। त्यहि भएर पनि उनले स-सानो कुरामा परिवारबाट भने विभेद भोग्नुपरेन। अनि परिवारमा आफ्नो यौनिकताको बारेमा उनले भनिराख्न परेन।

‘आफ्नो छोरा-छोरी कस्तो छ भनेर आमा बाउ सबैलाई थाहा हुने नै भयो। अहिलेसम्म त्यस्तो होमोफोबिया देखिएको छैन। नहोस् पनि। यस्तो बेलामा परिवारको साथ पाए पनि धेरै खुशी लाग्ने रहेछ।’

उनले समाजबाट धेरै हेपाइ भोगे। त्यहि भएर समाजको स्वीकार्यतालाई उनले त्यति धेरै आवश्यकता पनि ठानेनन्।

‘समाजले अहिले पनि हामीलाई अप्राकृतिक, असाधारण नै मानिन्छ। त्यै भएर त्यसलाई बानी पार्नुपर्ने रहेछ। समाजले हामीलाई स्विकरोस भन्दा पनि आफू बढी सहनशील हुनपर्ने रहेछ। त्यसपछि उहाँहरूले पनि हामीलाई देख्ने बानी परेपछि साधारण नै मान्नुहुन्छ कि?’

उनले आफू लगायत आफ्नो साथीहरूलाई पनि यसमा सकेसम्म सहयोग गरिरहेका छन्। फेसन डिजाइनबाहेक उनी पढाउने काम पनि गर्छन्। भर्खर एसईई र १२ कक्षा सकेको किशोरावस्थाका भाइबहिनीहरूप्रति यस समुदायमा हेर्ने दृष्टिकोण एकदम सकारात्मक रहेको उनले अनुभव गरेका छन्।

‘जिन्दगीसँगै लैंगिकता र यौनिकता पनि परिवर्तनशील छ भनेर बुझ्न हामीलाई अझै धेरै समय लाग्छ। हाम्रै समुदायमा समेत यो परिवर्तन नचाहनेहरू छन्। म आफैँले पनि पहिला म यो होइन होला भनेर एउटामा अडिन चाहेको हो। तर, त्यस्तो होइन रहेछ।’

‘धेरै जसोको अझै पनि यस समुदाय प्रति पूर्वाग्रह देखिन्छ। त्यस्तो बेला बुझाउन एकदम गाह्रो हुन्छ। होमोफोबियाको जरा पनि पितृसत्तात्मक जस्तै गरेर फैलिएको र गाढिएको देखिन्छ। कतिलाई आन्तरिक होमोफोबियाको बारेमा त थाहा पनि हुँदैन। तर, पनि त्यो कहिँ न कहिँ देखि नै हाल्छ’, उनले एक सुरले भने।

यस्तो अवस्थामा आफ्नो यौनिकताको बारेमा अलमलमा परियो भने पनि यौनिकता पहिल्याउनैपर्छ भन्ने पनि नभएको उनले सुनाए।

‘अब त यस्तो समूह पनि जसमा ‘बियोन्ड द बाइनरी’को पनि कुरा हुन थालिसक्यो। त्यहि भएर अल्मलेर बस्नु भन्दा पनि आफूलाई स्वीकार्नु अनि खुशी भएर बाच्नु भन्न चाहन्छु’, उनले भने।

मध्यमधारका अन्य सामग्री

असोज ५, २०८० शुक्रबार १६:२५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।