२०८० सालको भैरव पुरस्कार मुन पौडेललाई, अभि सुवेदीलाई वाङ्ममय र बद्रीनाथलाई प्रतिभा पुरस्कार

२०८० सालको भैरव पुरस्कार मुन पौडेललाई, अभि सुवेदीलाई वाङ्ममय र बद्रीनाथलाई प्रतिभा पुरस्कार

काठमाडौं : भैरव पुरस्कार गुठीले नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार पाउनेहरूको नाम सार्वजनिक गरेको छ।

मंगलबार भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो।

जसअनुसार २०८० सालको भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान गरिने भएको छ। यो पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ।

१ लाख १ हजार १ सय ११ रुपैयाँ राशीको भैरव वाङ्मय पुरस्कार प्राध्यापक डाक्टर अभि सुवेदीलाई प्रदान गरिने गुठीले जनाएको छ।

त्यस्तै ५१ हजार १ सय ११ रुपैयाँ राशीको भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर)लाई प्रदान गरिने भएको छ।

पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार नरेन्द्रराज पौडेलको संयोजकत्वमा साहित्यकारद्धय बाजुराम पौडेल र वसन्त रिजाल सदस्य रहनुभएको चयन समिति  गठन गरेको थियो।

भैरव स्मृति दिवसको दिन यही असोज १९ गते शुक्रबार राजधानीको गोकर्णेश्वर-५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कारहरू वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए।

उनका अनुसार गुठीको साधारण सभा पनि सोही दिन हुनेछ।

२ असोज, २०८०, २१:४६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।