दयाहाङ र मिरुनाको जोडीमा के जादु छ!

दयाहाङ र मिरुनाको जोडीमा के जादु छ!

काठमाडौं : सधैँ एकै खालको अभिनय गर्ने कलाकारको छवि बनाए पनि अभिनेता दयाहाङ राई रित्तो बस्नु परेन। फिल्मको व्यापार जस्तोसुकै होस्, त्यसले उनको अभिनय यात्रामा त्यति फरक परेन। न उनको अभिनयको आलोचना कम भयो न उनले अभिनय गर्ने फिल्मकै संख्या घट्यो।

रङ्गमञ्चबाट पर्दामा आएकी मिरुनाको अभिनयको गति त्यति गतिलो भएन। ‘लालपुर्जा’, ‘रोज’, ‘साइनो, ‘चचहुँई’मा अभिनय गर्दा सौगात मल्ल, प्रदीप खड्का, आर्यन सिग्देलसम्मको जोडी बनिन् उनी। तर, सबै फिल्म लगातार फ्लप।

बल्ल ‘जारी’मा आएर पर्दाको जोडी बदलियो मिरुनाको। दयाहाङ राईसँग जोडी बाँधिदिए निर्माता रामबाबु गुरुङले।

‘जारी’ बाट शुरू भएको दयाहाङ र मिरुनाको जोडी ‘नाङ्गो गाउँ’सम्म आइपुग्दा ह्याट्रिक सहकार्य भयो। ‘नाङ्गो गाउँ’को बक्स अफिस कलेक्सन रिपोर्टले ह्याट्रिक सहकार्यसँगै ह्याट्रिक हिटको रेकर्ड पनि बन्ने सम्भावना देखाइरहेको छ। तर कहिलेसम्म चल्छ यो जोडी!

कमजोरीसहितको फिल्म बन्दा पनि लगानी सुरक्षित हुने भएपछि अहिले दयाहाङ र मिरुनालाई लिएर फिल्म बनाउन चाहनेहरूको संख्या बढेको देखिन्छ।

सँगै अभिनय गरेको पहिलो फिल्म ‘जारी’ भए पनि पहिलो हिट फिल्म भने ‘कबड्डी ४’ भयो। ‘कबड्डी-४’ले २० करोड हाराहारीको व्यापार गरेर गत वर्षको सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड नै राख्यो।

त्यसपछि रिलिज भएको ‘जारी’ पनि नपत्याउँदो गरी बक्स अफिसमा हिट भयो। नेपालको पूर्वी जिल्लामा बसोबास गर्दै आएका लिम्बू समुदायको कथामा निर्माण भएको ‘जारी’पछि निर्देशक दीपेन्द्र लामाले ‘नाङ्गो गाउँ’मा दुवैलाई अभिनय गराए।

शुक्रबार रिलिज भएको फिल्मले पर्दामा हिन्दी फिल्म ‘जवान’सँगै विपिन कार्की र सुहाना थापाको अभिनय रहेको ‘एक भागवत र एक गीता’सँग प्रतिष्पर्धा गरिरहेको छ। मंगलबारसम्मको ग्रस कलेक्सन दुई करोड हाराहारी पुगेको देखिन्छ।

नायक-नायिकाको बदलिँदो मानक
सिक्सप्याक देखिने मसल्स् बडी, चकलेटी मुहार अनि जिरो फिगर र ग्ल्यामर लुस्स नायक र नायिकामा अनिवार्य तत्वको रूपमा हेर्ने मानक बदलिँदै गयो।

त्यसको सुखद् प्रारम्भ रङ्गमञ्चका कलाकार चलचित्रमा प्रवेशपछि नै शुरू भएको देखिन्छ। ठिकठिकै हाइट अनि भ्यात्त भुडी देखिने दयाहाङ नेपाली फिल्मका दर्शकको प्रिय पात्र भए। दर्शकले अब कल्पनाको हैन यथार्थ पात्र रूचाउन थाले।

नेपाली फिल्ममा आर्यन लुक्स हावी भयो लामो समय। दयाहाङ, सौगात मल्लहरूले त्यसलाई भत्काउँदै मंगोलियन लुक्सलाई स्वीकार्य बनाउँदै लगे।

अभिनेत्रीको हकमा पनि आर्यन लुक्स नै हावी भइरहेको बेला मंगोल मुहारले स्थान पाउन थाले। ‘कबड्डी’बाट रिश्मा गुरुङ आइन्। ‘कबड्डी-४’ मा आइपुग्दा मिरुना जोडिइन्। उपेन्द्र सुब्बाको पहिलो निर्देशन भएको ‘जारी’ प्रशस्त कमजोरीसहितको मौलिक फिल्म बने पनि जोडीको बलमा फिल्म चल्यो।

प्रदर्शन भइरहेको फिल्म ‘नाङ्गो गाउँ’ वाह क्याटेगरीको फिल्म बन्नबाट चुक्यो। दर्शकबाट मिश्रित प्रतिक्रिया आइरहेको छ। तर, दयाहाङ र मिरुनाको जोडी हेर्न हलमा दर्शक गइरहेकै छन्।

तर, अभिनयमा छैन सुधार
लगातार फिल्म सफल भएपछि निर्माता अनि निर्देशकको नजरमा पर्नु र प्रस्ताव बढ्नु नौलो हैन। कमजोरीसहितको फिल्म बन्दा पनि लगानी सुरक्षित हुने भएपछि अहिले दयाहाङ र मिरुनालाई लिएर फिल्म बनाउन चाहनेहरूको संख्या बढेको देखिन्छ।

‘नाङ्गो गाउँ’पछि फिल्म ‘रङ्गेली’ अनि ‘घरज्वाईं’ मा यी दुवैको पर्दामा जोडी बाधिइसकेको छ।

निर्माताहरू कन्टेन्टमा जे भए पनि हुन्छ, यो जोडी भयो भने फिल्म चल्छ भन्ने मानसिकतामा गए भने भोलिका दिनमा निर्माता अनि कलाकार नराम्ररी डुब्न सक्छन्

यी दुवै कलाकारले अभिनय गरेको फिल्म हिट त भइरहेका छन् तर अभिनयको हिसाबले हेर्दा सकारात्मक सुधार देखिन्न। दयाहाङको अभिनयमा पुरानै ह्याङ हावी छ। उनले अभिनय गरेका फिल्मका फुटेजहरू मिसमास गरेर हेर्ने हो भने कुन-कुन दृश्य कुन फिल्मको भनेर छुट्याउन मुस्किलै पर्छ।

तर, उनको ब्राण्ड त्यही सरल अभिनय बनिदियो। दर्शकले दयाहाङको अभिनयमा आफैँलाई देख्न थाले। ‘कबड्डी-४’ देखि ‘नाङ्गो गाउँ’सम्मको मिरुनाको अभिनय हेर्दा पनि त्यस्तै देखिन्छ। अभिनय र पात्रमा विविधता छैन। तर दयाहाङसँगको उनको त्यही सरल अभिनयमा दर्शकको टख बस्यो। उनीहरूले रुचाए दुवैको जोडी।

बढ्दो छ जोखिम
कुनै समय थियो फिल्म चल्न पोस्टरमा राजेश हमालको टाउको हुनु काफी छ। तर, लामो समय भइसक्यो उनै हमाल ठूलो पर्दामा नदेखिएको। करिश्मा र राजेशको जोडीलाई हेर्न हलमा जाने दर्शक पनि कम थिएनन्।

बीचमा अन्य कलाकारको जोडी पनि हिट नभएको हैन। तर, हिट अनुसार अभिनयमा फिट नहुँदा लामो समय जोडी चल्न सकेन। उनीहरूको सफलता ‘एकादेशमा’ बन्यो।

दयाहाङ अनि मिरुनाले चयन गरेको कथा अनि अभिनय हेर्दा उनीहरूको जोडीको नियति निकटमै यस्तै हुने त हैन?

चलचित्र निर्माता संघका अध्यक्ष तथा अभिनेता नवल खड्का, दयाहाङ र मिरुनाको केमेष्ट्रीले फिल्म चल्नुमा सकारात्मक र नकरात्मक दुवै पक्ष रहेको बताउँछन्। उनमा दुवैले चयन गर्ने चरित्रमा भने शंका रहेछ।

‘दया र मिरुनालाई लिएर फिल्म बनाउँदा निर्माताले लगानी सुरक्षित हुन्छ भने सकरात्मक हो। तर, लामो समय जोडी बचाउने हो भने अब उनीहरूले फिल्मको कन्टेन्टमा पनि ध्यान दिन सक्नुपर्छ। कुन बेला दर्शकको मुड परिवर्तन हुन्छ थाहा हुन्न’, उनले भने।

दयाले कहिलेकाहिँ फरकपन दिन खोजेको महसुस गर्छु। त्यो राम्रो पक्ष हो तर, जोसँग खेलियो उसैसँग ब्याक टु ब्याक काम गरेको खण्डमा कलाकार निरन्तर चल्न नसकेको धेरै उदाहरण छन्।

उनले अहिलेको दया र मिरुना राख्दैमा भोलिका दिनमा पनि फिल्म चल्छ भन्ने मानसिकता राख्रे हो भने त्यो खतरनाक हुने बताए।

‘निर्माताहरू कन्टेन्टमा जे भए पनि हुन्छ, यो जोडी भयो भने फिल्म चल्छ भन्ने मानसिकतामा गए भने भोलिका दिनमा निर्माता अनि कलाकार नराम्ररी डुब्न सक्छन्,’ उनले भने, ‘कन्टेन्ट राम्रो हुने हो भने जुन कलाकारले अभिनय गरे पनि फिल्म चल्नुपर्छ भन्ने मेरो मान्यता हो।’

उनका अनुसार फरक-फरक कलाकारसँग खेल्दा पनि उनीहरूले कन्टेन्ट हेर्न जरुरी रहेको छ। नत्र सदाबहार नभई कुनै समय खुम्चिनुपर्ने अवस्था आउनसक्छ।

अर्का फिल्म निर्देशक तथा समिक्षक मनोज पण्डित दया र मिरुनाले एकपछि अर्को फिल्म हिट दिनुलाई राम्रो मान्छन्। व्यापारिक हिसाबले पनि राम्रै भएको बताउने उनी केमेस्ट्री सुहाएको छ भन्दैमा एकपछि अर्को फिल्ममा काम गर्नुचाहिँ हानिकारक हुने सुझाव दिन्छन्।

उनी भन्छन्, ‘चिनी धेरै खायो भने तितो हुन्छ। एकपछि अर्को फिल्ममा काम गर्नुभन्दा ग्याप राखेर काम गरे राम्रो हुन्छ।’

उनी यसअघिका राजेश हमालको उदाहरण दिँदै भोलिका दिनमा यहि जोडीले हिट फिल्म दिने ग्यारेन्टी नभएको बताउँछन्।

उनी थप्छन्, ‘दयाले कहिलेकाहिँ फरकपन दिन खोजेको महसुस गर्छु। त्यो राम्रो पक्ष हो तर, जोसँग अभिनय गर्यो उसैसँग ब्याक टु ब्याक काम गर्दा ब्याकफायर भएका धेरै उदाहरण छन्। त्यसबाट दया र मिरूना बच्नु राम्रो।’

असोज २, २०८० मंगलबार १८:५२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।