बुलाकी र जारी : समाज देखाउन चुकेका बेग्लै प्रस्तुतीकरणका एकै कथा

बुलाकी र जारी : समाज देखाउन चुकेका बेग्लै प्रस्तुतीकरणका एकै कथा

एकै समयको कथा, उस्तै विषयबस्तु। कतिपय दृश्य र संवाद त हुबहु छन्। एकै स्टोरी लाइनमा बनेका दुई फिल्म ‘बुलाकी’ र ‘जारी’मा फरक छ त केवल परिवेश, कलाकार र प्रस्तुतीकरण।

नयाँ वर्षमा नेपाली फिल्मले गरेको नयाँ सुरुवात हो यो। यसले कथा दोहोरिन सक्छ, तर प्रस्तुतीकरण आफ्नै हुन्छ भन्ने तथ्य दर्शकलाई बुझाउनसक्छ।

दुवै फिल्मको समानता भनेको कथावस्तु हो। कुरा सुरु गरौं, ‘बुलाकी’बाट।

हिरा(सुरक्षा पन्त) चिठ्ठी लेख्न, पढ्न सक्ने साक्षर महिला हुन्। उनका श्रीमान चन्द्र(नरेन खड्का) परदेशी। बिहे भएको तीन वर्षसम्म बच्चा भएको छैन यो दम्पतीको।

चन्द्रको परदेश हिड्नुअघिको एक संवाद छ, ‘मकन था छ, आइमाइकै बल हुन्छ। अका बरस म घर आउने बेला तमी आमा भएको खुश खबरी सुन्न पाउँ।’

यो संवादले हिराको मन खिन्न बनाएको छ। त्यहि खिन्न मनमा आदर्शवादी कुरा गर्ने पुरुषको प्रवेशसँगै कथा अघि बढेको छ।

फिल्म ‘जारी’मा पनि बुलाकी जस्तै थाङ्मा (मिरुना मगर) बिहे गरेको लामो समयसम्म बच्चा जन्माउन सक्दिनन्। बातैपिच्छे उनका श्रीमान् नामसाङ (दयाहाङ राई) ‘थारी आइमाइ’ भनेर वचन लगाउँछन्। यहि वचनको रिस र सुर्ती माग्दा परेको झगडाले कथा अघि बढेको छ।

मेलामा पालम (लिम्बू जातिले धाननाचमा जुहारीको रूपमा गाउने गीत) हारेपछि वचनका कारण अर्को पुरुषसँग बिहे गर्न बाध्य भएकी थाङ्माको जीवनको उचारचढावले फिल्मलाई डोर्याएको छ।

फिल्ममा कथासँगै अर्को समानता छ– टाइम फ्रेम। दुवै फिल्म ५० को दशकलाई आधार बनाएर खिचिएको छ। समय जनाउन ‘बुलाकी’मा सशस्त्र द्वन्द्व देखाइएको छ भने जारीमा प्रष्ट मिति लेखिएको छ, ‘२०५२ माघ १६ गते।’

फिल्ममा कतिपय संवाद एकै छन्, अवस्था उस्तै छन्।

यी दुईको मुख्य असमानता भनेको परिवेश हो। ‘बुलाकी’ क्षेत्री समुदायको कथा हो भने, ‘जारी’ लिम्बु समुदायको। ‘बुलाकी’ जुम्लाको कथा हो भने, ‘जारी’ पाँचथरको। एकै प्रथा भए पनि चलन र रीतिथितीले यो फिल्मलाई बिल्कुलै फरक बनाएको छ।

‘बुलाकी’मा पितृसत्तात्मक सोच हावी छ। तर ‘जारी’मा पुरुष दृष्टिकोण देखिए पनि पितृसत्तात्मक सोच हावी छैन।

‘बुलाकी’को कथा बुन्दै जाँदा पहिलो श्रीमान्लाई पीडित र श्रीमतीलाई पीडक देखाइएको छ। त्यति धेरै प्रेम गर्ने, समाजले बनाएको सुन्दरताको परिभाषामा बाँधिएको हँसिलो श्रीमान् छाडेर अर्को पुरुषसँग गएकी महिलाको दृष्टिकोणबाट कथा भनिएको छ।

तर ‘जारी’मा महिला र पुरुष दुवैमा बराबरी गुणदोषका साथ कथा देखाइएको छ। जारीको कथामा पुरुष पनि पीडित छ र महिला पनि।

कुरा ‘बुलाकी’को
जुम्लाको भाषामा, उतैको परिवेशमा कथा भन्नु फिल्मको सशक्त पाटो हो। तर, महिलाको दृष्टिकोणबाट कथा भन्न नराम्रोसँग चुकेको छ बुलाकी।

बच्चा जन्माउन नसक्नु महिलाको कमजोरी हो भन्ने समाजमा बच्चा नजन्माएकी महिलाको मनोविज्ञान फिल्मले देखाउन सकेको छैन। श्रीमान्सँगै बस्ने तीव्र चाहना, तर परदेशीनुपर्ने बाध्यतालाई पनि फिल्मले प्रष्ट पार्न सकेको छैन।

नयाँ श्रीमान्सँगको सम्बन्ध पनि अनौठो लाग्छ। दुई बीचको सम्बन्ध राम्रोसँग स्थापित भएको देखिँदैन।

फिल्मको अर्को कमजोर पक्ष भनेको भाषाको ‘प्रयोग’ भइदियो। मातृभाषा नै राष्ट्रभाषा बोल्ने कलाकारले राष्ट्रिय भाषा बोल्नुपर्दा ‘कन्सियस’ भएका छन्। जसको मारमा सुरक्षा पन्तको अभिनय परेको छ। उनको बोली नै अप्राकृतिक सुनिएको छ।

तीखो स्वरले सुरक्षाको बोलीचालीको भाषालाई प्रभाव पारेको छ। उनको अनुहारमा संवाद बोल्दा भाव हराएको छ। संवादहरू भावनात्मक हुन नसक्दा दर्शकसँगको कनेक्सन गुमेको छ।

नरेन खड्काको अभिनय भने लाउड छ। उनि धेरै ठाउँमा ओभर याक्टिङ गरिरहेका छन्। लक्ष्मी गिरीको अभिनयमा पनि संवाद घोकेको जस्तो सुनिन्छ, ‘नेचुरल’ लाग्दैन।

फिल्ममा हरिया पहाडका सुन्दर दृश्यहरू अटाएका छन् तर ‘ब्युटी सट’मा मात्रै छायांकारको ध्यान गएको छ। हिरा अर्को केटासँग जाँदा पुल तरेको दृश्य र अन्य केहिमा भने मेहनत देखिन्छ। ती सटहरूले कथा भन्छ।

फिल्मको एकदमै कमजोर पाटो गीत संगीतको प्रयोग हो। जुम्लाको भाषामा कथा अघि बढिरहँदा एक्कासी नेपाली भाषाको गीत बज्छ। मौलिक कथा भनिरहँदा कलाकारलाई डाँडामा नचाउनुपर्ने दृश्य बेकामे लाग्छन्। सिलसिला नमिलाई गीत प्रयोग गर्दा कथावस्तुसँगको कनेक्सन टुटेको छ।

फिल्ममा पहिरनमा गरिएको मेहनत भने प्रशंसायोग्य छ। पुरानो समय देखाउन प्रयोग गरिएको टुकी बत्ती, रेडियो लगायतलाई प्रकाश र रंग संयोजनमार्फत सुन्दर तरिकाले प्रस्तुत गरिएको छ।

फिल्ममा अनावश्यक दृश्यहरू छन, जसले फिल्मलाई किरकिरे बनाएको छ। जस्तै, माओवादीहरूको दृश्य। फिल्मको अन्त्यमा माओवादीहरू आउँछन् र नसुहाउँदो शैलीमा ‘जसको सम्पत्ति हो उसैले फिर्ता लैजाऊ, केहि पैसा पार्टीलाई सहयोग गर’ भन्छन्। यसले फिल्मको गति मात्रै बिगारको छैन, पूरै फिल्म फिक्का बनाइदिएको छ।

‘जारी’को कुरा
कलालाई तुलना त गर्न मिल्दैन। तर यदि एकैदिन प्रर्दशनमा आएका उस्तै विषयमा बनेका दुई फिल्महरू ‘बुलाकी’ र ‘जारी’को तुलना गर्ने हो भने, हरेक कोणबाट जारी बलियो ठहरिन्छ। किनभने जारी श्रव्यदृश्य भाषाका निर्देशकले सोचेको कथा भन्न सफल भएको छ।

नविन सुब्बाले निर्देशन गरेको फिल्म ‘नुमाफुङ’को याद फिल्मभरी आउँछ। ‘नुमाफुङ’मा छुस्स छोइएको लिम्बू समुदायको जारी प्रथाबारे पूरै फिल्म बनेको छ ‘जारी’।

कवि उपेन्द्र सुब्बाको कवितात्मक लय र निर्माता रामबाबु गुरुङको कबड्डी फ्लेवरले फिल्म रोचक बनेको छ। लिम्बू समुदाय, त्यहाँको पालम गाउने संस्कार, च्याब्रुङ बजाउँदै जीन्दगी बिताउने जीवनशैली, तानेर विवाह गर्नेदेखि बाजी हार्न नसकेर बिहे गर्नुपर्ने बाध्यकारी संस्कारसम्म फिल्मले देखाउन भ्याएको छ।

मिरुना र दयाहाङको केमेस्ट्री अर्को बलियो पक्ष हो फिल्मका लागि। पर्दामा यो जोडी वास्तविक देखिएका छन्। लिम्बू समुदायमा भएको मातृसत्ता र महिलाको पावरलाई पनि फिल्ममा दर्साइएको छ।

फिल्मको सुरुदेखि अन्त्यसम्म भैँसी र बाख्रा महिला, राँगो र बोका पुरुष भन्नेखालको प्रस्तुति दिइएको छ। फिल्मको सुरूमा थारो भैँसी बेचेसँगै थारी महिलाले घर छाडेको दृश्य छ। अन्त्यमा भैँसीले पाडी पाउँदा महिलाले छोरी पाएको प्रसङ्ग देखाइएको छ। मानव र पशु बिचारको हिसावले फरक जीव हुन्, दुवैलाई उस्तै नमानेको भए फिल्म केहि हदसम्म गम्भीर बन्नसक्थ्यो।

फिल्मको अन्त्यमा दुई श्रीमान्को बीचमा श्रीमती भएको दृश्य छ। त्यो समयमा महिलाको मनमा खेलेको मनोभाव फिल्मले देखाउन सकेको छैन। प्राविधिक रूपमा सामान्य त्रुटीहरू बाहेक फिल्म समग्रमा सुन्दर छ।

समाज देखाउनै चुके दुवै फिल्म
जारी प्रथा ठाउँअनुसार फरक छ। पश्चिमी भेगमा जारी भनेको पहिलो श्रीमान्ले श्रीमतीलाई सम्पत्ति सोचेर अर्कोले चोरेबापत तिराएको क्षतिपूर्ति हो। आफ्नो सामान बेचेर रकम लिएजस्तो।

लिम्बू संस्कारमा जारी तिर्नु भनेको महिलाले स्वतन्त्र रूपमा आफूले प्रेम गरेको पुरुष चुन्नु हो। तर दुवै फिल्म यी कुराहरू देखाउन चुकेको छ।

‘बुलाकी’ले सम्पत्ति मानेर श्रीमती बेचेको कुप्रथातिर भन्दा पनि माया गर्दा–गर्दै अर्को श्रीमान् रोजेको श्रीमतीको कथा भनेको छ।

‘जारी’ले स्वतन्त्र रूपमा प्रेमी चुन्न दिएको अधिकारलाई वचनमा हारेर बाध्यतामा अर्को श्रीमान् रोजेको देखाएको छ। यसरी हेर्दा दुवै फिल्म वास्तविकता र त्यसले समाजमा परेको प्रभाव देखाउन चुकेको छ।

२ बैशाख, २०८०, १२:५५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।