आज गणेश चतुर्थी, भगवान गणेशको जन्मोत्सव मनाइँदै

आज गणेश चतुर्थी, भगवान गणेशको जन्मोत्सव मनाइँदै

काठमाडौं : आज (मंगलबार) गणेश चतुर्थी, सबैभन्दा पहिले पूजा गर्ने अधिकार प्राप्त गरेका भगवान गणेशको पूजा आराधना गरी  गणेशको जन्मोत्सव मनाइँदै छ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ।

गणेश चतुर्थी यो वर्ष संयोगले मंगलबार परेको छ। मंगलबार भगवान गणेसको विशेष बार हो।

यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ। आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुख शान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ।

असोज २, २०८० मंगलबार ०७:२२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।