सीमा श्रेष्ठको प्रसव पीडा र खुसी : मेरो पेट त बोरा सिलाए जसरी सिलाएको रहेछ, ग्वाँ-ग्वाँ रोएँ
डिभोर्सपछि महिलाहरू झन् सशक्त रूपमा सक्रिय भएको रिपोर्ट बेलाबखत सार्वजनिक भइरहन्छ। त्यस्तै एक महिला हुन्, सीमा श्रेष्ठ। सानैदेखि चुलबुले उनी। उनकै भाषामा 'कडा र चुच्चो' स्वभावकी उनी । पढेर आफ्नो 'करिअर' बनाउने सोच बनाउँदा बनाउँदै १२ कक्षाको जाँच दिने बित्तिकै मागी विवाह भयो उनको।
बा आर्मीमा भएको उनको कडा स्वभाव उनको स्विकार्ने पर्ने बाध्यता भयो। घरबाट निस्कन पनि नसक्ने। कतै जाँदा पनि स्वतन्त्र महसुस नगर्ने। विवाह भएपछि केही भए पनि स्वतन्त्र महसुस त गरिन् उनले तर, अर्को बन्धनमा बाँधिइन्। त्यो बन्धनमा पनि उनलाई निकै सकस भयो। अनि करिब दश वर्षपछि विवाहको बन्धनबाट पनि मुक्त भइन्।
परिवारको पहिलो 'मागी विवाह' टुटे पछि माइती पक्षबाट साथ पाउन गाह्रो भयो उनलाई। समाजले डिभोर्स भएको महिलालाई हेर्ने दृष्टि त कष्टकर छदै छ। कसैको साथ नपाए पनि उनी स्वतन्त्र चैँ हुन सकिन्। अनि फेरी पढाइमा फर्किइन्। ११/१२ कक्षा पढ्दै अङ्ग्रेजीमा स्नातकोत्तर गरिन्। स्कुलमा पढाइन्। आफ्नै रेस्टुराँ र क्याफे समेत चलाइन्।
उनै सीमाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीसँग 'सिङ्गल मदर' हुनुको चुनौती सँगै आफ्नो मातृत्व अनुभव यसरी साटिन्।
000
पढाइ र करिअर अगाडी बढाउने मेरो निकै धोको थियो। त्यही भएर 'लभ' पनि गरिन। एकदम छुच्ची स्वभावको थिएँ म। कुनै केटाले जिस्क्यायो भने पिट्न समेत पछि नपर्ने मेरो स्वभाव थियो।
तर, एसएलसीपछि सबै साथीहरूको बिहे भयो। मैले त झन् १२ कक्षा पढ्दै थिएँ। अझ काम पनि गर्थेँ। घरमा बिहेको कुरा चल्न थाल्यो। हरेक दिनजसो बिहेकै कुरा मात्र हुन्थ्यो। त्यसै बेला दाइको साथी पनि माग्न आए।
उसले,'म पढ्न नपाए पनि तिमीलाई चैँ पडाउँछु' भनेका थिए। बिहे पछि पढ्न पाउँछु भन्ने भनेर म मक्खै! बाउले नपढाएको झोकमा हुन्छ भनिहालेँ।
बिहे भयो। उमेरसँगै मेरो त हाइट पनि सानै थियो। त्यो बेला नै अलिअलि मुटुको समस्या पनि थियो। मैले म गर्भवती भएको तीन महिनासम्म पनि थाहै पाइन।
दुई पटक एकदम रक्तस्राव भएको थियो। त्यो बेला महिनावारी भएको होला भनेर सोचेँ। धेरै रगत गएको थियो।
तर, छ महिनासम्म पनि महिनावारी भएन। त्यसपछि हस्पिटल गएँ। त्यहाँ डाक्टर भोला रिजालले परीक्षण गर्दा गर्भवती भएको तीन महिना भइसकेको खुल्यो। खासमा त्यो रक्तस्राव हाम्रो शारीरिक सम्बन्ध हुँदा भएको रहेछ। त्यसबेला नै चार दिन त अत्यधिक रक्तस्राव भएकाले हस्पिटल जान परेको थियो।
डाक्टर रिजालले त्यहीबेला नै, 'पाठेघर सानो र निकै तल रहेछ। यसरी रक्तस्राव नहुनुपर्ने। तिम्रो बच्चा हुँदैन' भन्नुभएको थियो।
दोस्रो पटक सम्बन्ध हुँदा पनि त्यसरी नै अत्यधिक रक्तास्राब भयो। तर, पनि गर्भवती भएको थाहा पाउँदा म त खुसी नै भएँ। डाक्टरले बच्चा हुँदैन भनेका थिए। बच्चा हुने भयो भनेर दङ्ग पनि परे। यता घरमा चैँ 'पढ्छु भनेर जिद्दी गरेको केटीलाई अब गर्भवती भएपछि पढाउनु पर्दैन' भनेर खुसी हुनुभएको रहेछ।
तर, म आफ्नै तालमा थिएँ। बच्चा चल्न थालेपछि पो सबै खानेकुरा गन्हाउन थाल्यो। चामल त झन् पुरै मोजा जस्तै गन्हाउँथ्यो। शारीरिक रूपमा एकदम परिवर्तन भएको महसुस गरेँ। नङहरु पनि एकदम छिटो छिटो बढ्न थाल्यो। अनुहार र हातको छालामा त झन् एकदम चमक आएको थियो। म यस्तो राम्री भएको छु, मेरो छोरी भयो भने कति राम्री होला भन्ने सोचेरै दङ्ग पर्थे म त।
घरमा सबैले छोरा पाउनु पर्छ भन्नुभएको थियो। तर, मलाई छोरीको रहर लाग्यो। अनि बच्चा जन्मिने बेलामा राम्रो सोच्यो भने राम्रो जन्मिन्छ भन्ने पनि सुनेको थिएँ। त्यही भएर राम्रो-राम्रो मात्र सोच्थेँ।
आफूले आफुलाईनै असाध्यै राम्री लाग्थ्यो त्यो बेलामा। घन्टौसम्म म त ऐना हेरेर बस्थेँ। कसरी, कुन साइडमा सुत्यो भने बच्चालाई अप्ठ्यारो हुँदैन भनेर ख्याल गर्थेँ। औषधीहरू पनि समयमै खान्थेँ। भिडभाडमा हिँड्दा चैँ कसैले केही गर्ला कि भन्ने डर लागिरहन्थ्यो।
असारको पाँच गते 'डेलिभरी'को समय थियो। मलाई केही पनि भाकै थिएन। तै पनि अस्पताल गएँ। कहिलेकाहीँ ढिलो पनि हुन सक्छ भन्ने भयो। तर, २० गतेसम्म पनि मलाई व्यथा नै लागेन। त्यसबेला त बच्चा नै नचलेको हो कि! जस्तो लाग्यो। अनि हस्पिटल गइहालेँ।
त्यहाँ पुग्दा त बच्चाको धड्कन एकदम कम चलिरहेको छ भनेर अप्रेशन गरिहाल्ने कुरा आयो। म त एकदम आत्तिए।
पछि पो थाहा भयो, बच्चा पाउँदा जुन पानी फुट्छ त्यो त मेरो धेरै अगाडी नै फुटिसकेको रहेछ। तर, मैले थाहा नै पाइन। त्यै व्यथा लागेको पनि थाहा नै भएन। अनि बच्चा त आन्द्रामा बेरिन लागिसकेको रहेछ।
अप्रेसन गर्नु भन्दा अगाडी पनि व्यथा लाग्ने औषधि नदिएको होइन तर, मेरो त पसिना मात्र आइरह्यो। अनि तुरुन्तै लट्ठ्याएर अप्रेशन गर्दिहाल्नु भयो। छोरी भयो मेरो। एकदम गोरी। अनि तौल पनि राम्रो थियो। मेरो पाठेघर सानो भएर पनि उ जन्मिन नसकेको रहेछ।
त्यसको तीन वर्षपछि छोरा जन्मियो। छोराको समयमा त फेरी मलाई माटो पनि खाउँखाउँ लाग्ने। भित्ता हेर्दा पनि त्यहाँको माटो कोट्याएर खाइदिऊँ खाइदिऊँ जस्तो लागेको थियो। अहिले सम्झिँदा अचम्म लाग्छ। जे पनि बास्ना आउँथ्यो। जे पनि रुच्ने भएको थियो।
सुन्तला पनि बोक्रा सहितै खाइदिऊँ जस्तो हुने। सरफको बास्ना पनि मन पर्ने। साबुन पनि खाइदिऊँ खाइदिऊँ जस्तो लाग्ने। छोरा झन् चार किलोको जन्मियो।
छोरा पनि डाक्टरले दिएको समय भन्दा १० दिन ढिला जन्मियो। व्यथा लाग्दै लागेन। एक त अगाडि पनि अप्रेशन गरेको भएर अप्रेशन नै गर्न पर्छ भनियो। त्यही पनि नर्मल नै हुन्छ कि भनेर मलाई व्यथा लाग्ने औषधि दिएकै हो। तर, व्यथा नै लागेन। त्यस बेला गरेको अप्रेसनको पीडा सम्झ्यो भने अहिले पनि जिरिङ्ग हुन्छु।
डाक्टरले 'ड्रेसिङ' गर्न आउँदा ग्वाँ ग्वाँ रुन्थेँ। १५/१६ दिन हस्पिटल बसेँ। बोरा सिलाएको जस्तै सिलाएको रहेछ मेरो पेट त! पछि आफैले पनि ड्रेसिङ गर्न परेको थियो। पुरै बटारेर पो सिलाएको रहेछ। त्यो घाउ त कसरी बिर्सन सक्छु र!
छोरालाई प्रसूति गृहमा जन्माएको हो। त्यसबेला अप्रेशन गर्ने भनेर शरीर लट्ठ्याउने औषधि दिए पनि पेट छिर्दा मैले आत्था भनेको थिएँ।
पछि, 'अझै दुखिराछ ?' भन्ने पनि सुनेँ। मैले टाउको हल्लाएको थिएँ। त्यसपछि भने याद छैन। अप्रेशन गरेको भनेर ममीले हस्पिटलबाट सिधै घर लग्नुभयो। सानै भएर पनि होला बच्चाको स्याहार त सबै ममी र बहिनीहरूले नै गरिदिएको हो मेरो त।
स्तनपान गराउँदा पनि एकदम सकस भएको थियो मलाई। नानीले त दूध चुस्नै जानिनन्। पछि निप्पल किनेर ल्याएर टाँसेर खुवाएको। करिब एक वर्ष त उसले त्यही निप्पलबाट पो खाइन्।
दूध त राम्रोसँग आयो। तर, बच्चाले तान्दा त पोल्ने अनि पत्रपत्र निस्कने रहेछ। दूध नखुवाऊँ बच्चा भोकै हुने, खुवाऊँ आफ्नो घाउ नै घाउ हुने। तर, यति धेरै दुखाइ र पीडा भए पनि आमा भन्ने अनुभव चैँ गज्जबकै रहेछ। बच्चालाई हेर्ने बित्तिकै सबै दुखाई ठिक हुन्थ्यो।
पहिलो बच्चा पाउँदा गाह्रो भएकाले मलाई अर्को पाउने मन नै थिएन। पछि श्रीमानले, 'एउटा छोरा पाउनु पर्छ। त्यसपछि रक्सी खान छोड्छु' भन्यो। मैले पनि हुन्छ नि त भनेर पाउने निर्णय गरेँ। तर, एकचोटी लागेको लत कहाँ छुट्थ्यो र!
उसले मलाई बेलाबेला घरेलु हिंसा गर्थ्यो नै। पछि बच्चाहरूमाथि पनि हातपात गर्न थाल्यो। मैले पुलिस बोलाएर सुधार केन्द्रमै पनि राखेको थिएँ। पछि निस्केर आउँदा सुधार त देखिएको थियो। तर, घरको सबै जना मसँग रिसाए। उसलाई पनि सुधार केन्द्रमा राख्यो भनेर 'इगो हर्ट' भएछ।
व्यवहारमा कुनै फरकपन आएन। हरेक राति उ नसुतेसम्म म निदाउन सकिन। म निदाएको बेला मेरो बच्चाहरूलाई केही गर्ला कि भन्ने डर लागिरहन्थ्यो।
अति नै भएपछि सम्बन्धबिच्छेदको निर्णय गरेँ। जब मान्छेको मन पर्छ नि तब सबै मर्छ भन्थे। मैले त्यही महसुस गरेँ। त्यही भएर पनि सम्बन्धबिच्छेद गर्न मलाई धेरै सोच्न परेन। पछि नराम्रो पनि लागेन।
मैले उसलाई छोडेको भए पनि सबैले उसले मलाई छोडेको भन्छन् अहिले पनि। कसैले त बिहे गर्नुपर्छ अब पनि भन्छन्। पहिलो बिहे त्यस्तो भयो अब मैले अर्को बिहे गर्छु र! डिभोर्सपछि लामो समय माइतीमा पनि बसेँ। तर, मागी बिहे गरे पनि डिभोर्स गर्यो भनेर घरमा आमाबाबाट लाञ्छना भोग्ने पर्यो।
मैले सब सहेँ। म त झन् बलियो पो भएछु। दुवै सन्तान आफै हुर्काएँ। दुवैको स्वभाव एकदम फरक छ। नानी स्नातक पढ्दै छिन्। बाबुले पनि भर्खर १२ कक्षा पास गर्यो। नानीले त काम पनि गर्न थालेको छ। डिजे सिकेको छ उसले।
छोरीलाई झन् कडा स्वभावको बनाएको छु। केटाहरूले केही भन्यो, जिस्क्यायो भने जा त्यसलाई गाली गरेर आइज, मुख छाडेर आइज, पिटेर आइजसम्म भन्दिन्छु।
डिभोर्सपछि पढाइलाई निरन्तरता दिएँ। फेरी ११/१२ देखिनै पढ्न पर्यो। अनि अङ्ग्रेजीमा स्नातकोत्तर गरेँ। त्यसपछि हो पढाउन थालेको। पढाएर खर्च धान्न नसकेपछि लगानी गरेर क्याफे खोलेको थिएँ। त्यो पनि अहिले मन्दीको कारण बन्द छ। तर, म त्यत्तिकै हार मान्दिन। जति सक्दो सीप सिकेको छु। केही न केही गरिनैहाल्छु।
बिहे अगाडी म जस्तो कडा स्वभावको थिए, अहिले फेरी त्यस्तै भएको छु। अब मेरो छोरी र छोरालाई झन् बलियो बनाउँछु। धेरै पढाउँछु। जस्तोसुकै परिस्थितिमा मुकाबिला गर्न सक्ने सक्षम बनाउँछु।
प्रसव पीडाका यसअघिका सामग्री
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
भदौ ३१, २०८० आइतबार २०:३८:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।