गायक हरिबहादुर राउतको हिजोका कुरा : रेडियो नेपालका कर्मचारीले लोकगीत गाउनेलाई ‘थर्ड क्लास’का मान्थे
२०१८ सालमा दोलखाको चरिकोटमा जन्मिएका हुन् लोकप्रिय गायक हरिबहादुर राउत। चरिकोटको डाँडापाखामै बाल्यकाल बिताएका उनी सात दिदिबहिनी र तीन दाजुभाइमध्येका कान्छा हुन्।
घर नजिकैको कालिञ्चोक प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेका उनी थप अध्ययनका लागि भिम माध्यमिक विद्यालयमा भर्ना भए र त्यहिँबाट एलएलसी दिए।
एसएलसीपछि उच्च शिक्षाका लागि काठमाडौं आएका उनी ल क्याम्पसमा भर्ना भए। पढाइ चलिरहेकै बेला कृषि विभागमा कर्मचारी मागेको थाहा पाएपछि परीक्षा दिए। पास भए अनि सुब्बामा जागिर भइहाले।
गीत गाउँदै जागिरे जीवन बिताएका उनले अधिकृत भएपछि मात्र अवकास लिए। उनले अवकास लिएकै करिव २० वर्ष हुन लागिसक्यो।
१४ वर्षको उमेरमै गीत रेकर्ड
हरिबहादुर राउतले थाहा पाउँदा चरिकोट बजारमा पातला घर थिए। सदरमुकाम नै भए पनि त्यहाँका अधिकांश घरका छाना काठका फलेकले छाएका हुन्थे। पछि-पछि ढुङ्गा पनि छाप्न थालियो। स्कुलमा पनि काठ र ढुङ्गाले नै छाउने गरेको उनी सम्झन्छन्।
प्रधानपञ्चका कान्छा छोरा भएकाले हरिबहादुरले घरको काम खासै गर्नुपरेन। गाईवस्तु हेर्ने र खेतीपातीमा काम गर्न घरमा तीन जना राखिएकाले उनको ध्यान पढाइ र गायनमा नै हुन्थ्यो। विद्यालय तहदेखि नै गायन रुचि राख्थे उनी।
‘म स्कुल लेभलदेखि जिल्ला स्तरीय लोक गीतमा प्रथम नै हुन्थेँ,’ उनी हाँस्दै भन्छन्, ‘मेरो गायनमा गाउँभरि र स्कुलमा पनि प्रशंसा हुन्थ्योँ।’
आफू कक्षा ८ मा पढ्दै गर्दा काठमाडौं आएर रेडियो नेपालमा गीत रेकर्ड गरेको हरिबहादुर बताउँछन्। त्यो समयमा १४ वर्षका मात्र थिए।
उनी अध्ययनरत भिम माध्यमिक विद्यालयले हरिबहादुरको गायन मनपरे स्वर परीक्षण गरिदिन भन्दै रेडियो नेपाललाई चिठी लेख्यो। सोही चिठी बोकेर उनी माइला दाजुसँग स्वर परीक्षाका लागि काठमाडौं आए।
४८ वर्षअघिको कुरा सम्झँदै उनी भन्छन्, ‘त्यो बेला चरिकोट जाने–आउने गाडी थिएन। हिँडेरै आउँदा ८ घण्टा लागेको थियो। बाह्रबिसे आएपछि मात्र बस चढेर काठमाडौं आउनुपर्थ्यो।’
उनका अनुसार त्यो समयमा वडाले लेखेको चिठीमा पनि दम हुन्थ्यो। त्योभन्दा माथिल्लो निकायमा जानै पर्दैनथ्यो। त्यहिकारण उनले रेडियो नेपालमा स्वर परीक्षा दिने मौका पाएका थिए।
२०३२ सालमा स्वर परीक्षा पास गरेसँगै उनले ‘चौतारीमा दुई जना तरुनी, घरमा छैनन् म कसो गरुनी’ बोलको गीत रेकर्ड गराए, त्योबापत उनले १० रुपैयाँ पारिश्रमिक पाए।
त्यसलगत्तै अर्को गीत रेकर्ड गरे उनले ‘आधुनिकको खेती किसान गरौँ बारी खेतमा, मिलिजुली काम गरौँ प्रत्येक पञ्चायतमा’। यो गीत अहिले प्रतिबन्धित जस्तै छ। कतै पनि सुनिँदैन। २०४६ सालअघि रेडियो नेपालमा खुब बज्ने यो गीत बहुदल आएपछि भने बज्नै छाड्यो।
सोही सममा उनले अर्को गीत ‘माया त लाउने मन थियो, रापतीले छेकियो, टाढैबाट नमस्ते नक्कली कान्छीलाई’ गाए, यो गीत भने अझै पनि बेला–बेलामा बन्छ।
रेडियो नेपालमा गीत गाउँदाको सकस
नेपालमा एक मात्र रेकर्डिङ्ग स्टुडियो भएकाले त्यो समय गीत गाउने अवसर पाउन एकदमै सकस थियो। त्यसमाथि उपत्यका बाहिरबाट आएकाले त नचिताए पनि हुन्थ्यो।
उनी भन्छन्, ‘बाहिरका कलाकारलाई रेडियो नेपालमा गीत गाउन पाउने अवसर बिरलै मात्रामा पाइन्थ्यो। अझ लोकगीत गाउने भनेपछि थर्ड क्लासकै हो भन्ने दृष्टिकोणले हेर्थे त्यहाँका कर्मचारीले।’
उनका अनुसार रेडियो नेपालमा शास्त्रीय संगीत, आधुनिकलाई धेरै महत्व दिइन्थ्यो भने लोकगीतलाई तेस्रो स्थानमा राखिने गरेको थियो। जसले गर्दा लोकगीत गाउनेहरूलाई कर्मचारीले हेप्ने गरेको उनको भनाइ छ।
यद्यपि सबै कर्मचारी कहाँ त्यस्ता हुन्छन् र। केही कर्मचारी भने राम्रा रहेको उनी बताउँछन्। आफूलाई गायिका तीर्थकुमारी थापाले कति मीठो गाएको भनेर प्रशंसा गरेको अहिले पनि झलझली सम्झन्छन् हरिबहादुर।
‘मलाई तीर्थकुमारी थापा दिदीले कति राम्रो, मीठो स्वर गरेको भाइ भन्नुहुन्थ्यो’, उनले ५८ वर्षअघिको कुरा सम्झँदै भने, ‘म अरु थुप्रै कलाकारहरूसँगै त्यहाँ थिए तर मलाई दिदीले एकदमै माया गर्नुहुन्थ्यो।’
रेडियो नेपालमा एउटा गीत रेकर्डका लागि छ महिना कुनुपर्ने अवस्था रहेकोसमेत उनी सम्झन्छन्।
‘एउटा लोक गीत रेकर्ड गर्नका लागि ६ महिना कुर्नुपर्थ्यो,’ उनी सम्झन्छन्, ‘कतिपयलाई गीत रेकर्डको समयमा अलमल्याएर गीत गाउन समेत नदिएको अवस्था थियो।’
रेडियोले लोकगीतलाई प्रााथमिकतामा राखेको भएता पनि त्यहाँका केहि हैकम जमाएका कर्मचारीहरूले मन नपराएको नमीठो अनुभव हरिबहादुरसँग छ।
विगतका कुरा सम्झदै उनी भन्छन्, ‘कोही कोही त्यहाँका कर्मचारीलाई नमस्कार गर्दा पैसा तिर्नुपर्ला झैँ गर्ने पनि थिए।’
सुवास नेम्वाङले कानून पढाउँदा
हरिबहादुर ३४ सालमा एसएलसी दिएपछि ल क्याम्पसमा भर्ना भए। उनी ल क्याम्पसमा भर्ना हुँदा संविधान सभा अध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङ शिक्षक थिए। सुवासको पढाउने शैली असाध्यै राम्रो रहेको उनी बताउँछन्।
उनी भन्छन्, ‘एकदमै गम्भीर स्वभावको हुनुहुन्थ्यो। बोल्दा पनि एकदम नरम बोल्ने, एकदम शालिन। जे होस् वकिलमा हुनुपर्ने गुण भन्दा उच्च हुनुहुन्थ्यो।’
कसैले नबुझेको कुरा सोध्दा कहिल्यै नरिसाइ उत्तर दिने गरेको उनी सम्झन्छन्।
पञ्चायतकालमा न्याय पाइन्थ्यो
हरिबहादुरलाई अहिलेको व्यवस्था भन्दा पञ्चायतकालीन व्यवस्था नै ठिक लाग्छ। त्यो समयमा हत्तपत्त कसैले पनि गल्ती नगर्ने र गरेको खण्डमा गाउँमै न्याय मिल्ने गरेको उनी बताउँछन्।
अहिलेका मान्छेहरूमा त्यो हरि नभएको हरिबहादुर महसुस गर्छन्।
उनी भन्छन्, ‘बुवा प्रधानपञ्च हुनुहुन्थ्यो। कतिपय गाउँघरका झैँ झगडाहरू सकेसम्म वडामा नै मिल्थ्यो। त्यहाँ नमिलेको मात्रै बुवा कहाँ आइपुग्यो। वडाले नै दिएको दण्ड वा छलफललाई सबैले मान्थेँ। अहिले त मान्छेमा मनमा हरि छैनन्। मान्छेमा मानवता भन्ने हराउँदै गएका छन्।’
उनका अनुसार नेपालमा बहुदल आएपछि मान्छेहरूले मानवतामा बिर्सदै जान थालेका हुन्।
उनले भने, ‘त्यो समयमा कसैलाई केहि पर्यो भने यो पार्टीको त्यो पार्टीको भन्दैनथे। सबैलाई बराबर हेरिन्थ्यो। अहिले त जनता भनेपछि कोही कांग्रेसको, कोही एमालेको, कोही माओवादीको मात्रै भन्ने हुन्छ र? जनता सबैको होइनन् र? जनता पनि साझा र नेता पनि साझा हुनुपर्ने होइन र? यहाँ त जुन पार्टीको भयो उसलाई राम्रो गर्यो अर्कोलाई छैन।’
कसैलाई समस्या परेको छ भने कुन नेताको पछि दौडने हो भनेर लबिङ गर्दै हिड्नुपर्ने, पार्टीको पनि कुन खेमाको हो भन्ने अवस्था आएकोमा उनलाई कत्ति पनि राम्रो लागेको छैन।
‘पहिला कतिपय ठाउँमा ठूलाबडाले सानालाई थिचोमिचो गरे होला, कसैले त्यो थिचोमिचो सहनुपर्यो होला,’ उनी अगाडि थप्छन्, ‘समग्रमा अहिलेको जस्तो व्यवस्था थिएन।’
भदौ २८, २०८० बिहीबार १८:२२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।