ब्याच नम्बर ६९ : न्यायाधीश रणबहादुर हत्याबारे आएका गलत सूचनाले हैरान बनायो

ब्याच नम्बर ६९ : न्यायाधीश रणबहादुर हत्याबारे आएका गलत सूचनाले हैरान बनायो

अनुसन्धान भनेको एक प्रकारको तपस्या नै हो। धैर्यता र लगनशीलता नहुने हो भने अनुसन्धान सफल हुन गाह्रै हुन्छ।

यसमा पद भन्दा धैर्यता र सिपको निकै महत्त्व हुन्छ। त्यसैले त मैले यस अगाडिको अङ्कमा लेखेको थिए'अनुसन्धानको छलफलमा को जुनियर को सिनियर भन्ने हुन्न। जसले गजब आइडिया ल्यायो उसैको लागु हुन्छ। जुनियरले ल्याउने आइडियाले असम्भव भनिएका अनुसन्धान सफल पनि भएका छन्। दिमाग र्याङकले हैन अनुभवले दिने हो।'

सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्या अनुसन्धानको सफलताले यसको पुष्टि पनि गर्यो।

यो अनुसन्धान सफल हुनुमा फिल्डमा खटिने प्रहरी कर्मचारीको निकै ठुलो मिहेनत थियो। सिआइबीको मात्रै हैन सिआइबी बाहिर कार्यरत प्रहरी कर्मचारीहरूको पनि मिहिनेतले अनुसन्धान निचोडमा पुगेको थियो।

अनुसन्धान कति बलियो थियो भन्ने त अदालतको परीक्षणबाट पुष्टि भइहाल्यो। जन्मकैद नै भयो हत्याका योजनाकारलाई।

केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख म थिए। जुन कार्यालयले अनुसन्धान सफल बनायो त्यसको प्रमुख भएकाले मैले जस पाउनु, त्यो बेलामा प्रहरी महानिरीक्षकले जस पाउनु स्वाभाविकै हो। लिन्न भने पनि जस त आउँछ नै यस्तोमा।

सबैभन्दा महत्त्वपूर्ण त सङ्गठनले नै नागरिकबाट जस पाउँछ। प्रहरी सङ्गठनप्रति जनविश्वास र भरोसा बढ्छ। प्रहरीप्रति विश्वास बढ्नु भनेको राज्यकै साख बढ्नु त हो। यो हो नि गजब पक्ष।

विशिष्ट प्रकृतिको अपराधको अनुसन्धान गर्ने जनशक्ति अनि कार्यालय फरक बनाउन सक्नुको फाइदा पनि हो यो। त्यही योजना अनुसारै बढो मिहेनत गरेर सङ्गठनमा सिआइबीको स्थापना भएको थियो। सिआइबी किन भन्ने पुष्टिका लागि पनि यस्तो अपराधको अनुसन्धान सफल हुन जरुरी हुन्छ नै।

सिआइबीको कामको प्रकृति अनुसार यसले अन्य प्रहरी कार्यालय जस्तो सिधै सर्वसाधारणबाट निवेदन या उजुरी लिएर अनुसन्धान गर्दैन। प्रहरी महानिरीक्षकको सचिवालयबाट आएको जिम्मेवारी अनुसारको अनुसन्धान गर्ने हो।

अर्को भनेको आफ्नै इन्टेलिजेन्सका आधारमा गर्ने अनुसन्धान छँदैछ। यसले सङ्गठित अपराध मात्र हो र वन्यजन्तु सम्बन्धी अपराध, वित्तीय अपराध, अन्तर प्रदेश अपराध, फरार पक्राउ लगायतका कार्यक्षेत्रको पनि जिम्मेवारी छ।

म प्रमुख भएको बेलामा त सिआइबीले मानव बेचबिखनदेखि लिएर साइबर क्राइमसम्मको अनुसन्धान पनि गर्थ्यो। अहिले यी दुवै अपराध मात्र हेर्ने गरी अलग्गै ब्युरो बनिसक्यो।

जनसरोकारसँग प्रत्यक्ष जोडिने कार्यालयको जस्तो कामको चाप त हुन्न यस्तो कार्यालयमा तर प्रेसर त हुन्छ नै। रणबहादुर हत्याको अनुसन्धान गरिरहेको छु भनेर अन्य आपराधिक घटनाबारे अनुसन्धान नगर्ने कुरा हुँदैन। अन्य पनि हेर्ने अनि सँगै यसलाई पनि निरन्तरता दिने न हो।

त्यसैले सिआइबीले रणबहादुर हत्यासँगै अन्य अपराधको पनि अनुसन्धान गरिरहेकै थियो। तर रणबहादुर हत्या अनुसन्धान प्रक्रिया लिक बाहिर नजाओस् भनेर केही निश्चित प्रहरी कर्मचारीहरूलाई यसैको जिम्मेवारी तोकिएको थियो। जसले अन्य अपराधको अनुसन्धानमा बाधा पनि परेन यो अनुसन्धान पनि लिक बाहिर जान पाएन।

OOO

हत्यामा को संलग्न हुन सक्छन् भन्ने लगभग तय भइसकेको थियो बाबु थापा। लगभग हत्याको कारण पनि खुलिसकेको थियो।

तर थप सहयोगी प्रमाणको अभावमा पक्राउ गरिहाल्नसक्ने अवस्थै थिएन। कसले अपराध गरेको थाहा भइभई पक्राउ गरेर अनुसन्धान प्रक्रियामा ल्याउन नपाउँदा भने बढो सकस हुन्छ। त्यो बेला त्यस्तै थियो अवस्था।

यस्तो बेलामा धैर्यताका साथ अनुगमन गरिरहने, सञ्जाल बढाउने, सूचना सङ्कलन गर्ने अनि त्यसको विश्लेषण गर्ने काम नै महत्त्वपूर्ण हो।

टेक्निकल पक्षमा दीपेन्द्र अधिकारी लागिरहेकै थिए। तत्कालीन डिएसपी भीम दाहाल लगायतका अन्य प्रहरी कर्मचारीहरू यसमै थिए।

यो केसमा तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पनि विशेष चासो थियो। सिआइबी प्रत्यक्ष आइजिपी सचिवालयकै नियन्त्रण र निर्देशनमा चल्ने निकाय भएकाले समन्वय र छलफल सहज हुने नै भयो। अझ सङ्गठन प्रमुखले नै विशेष चासो लिएको घटनाको अनुसन्धान सहज हुने नै भयो।

बाबु थापा सिआइबीको निगरानीमा थिए। तर पक्राउ गरेर केही उपलब्धि नहुने पक्का भइसकेपछि थप प्रमाण जुटाउन टिम लागिरहेकै थियो।

घटनामा बाबु एक्लै संलग्न भएको हैन। घटनास्थलको प्रकृति अनि प्रत्यक्षदर्शीको भनाइका आधारमा  अन्य व्यक्ति पनि संलग्न थिए नै। बाबु मुख्य योजनाकार हुनसक्ने देखिएको थियो। अब त्यसमा मोटरसाइकल चलाउने अनि गोली हान्ने गरेर तीन जना भइहाले।

यस्तोमा टार्गेटको दैनिकी निगरानी गर्ने, पच्छ्याउने, घटना घटाउने स्थानको चयन गर्ने, घटनापछि हतियार व्यवस्थापन गर्ने जस्ता काम बाँडेको हुनसक्छ। यसरी हेर्दा पनि बाबुसँगै अन्य ४-५ जना हुनसक्ने सम्भावना थियो नै। तर बाबु बाहेक अन्य कसैको पहिचानै हुन सकेको थिएन।

रणबहादुर हत्याबारे सूचना नआउने पनि हैन। भिन्न-भिन्न स्रोतबाट भिन्न-भिन्न सूचनाहरू आइरहेका हुन्थे। कुनै सूचना प्रहरी महानिरीक्षकको सचिवालयमा आउँथ्यो अनि त्यसलाई सिआइबीले भेरिफाई गर्थ्यो। कुनै सूचना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई सिधै आउँथ्यो। कुनै कार्यालय प्रमुखलाई आउँथ्यो।

कुनै सूचना जेलबाट आउँथ्यो त कुनै सर्वसाधारण नागरिकबाट पनि आउँथ्यो। कुनै कुनै सूचना सिधै टेलिफोनमा पनि आउँथ्यो। प्रहरीसँग निकट हुन बेलाबखत सूचना दिनेहरूसँगै प्रहरीको आफ्नै संयन्त्रबाट पनि सूचना आउँछन् नै। यस्ता सूचना 'हो' भनेर किटान गर्न सक्ने भन्दा पनि 'हुनसक्छ','फलानाले भनेको यस्तो रे' भन्ने खालका बढी हुन्छन्।

रणबहादुर हत्याबारे पनि यस्तै सूचना आइरहेका थिए। जति सूचना आए त्यसले अनुसन्धानलाई उपलब्धिमूलक बनाउन सघाइरहेको थिएन। तै पनि 'ह्या जति गरे पनि फेलै परेन' भनेर अनुसन्धान छाड्ने कुरा पनि आउँदैन।

अपराध गर्नेको मनोबृत्तीले पनि असम्भव ठानिएका अपराधको अनुसन्धान सफल बनाउन सघाउँछ। अनुसन्धान गरिरहेको प्रहरीले अपराध अनुसन्धानमा संलग्न पत्ता लगाउन जति मिहेनत गरिरहेको हुन्छ अपराध गरेर प्रहरीबाट जोगिइरहेकोले आफ्नो पोल नखुलोस् भनेर उत्तिकै मिहेनत गरिरहेका हुन्छन्।

प्रहरीले पत्ता नलगाएसम्म यो पनि हो कि भन्ने न हो। तर जसले अपराध गरेको हुन्छ उसलाई त थाहा हुन्छ नि प्रहरीले अनुसन्धान गरिरहेको अनि कुनै पनि बेला पक्राउ पर्न सकिन्छ है भन्ने।

कतै प्रहरीले थाहा पाउँला कि भनेर उ ठुलो मानसिक त्रासमा हुन्छ। बाटोमा कुनै प्रहरीले उसलाई हेर्यो भने पनि 'लौ थाहा पायो कि क्या हो' भन्ने डर त भइहाल्छ नै।

लामो समय फरार भएर पक्राउ परेकाहरूको अनुभव सुन्दा अदालतबाट सजाय सुनाएपछि जेलमा बस्नुभन्दा पीडादायी हुन्छ पत्ता नलाग्दा। मानसिक तनावले कहिलेकाहीँ त प्रहरी कार्यालय गएर मै हो भन्नसमेत मन लाग्छ रे।

सधैँ त्रास नै त्रासमा बस्दा उसले कहीँ न कहीँ, केही न केही गल्ती गर्ने सम्भावना धेरै हुन्छ। त्यही गल्ती असम्भव अनुसन्धान सफल बनाउने बलियो आधार बन्न पनि सक्छ। तर प्रहरी ठिक समयमा उसले गर्ने गल्तीसम्म पुग्न सक्नुपर्यो।

रणबहादुर हत्या अनुसन्धानमा संलग्नहरूले यस्तै चुक त गरिरहेका थिए नै तर प्रहरी उनीहरूको त्यो गल्ती वा चुकसम्म पुग्नै सकेको थिएन।

न आएका सूचना फलदायी भइरहेको थियो न त बाबुबाट अनुसन्धान नै अगाडि बढ्न सकिरहेको थियो। तर जिम्मेवारी पाएका प्रहरी कर्मचारीहरू थाकेका थिएनन्। उनीहरू लागिरहेका थिए नै थप प्रमाणको खोजीमा।

OOO

त्यो बेलामा म बिदामा रसुवा गएको थिए। रणबहादुर बम हत्या सम्बन्धी एक सूचना आएको रहेछ प्रहरी महानिरीक्षक अर्याललाई। यस्ता सूचनाहरू धेरै आएर पनि उपलब्धिमूलक भएको थिएन।

तर यो पटक अन्य अपराधमा संलग्न रहेको आरोपमा पक्राउ परेकाबाट रणबहादुर हत्या सम्बन्धी महत्त्वपूर्ण सूचना रहेको जानकारी आएको थियो। सूचना कति सत्य हो भन्ने थाहा पाउन टिम काठमाडौँ बाहिर जानुपर्ने भयो।

बम हत्या सम्बन्धी सिरिज

प्रहरी महानिरिक्षकसँगै कार्यालयबाट समेत यसबारे जानकारी आयो। सूचना कतिको सत्य हो भन्ने एकिन थिएन। एकिन नभई एकै पटक ठुलो टिम पठाउने कुरा भएन।

ठुला आपराधिक घटनामा कहिलेकाहीँ व्यक्तिगत दुस्मनी साँध्न पनि संलग्नै नभएको व्यक्ति संलग्न हो, मैले यस्तो सुने, उसले यस्तो गरेको रहेछ भनेर हावा सूचना दिनेहरू पनि भेटिन्छन् अनुसन्धानमा। यस्ताले समय र मिहेनत दुबै बर्बाद बनाइदिन्छन्।

अब पहिल्यै गलत सूचना होला भन्न पनि गाह्रो यस्तोमा। ल गजब सूचना आयो भनेर उत्साहित हुँदा बेकारमा मिहेनत मात्र खेर जाने जोखिम पनि उस्तै।

यस्तोमा जानकार खटिँदा पुन प्रश्नहरू अनि जे जानकारी हो त्यो कत्तिको सत्य हो भन्ने खुट्याउन पनि सजिलो हुन्छ। व्यक्तिगत सम्बन्धहरू फैलाउन सक्ने प्रहरीहरू पनि यस्तोमा प्रभावकारी हुन्छन्।

धेरै सूचनाहरू काम नलाग्ने भएकाले पहिला दुई जना मात्र पठाउने रणनीति बन्यो। प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी एक सहयोगीलाई लिएर पहिला सूचनाको पुनर्पुष्टीका लागि जाने भए। यसका लागि उनी नै उपर्युक्त थिए।

कुवेरसिंह रानाको नेतृत्वमा रहेको समितिमा रहेर प्राविधिक अनुसन्धानमा उनी संलग्न थिए। बाबुको मुभमेन्टदेखि लिएर शङ्कास्पद फोन नम्बरहरुबारे उनले नै फलो गरिरहेका थिए। दीपेन्द्र एक सहयोगी लिएर काठमाडौँ बाहिर निस्किए।

उनी गएको केही दिनमै सूचना आयो'सर यो पटकको सूचना बलियो छ।'

अब चैँ अनुसन्धान सफल हुने भो भन्ने लाग्यो। तर नतिजा आइसकेको थिएन। कतै पहिलाझैँ फुस्स हुने पो हो कि भन्ने पनि लागिरह्यो। तर यस पटक आशा लाग्दो अवस्था भने बनेको थियो।

(प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआईजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)
 
 

भदौ २८, २०८० बिहीबार ००:३०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।