नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको विदुर नगरपालिका-१३ स्थित कन्यादेवी आधारभूत विद्यालयकी शिक्षिका मञ्जुकुमारी थापा(ओझा)विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्राथमिक तह तृतीय श्रेणीकी शिक्षक थापाले भारतबाट एसएलसीको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र ल्याई सरकारी विद्यालयमा पढाइरहेको भन्ने उजुरीका आधारमा अख्तियारले गरेको छानविनमा पुष्टि भएसँगै मुद्दा दायर गरेको हो।

अख्तियारको अनुसन्धानमा थापाले २०५५ मंसिर ११ गतेबाट साविकको कन्यादेवी निमाविमा प्रावि तहको अस्थायी दरबन्दीमा नियुक्ति भएको र २०७५ चैत २९ गते कन्यादेवी आधारभूत विद्यालयमा स्थायी नियुक्ति पाएको देखिन्छ।

जसका लासि विहार संस्कृत शिक्षा बोर्ड, भारतबाट मध्यमा तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

थापालाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी गर्दै सोमबार मुद्दा दायर भएको हो।

२५ भदौ, २०८०, १८:११:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।