प्रकाश सपुतको नयाँ गीत ‘जाले रुमाल फाट्यो’ पनि भ्युज बटुल्नमै जोड, एकै दिनमा युट्युबको ट्रेडिङ
काठमाडौं : गायक प्रकाश सपुतले अहिलेको दोहोरी ब्याटल, ‘जाले रुमाल फाट्यो’सम्म आइपुग्दा आफ्नो कलामार्फत समाजमा चेतना छरिरहेका छन्। उनले गाएका गीतहरूमा सामाजिक विभेदका विषय उठाइएका हुन्छन्।
सपुत कलासँगै भ्युज बटुल्न विभिन्न तरिका अपनाउन पनि निकै खपिस मानिन्छन्। आफ्नो कलामा सामाजिक र राजनीतिक कुरीतिलाई प्रमुख विषयवस्तु बनाउँछन् उनी।
सपुतका प्रायः गीतहरू समाज परिवर्तनको पक्षमा झैं देखिन्छन्। उनले यसअघि निकालेको गीत ‘दमाई राजा’मा पनि यस्तै देखिन्थ्यो।
तर त्यहाँ उनी रुढीवादमा पसेका थिए। यस पटक पनि उनले निकालेको तीज विशेष गीत भनिएको ‘जाले रुमाल फाट्यो’मा पनि कुरीति र भेदभावको कथालाई प्रस्तुत गर्न खोजेका छन्।
उनले गीतको भिडियोमार्फत न्याय पाइन्छ भन्ने कुरालाई उठाए पनि ‘जातकै कारण फूलमाया मारिन्छन्’ भन्ने बिचार राखेका छन्।
तर उनले भिडियोको अन्त्यमा एक सिन विवादमा तान्ने राखेका छन्।
गीतको कथाको सारमा फूलमाया विश्वकर्माले डाक्टर बन्न सपना बुनेकी हुन्छे। उनलाई उच्च जातको केटाले मन पराउँछ र आफ्नो कोठामा राख्छ।
केटाको बाबुले दलित परिवारको केटी किन ल्याइस् भनेर टर्चर दिन्छन्। उसलाई केटाले पनि हेला गर्छ। फूलमाया हेला भएर घर जान्छे तर ऊ गर्भवती भएकी हुन्छे।
यो कुरा आफ्नो त्यही प्रेमीलाई एसएमएसबाट भन्छे। जहाँ यस समस्याको समाधानका लागि प्रहरी, वकिल कसैले पनि पैसाको अगाडि उजुरी लिन नमानेको देखाइएको छ।
यसपछि आफ्नो साथीको आत्माको लागि डीसएसपी बनेकी मनमाया अर्थात् स्वस्तिमा खड्काले न्यायको खोजी गर्छिन्। मनमायाका प्रेमी बनेका छन् बाबुराम वली (प्रकाश सपुत)। उनीहरूबीच पनि जातियताकै कुरा उठाइएको छ।
गीतको बीचका भागहरू भने निकै मार्मिक छन्। मनमायाले फूलमायालाई न्याय दिलाएपछिको संवाद भने विवादमा परेको छ।
भिडियोको अन्त्यमा बाबुरामले मनमायाको पछाडि कपडामा महिनावारी भएको रगत लागेको छ भनेर प्याड दिन्छन्। यो निकै राम्रो सन्देश हो।
तर यसमा प्रयोग भएको शब्द अश्लील छ। मनमायाले ‘अर्काको ‘चाक’ हेर्नुपर्छ त’ भन्छिन्। यसको जवाफमा बाबुरामले ‘आफ्नै त हो नि’ भन्छन्।
उनी अन्त्यमा आएर भने प्रकाश सपुत बन्न चुकेका छन्। जुन अश्लील संवादको कुनै तुक छैन। यहाँ के सन्देश दिने भन्ने कुरामा भन्दा पनि भ्युज कसरी बटुल्ने भन्ने कुरामा जोड गरेको देखिन्छ।
हुन त उनी भ्युज बटुल्नका लागि कुनै न कुनै गीतमा केही न केही राख्न खपिस देखिन्छन्। त्यस कारण एकपछि अर्को गीतमा उनले दिमाग खूब चलाउने गरेका छन्।
प्रकाश सपुतले दुई वर्षअघि तीजमा सार्वजनिक गरेको गीत ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो यो। उनकै शब्द तथा सङ्गीत रहेको यस गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन्।
गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, नायक गौरव पहारी, विशाल पहारी र स्वयं प्रकाशको अभिनय रहेको छ।
गायक सपूतको आफ्नै युट्युब च्यानलबाट शनिबार राति सार्वजनिक भएको गीत ‘जाले रुमाल फाट्यो’ गीतले १८ लाख भन्दा बढी भ्युज कमाएको छ भने युट्युबको ट्रेडिङ १ मा छ। यो समाचार तयार पार्दासम्म कमेन्ट ६५ सय भन्दा बढि रहेको छ।
भदौ २५, २०८० सोमबार १२:३५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।