ग्यालेक्सी टीभीका प्रमुख जीबी राईविरुद्ध पक्राउ पुर्जी जारी, ७ जनाले १ अर्ब ८ करोड ठगी गरेको आरोप

ग्यालेक्सी टीभीका प्रमुख जीबी राईविरुद्ध पक्राउ पुर्जी जारी, ७ जनाले १ अर्ब ८ करोड ठगी गरेको आरोप

काठमाडौं :  पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालक समेत रहेका ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक जीबी राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

गितेन्द्र राई (जीबी) समूहको पहिलो सहकारीविरुद्ध् ९ सय ७१ बचतकर्ताहरूले आफ्नो १ अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रूपैयाँ डुबेको भन्दै उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले भाद्र २२ गते जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए।

‘बचतकर्ताहरूले जाहेरी दिएको आधारमा ७ जनाविरुद्ध हामीले मुद्दा दर्ता गरेका छौं,’ विकले भने, ‘पक्राउ पुर्जी जारी भइसकेको छ।’

जिल्ला प्रहरी कार्यालय कास्कीको स्रोतका अनुसार जीबी राईसहित उनको टोलीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।सूर्यदर्शन सहकारी जीबी समूहकै सहकारी हो।

अहिले यसको अध्यक्षमा थानबहादुर बुढा छन् भने कोषाध्यक्षमा जीबीका मुख्य सहयोगी कुमार रम्तेल छन्। जीबी ग्यालेक्सी टेलिभिजनका सञ्चालक हुन् भने रम्तेलसमेत ग्यालेक्सीमा संलग्न छन्।

प्रहरीले सहकारीका कुनै सञ्चालकलाई पक्राउ गरेको छैन। तर, उनीहरू उच्च निगरानीमा रहेको दाबी गरेको छ। सहकारीको कुल कारोबार १ अर्ब ५५ करोड रहेको देखिएको छ।

जीबी समूहका अन्य सहकारी पनि जोखिममा 

जीबी समूह अन्तर्गत पोखराको सूर्य दर्शनसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, बुटवलमा सुप्रिम सहकारी, वीरगन्जमा सानो पाइला, चितवनमा सहारा, काठमाडौंमै हाम्रो नयाँ कृषि सहकारी, नेपालगन्जमा समानता, काठमाडौंमै लालीगुराँस र ललितपुरमा कल्याण उपकार सहकारी रहेका छन्।

यी सबै सहकारीमा बचतकर्ताले रकम फिर्ता नपाएको भन्दै विवाद हुँदै आएको छ। सबै सहकारीमा बचतकर्ताको १६ अर्बभन्दा बढी बचत रकम रहेको देखिन्छ। जीबी समूह सहकारीसँगै नेटवर्किङ व्यवसायमा समेत संलग्न छ।

यो पनि

भदौ २४, २०८० आइतबार १२:४३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।