जीवी समूहको सूर्यदर्शन सहकारीविरुद्ध ४ सय ३० जनाको उजुरी, ७३ करोड ६८ लाख ठगीको आरोप

जीवी समूहको सूर्यदर्शन सहकारीविरुद्ध ४ सय ३० जनाको उजुरी, ७३ करोड ६८ लाख ठगीको आरोप

काठमाडौं : पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध प्रहरीमा ४ सय ३० जनाले जाहेरी दिएका छन्।

गीतेन्द्र राई (जीवी) समूहको पहिलो सहकारीविरुद्ध ४ सय ३० जना बचतकर्ताहरूले आफ्नो ७३ करोड ६८ लाख ९६ हजार रकम डुबेको भन्दै उजुरी दिएका हुन्।

प्रहरीले बचतकर्ताहरूलाई उजुरी दिन सार्वजनिक सूचना नै निकालेको थियो। जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता श्रवणकुमार विकका अनुसार उजुरी आउने क्रम अझै जारी छ।

‘ठूलै संख्यामा बचतकर्ताहरू आएर जाहेरी दिइरहनुभएको छ,’ विकले भने, ‘हामीले भदौ १५ गतेसम्म जाहेरी लिने भनेका छौँ।’

सूर्यदर्शन सहकारी जीवी समूहकै सहकारी हो। अहिले यसको अध्यक्षमा थानबहादुर बुढा छन् भने कोषाध्यक्षमा जीवीका मुख्य सहयोगी कुमार रम्तेल छन्। जीवी ग्यालेक्सी टेलिभिजनका सञ्चालक हुन् भने रम्तेलसमेत ग्यालेक्सीमा संलग्न छन्।

प्रहरीले सहकारीका कुनै सञ्चालकलाई पक्राउ गरेको छैन। तर, उनीहरू उच्च निगरानीमा रहेको दाबी गरेको छ। सहकारीको कुल कारोबार १ अर्ब ५५ करोड रहेको देखिएको छ।

जीवी समूहका अन्य सहकारी पनि जोखिममा
जीवी समूह पोखराको सूर्य दर्शनसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, बुटवलमा सुप्रिम सहकारी, वीरगन्जमा सानो पाइला, चितवनमा सहारा, काठमाडौंमै हाम्रो नयाँ कृषि सहकारी, नेपालगन्जमा समानता, काठमाडौंमै लालीगुराँस र ललितपुरमा कल्याण उपकार सहकारी रहेका छन्।

यी सबै सहकारीमा बचतकर्ताले रकम फिर्ता नपाएको भन्दै विवाद हुँदै आएको छ। सबै सहकारीमा बचतकर्ताको १६ अर्ब भन्दा बढी बचत रकम रहेको देखिन्छ। जीवी समूह सहकारीसँगै नेटवर्किङ व्यवसायमा समेत संलग्न छ।

भदौ ६, २०८० बुधबार १८:५६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।